कोहलपुर : कोहलपुर नगरपालिकाअन्तर्गत विद्यालयमा अध्ययन विद्यार्थीहरुलाई ट्राफिक सचेतनाका बारेमा अभिमुखीकरण गराइएको छ । कोहलपुर– नेपालगन्ज सडक आसपासमा रहेका विद्यालयका विद्यार्थीहरुलाई सवारी दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखीकरण गराइएको हो । ट्राफिक सचेतनामुलक विद्यालय र कलेज स्तरीय सप्ताह व्यापी कार्यक्रमको कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले उद्घाटन गरेका थिए । कोहलपुर–१४ हवल्दारपुरमा रहेको राम माध्यमिक विद्यालयमा एक औपचारिक समारोहका बीच कार्यक्रमको उद्घाटन गर्दै प्रमुख आचार्यले विद्यार्थीका लागि सडक सुरक्षित हुनुपर्नेमा जोड दिए ।

उनका अनुसार कोहलपुरमा विभिन्न समयमा सडक दुर्घटनाका कारण विद्यार्थीदे ज्यानै गुमाउने अवस्था छ । त्यस्तो अवस्था सिर्जना हुन नदिन सम्पूर्ण विद्यार्थीहरुलाई सचेत गराउनुपर्ने उनको भनाइ छ । ‘सहरीकरणले चुनौती थपिएको छ । यो यहाँको समस्या हो’, उनले भने,‘ सर्वप्रथम व्यक्ति सचेत रहन आग्रह छ । सडक वारपारको समयमा सचेतना अपनाउनुपर्छ ।’ उक्त कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले ट्राफिक नियम, जेब्रा क्रसिङ लगायतका विषयमा सबैलाई सैद्धान्तिक ज्ञान रहेको बताए । तर,सैदान्तिक ज्ञानलाई सचेतापूर्वक प्रयोगमा ल्याएमा विभिन्न खाले दुर्घटनाबाट बच्न सकिनेमा उनको जोड रहेको थियो ।
उक्त अवसरमा बोल्दै कोहलपुर– १४ का अध्यक्ष नमबहादुर आलेले विद्यार्थीहरुलाई दुर्घटनाबाट बच्न र बचाउनको लागि वडा सचेत रहेको बताए । उनका अनुसार सडक दुर्घटना न्युनिकरण गर्न सबै एकजुट हुनुपर्छ । यस्तै कोहलपुर नगरपालिकाका कार्यापालिका सदस्य तथा सामाजिक विकास समितिका संयोजक इश्वरीप्रसाद विश्वकर्मा मानवीय कमिकमजोरीका कारण दुघर्टना हुने गरेको भन्दै सचेतना सबै भन्दा महत्वपूर्ण रहेको बताए ।
उनले विद्यार्थीहरुले विद्यालय आउँदा जाँदा जेब्रा क्रसिङबारे जानकारी हुन आवश्यक ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए । यस्तै उक्त कार्यक्रम कोहलपुर –८ स्थित क्यान्भास बोर्डिङ स्कुल र शिखा एकेडेमी मा सम्पन्न भएको थियो । आयोजक संस्था समाज सेवा संस्था नेपालका केन्द्रिय अध्यक्ष विनोद थापाले सप्ताह व्यापी कार्यक्रम कोहलपुरका १० वटा विद्यालय र कलेजमा सञ्चालन गरिने जानकारी दिए । यो कार्यक्रम अन्तर्गत सडक नाटक र सचेतनामुलक कार्यक्रमको भइरहेको उनको भनाइ छ । कार्यक्रम सञ्चालनका लागि आर्थिक सहयोग कोहलपुर नगरपालिका र प्राविधिक सहयोग जिल्ला ट्राफिक प्रहरी कार्यालय कोहलपुर, बाँकेले गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्