कोहलपुरको त्रिभुवन माविमा विद्यार्थीको चाप बढेपछि भर्ना स्थगित



शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर नगरपालिकास्थित त्रिभुवन माध्यमिक विद्यालयले नयाँ विद्यार्थी भर्ना अभियान स्थगित गरेको छ । विद्यालयको क्षमताभन्दा बढी विद्यार्थी भर्ना भएपछि उक्त अभियान स्थगित भएको हो । गत वैशाख २५ गतेबाट विद्यालयले नयाँ विद्यार्थी भर्ना अभियान सुरु गरेको थियो ।

भर्ना हुने विद्यार्थीको चाप बढेपछि विद्यार्थी भर्ना गर्नै समस्या भएको छ । विद्यालयकी प्रधानाध्यापक देवका बस्नेत थापाका अनुसार बुधबारसम्मको तथ्यांकअनुसार एक महिनामा ६ सयभन्दा बढी विद्यार्थी भर्ना भएका छन् ।

‘अझै विद्यार्थी आउने क्रम रोकिएको छैन,’ उनी भन्छिन्, ‘हामीले सोचेभन्दा पनि बढी विद्यार्थी भर्नाका लागि आए । अहिलेको हाम्रो क्षमताले धान्नै सक्दैन । फिर्ता गराउने कसरी ? विद्यार्थी भर्ना गर्न निकै मुस्किल परेको छ ।’ गत शैक्षिकसत्रमा उक्त विद्यालयमा तीन हजार दुई सय विद्यार्थी थिए । विद्यालयको भौतिक संरचना, सुविधा, शिक्षक दरबन्दीलगायतका समस्याका कारण धेरै विद्यार्थी आउँदा विद्यालय थेग्नै नसक्ने अवस्था रहेको उनको भनाइ छ ।

एक हजारको हाराहारीमा नयाँ भर्ना हुने अवस्था आएपछि भर्ना अभियान नै टुंग्याउनुपर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ । कोहलपुर नगरपालिकाको एक नमुना सरकारी विद्यालयको रुपमा रहेको त्रिभुवन माध्यमिक विद्यालयमा थेगी नसक्नु विद्यार्थीको चाप घटाउन अब नयाँ विद्यार्थी भर्ना नलिने निर्णय भएको विद्यालयले जनाएको छ ।

प्रधानाध्यापक थापाले बुधबारबाट नयाँ भर्ना अभियानलाई निरन्तरता नदिइने बताइन् । उक्त विद्यालयमा विद्यार्थी भर्ना गर्न प्रत्यक्ष र अप्रत्यक्षरुपमा दबाबसमेत आउने गरेको बताइएको छ । नाम नबताउने सर्तमा एक शिक्षक भन्छन्, ‘सर, अवस्था यस्तो छ, आफ्ना विद्यार्थी भर्ना गराउन तारन्तार फोन आउँछ । दलका नेता फोन गर्छन् । कर्मचारीको फोन आउँछ । प्रअज्यूलाई थेग्नै समस्या भएको छ ।’

थोरै विद्यार्थी भर्ना गर्ने र गुणस्तरीय शिक्षालाई जोड दिने विद्यालयले जनाएको छ । उक्त विद्यालयमा हाल विद्यार्थीलाई राख्ने कक्षा कोठादेखि, नयाँ भौतिक संरचनासँगै शिक्षकहरुको समेत संख्या अपुग छ । अहिले अध्ययन गरिरहेका विद्यार्थीहरुलाई सुरक्षित खानेपानी खुल्ला मैदानदेखि शौचालयको सही व्यवस्थापन प्रमुख चुनौती रहेको विद्यालयले जनाएको छ ।

त्रिभुवनमाथिमा हाल ६ वटा पक्की र जस्तापाताले छुवाइएका संरचना छन् । ती संरचनामा विद्यार्थीहरुलाई सहजरुपमा अध्यापन गर्न असहज भएको प्रअ थापाले बताइन् । ‘हामी कहाँ धेरै विद्यार्थी छन् । हामीले गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं । विद्यार्थी त्रिभुवन मावि रोजिरहेका छन्, बिडम्बना हामी सक्दैनौं भन्ने अवस्थामा छौं,’ प्रअ थापाको भनाइ छ ।

बुधबार मात्रै कक्षा १२ का विद्यार्थीले वार्षिक परीक्षा सकाएका छन् । मावि तहका तीन मुख्य विषयका गरी ६ सय ३७ जना विद्यार्थी सहभागी थिए । फेरि नयाँ ६ जनाले भर्ना गरेका छन् । विद्यालयमा आउनेहरुको भर्ना गरिएको तर, प्रवेश परीक्षा दिएर मात्र विद्यार्थी छनोट गरिने भएको छ ।

कक्षा ६ देखि ९ सम्म नयाँ विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा गरिएको, एक सयजना उत्र्तीण भएको र साना कक्षामा भने मौखिक परीक्षा गरेर राम्रा विद्यार्थी पास भएको पनि बताए । उक्त विद्यालयमा नेपाली र अंग्रेजी माध्यमबाट पढाइ हुन्छ । कक्षा ११ र १२ मा विज्ञान, शिक्षा र लेखा शास्त्र संकाय अध्यापन भइरहेको छ । ती कक्षामा एउटै कक्षमा दुई सयभन्दा बढी विद्यार्थी हुन्छन् ।

समूह विभाजन गर्दासमेत एउटै कक्षामा ८० देखि ९० जनासम्म राख्नुपर्ने बाध्यता रहेको उनले बताइन् । आफूहरुले एउटा कक्षामा बढीमा ६० जना विद्यार्थी राख्न खोज्दा पनि बढी विद्यार्थी भएका कारण सम्भव नै नभएको थापा बताउँछिन् । उक्त विद्यालयले विशेष शिक्षाअन्तर्गत दृष्टिविहीन शिक्षा र निःशुल्क आइटी कक्षा सञ्चालन गर्दै आएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २७ गते शुक्रबार