बाँकेका भुपेन्द्रसहित १० जना साउदीमा अलपत्र



कविन्द्र परियार । कोहलपुर ।

रोजगारीमा साउदी अरब गएका बाँकेस्थित राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का भुपेन्द्रविकसहित १० जना नेपाली अलपत्र परेका छन् । मेनपावर कम्पनीले रोजगारीको व्यवस्था गरिदिने आश्वासनपछि उनीहरु साउदी पुगेका थिए । तर, उक्त कम्पनीले काम नलगाएपछि उनीहरु अलपत्र परेका हुन् ।

कामविहीन भएपछि अहिले भोकभोकै बस्नु परेको साउदीमा रहेका भूपेन्द्रले जनाए । ‘

हामीलाई काम लगाउने भन्दै साउदी पु¥याए,’ साउदीमा रहेका उनले मिसन टुडेसँग कुरा गर्दै भने, ‘साउदीमा पु¥याएर कामविहीन बनाइयो । काम नपाएपछि हामीहरु खानै नपाइ अलपत्र परेका छौं ।’

उनीसँगै सल्यान कालीमाटी गाउँपालिका ४ का विराज ओली, भेक्लाजुङ–८ पाँचथरका विजय अधिकारी, रक्सिरङ गाउँपालिका मकवानपुरका विवेक मुक्तान, बुद्धभूमि–८ कपिलवस्तुका कमल भुषाल, दोलखाका सूर्यबहादुर श्रेष्ठ, लम्कीचुहा–६, कैलालीका विक्रम चौधरी, बाग्लुङका हरिबहादुर कार्की, बर्दिवास महोत्तरीका आइते सिंह र हरिवन–६ सर्लाहीका साजन लामा छन् ।

उनीहरुले सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगार विभागमा उद्धार गरी पाउ भनि निवेदनसमेत दिएका छन् । उनीहरुले आफूहरुलाई कम्पनीले खान र बस्न नदिएको भन्दै उद्धारका लागि निवेदन दिइएको भुपेन्द्रले बताए ।

कम्पनीले उनीहरुलाई काममा समेत लिन नआएपछि उनीहरु केही समय एक संस्थाको शरणमा बसेका थिए । संस्थाबाट समेत निकालिएपछि उनीहरु अलपत्र अवस्थामा छन् । यता उनीहरुलाई वैदेशिक रोजगारमा पठाएको कम्पनीले उनीहरुलाई उद्धार गर्ने विषयमा छलफल भइरहेको बताएको छ ।

भूपेन्द्रलाई उनको आफन्तले साउदी पठाएका थिए । केएस इन्टरनेसनल ग्रुप प्रालि र साउदी जानेहरुबीच भएको सम्झौतामा विभिन्न प्रलोभन देखाइएको छ ।

उक्त सम्झौतापत्रमा लेखिएको छ, ‘करार अवधि दुई वर्ष, उपचार र बिमा कम्पनीद्वारा हुनेछ, दैनिक आठ घण्टा काम हुनेछ, यातायात सुविधा छ, बस्ने सुविधा छ, मासिक तलब साउदी रियल एक हजार रुपैयाँ, काम गर्ने पद लेवर ।’ तर सम्झौतामा यतिधेरै कुरा लेखिएको भए पनि उनीहरुले कुनै सुविधा पाउन सकेका छैनन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ असार ९ गते बिहीबार