व्यवसायमैत्री नीति तथा कार्यक्रमको माग



कोहलपुर : कोहलपुर उद्योग वाणिज्य संघले व्यवसायमैत्री नीति तथा कार्यक्रम ल्याउन माग गरेको छ । संघले कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यलाई ९ बुँदे माग पत्र बुझाउँदै नीति तथा कार्यक्रममा व्यवसायीहरुका विषय पनि समावेश गर्न माग गरेको हो । उक्त माग पत्र बुझाउँदै कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष लक्ष्मण राज पौडेलले ११ नगर सभामा प्रस्तुत हुने आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रमममा उद्योगी व्यवसायी र समग्र कोहलपुरको विकासको लागि एंव संघको दीर्घकालीन स्रोतका लागि नगरपालिकासँग माग गरिएको बताए ।

उनका अनुसार संघको भौतिक पूर्वाधार निर्माणको लागि सहयोगको व्यवस्था, नगर विकास समिति क्षेत्र भित्र निर्माण गरिएका र गरिने व्यवसायिक सटरहरुको निश्चित रकम लिई त्यसको उचित व्यवस्थापन र सञ्चालनको जिम्मा संघलाई दिन् व्यवस्था मिलाउन माग गरिएको छ ।

उद्योगिक मेला, महोत्सव सञ्चालनको जिम्मा संघलाई दिन, स्थानीय व्यवसायिक करबाट प्राप्त ४० प्रतिशत रकम वृद्धि विकास, तालिम तथा गोष्ठीको जिम्मा दिन र अव्यवस्थित तरिकाबाट बजारका विभिन्न फुटपाथहरुमा व्यापार व्यवसाय गरिरहेका व्यवसायीहरुलाई नगरपालिकाले उचित स्थाना छनौट गरी संघमार्फत व्यवस्थित एंव व्यवस्थापन गर्न माग गरिएको हो ।

यसैगरी ‘व्यवसाय विकास कोष’ स्थापना गरी व्यवसायीहरुलाई कोहलपुर उद्योग वाणिज्य संघको सिफारिसको आधारमा राहत र अनुदान उपलब्ध गराउने व्यवस्था मिलाउन, आर्थिक वर्ष २०७९÷०८० मा लिने व्यवसायिक करको दायरा बढाइ करको दर यथावत राख्ने र नगरपालिकाले नगर औद्योगिक क्षेत्र निर्माणका लागि क्षेत्र निर्धारण र विद्युतीय सवारी साधनको चार्जिङ प्वाइन्ट स्थापनाका लागि नवनिर्मित लामो दूरीको बसपार्कमा संघको स्थानको व्यवस्था गरिदिन माग गरेको छ । यता, नगरप्रमुख आचार्यले व्यवसायीका माग सम्बोधनका लागि आफू सकारात्मक रहेको बताएका थिए ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ असार ७ गते मंगलबार