बाँके ।
वन्यजन्तुको आक्रमण बढेको भन्दै आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले गोली चलाउँदा बर्दियामा एकजनाको मृत्यु भएको छ । हुलाकी राजमार्गमा पर्ने मधुवन नगरपालिकाको ओराली बजारमा सोमबार स्थानीयहरुले सुरक्षा माग्दै आन्दोलनमा उत्रिएका थिए । साँझपख आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले आन्दोलकारीमाथि अश्रुग्याँस प्रहार गरेको थियो ।
अश्रुग्याँसले स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले चलाएको गोली लागेर एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मधुवन नगरपालिका वडा नम्बर–२ की १८ वर्षीया नवीना थारु रहेकी छिन् । टाउकोमा गोली लागेर गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल गुलरिया ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।
सोमबार बिहानमात्र चितुवाको आक्रमणबाट मधुवन–२ छोट्की सोनाहा गाउँकी एक महिला गम्भीर घाइते भएकी थिइन् । त्यसपछि खाता जैविक मार्गलगायत आसपासका क्षेत्रमा वन्यजन्तुको आक्रमण बढेको भन्दै सुरक्षा माग गर्दै स्थानीयहरु सडक आन्दोलनमा उत्रिएका थिए । दिनभरि हुलाकी राजमार्ग अवरुद्ध पारेका स्थानीयहरुलाई साँझपख भने प्रहरीले बल प्रयोग गरेर राजमार्ग खुलाउन खोजेको थियो । सोही क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो ।
स्थानीय कृष्ण परियारले प्रदर्शनकारीलाई हटाएर सडक खुलाउने क्रममा प्रहरीले गोली चलाएको जानकारी दिए । ‘सडक खुलाउने क्रममा दुवै पक्षबीच झडप भएपछि नियन्त्रणको लागि प्रहरीले अश्रुग्याँस र गोली प्रहार गरेको थियो,’ उनले भने, ‘सोही क्रममा गोली लागेर एकजनाको मृत्यु भएको हो ।’
झडपमा परेर ११ जना नेपाल प्रहरी र सातजना सशस्त्र प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिएको खाता सामुदायिक वन समन्वय समितिका अध्यक्ष हरि गुरुङले जानकारी दिए ।
‘वन्यजन्तुको आक्रमण नरोकिएपछि स्थानीय समुदायहरु सडक आन्दोलनमा उत्रिन बाध्य भएका हुन्,’ उनले भने, ‘खाता क्षेत्रका चितुवा स्थानान्तरण गरिनु पर्ने, वनमा तारजाली गर्नुपर्ने र समुदायको सुरक्षा हुनुपर्ने स्थानीयको माग छ ।’ केही दिनअघि मात्र सोही क्षेत्रमा नै पाटेचितुवाको आक्रमणमा परी मधुवन नगरपालिका–२ की कौसिला पालको मृत्यु भएको थियो ।









प्रतिक्रिया दिनुहोस्