नेपालगन्जमा सडक विस्तार गर्दाको एउटा गल्तीः …जसले थुन्छ नाला



नेपालगन्ज ।

नेपालगन्ज उपमहानगरपालिका–२ जमुनाह–सुर्खेत राजमार्ग (सुर्खेत रोड) कर्णाली विकास बैंकको सामुन्ने सडकमा बेलाबेला भ्वाङ परिरहन्छ । केही समयअघि भ्वाङ परेको लामो समयपछि सडक डिभिजनले टालटुल पार्नेगरी कालोपत्रे ग¥यो । कालोपत्रे गरिएको केही महिनामै फेरि सोही ठाउँमा भ्वाङ पर्न थालिसकेको छ । उक्त भ्वाङ सुधार गरिएन भने दुईपाङ्ग्रे सवारी साधन दुर्घटनाको जोखिम उच्च छ ।

त्योभन्दा ठूलो समस्या अर्काे छ । उक्त ठाउँमा सडकमुनिबाट नेपालगन्जको वडा नम्बर २, ४, ५, १८ र २० का अधिकांश भागको ढल बग्ने नालीको निकास छ । ‘निकास पनि के भन्नु नाम मात्रको निकास छ,’ नेपालगन्ज वडा नम्बर २ का वडाध्यक्ष मनोज श्रेष्ठ भन्छन् । सुर्खेत रोड विस्तार हुनुअघि उक्त ठाउँमा एउटा कल्भर्ट थियो ।

सडक विस्तारका क्रममा उक्त कल्भर्ट भत्काएर नयाँ कल्भर्ट निर्माण गर्नुपर्नेमा त्यसो नगरी पुरानो कल्भर्टको संरचनालाई जस्ताको तस्तै राखेर त्यसैमाथि ढलान गरियो । दायाँबायाँ विस्तार भएको क्षेत्रमा भने नयाँ कल्भर्ट बनाइयो । ढलान गर्दा माथिबाट माटो र मसला खसेर नालीको निकास झन् साँघुरो भयो ।

पहिलेको कल्भर्ट अहिलेको नाली प्रणालीको निकास हुनेगरी बनेकै थिएन । कल्भर्टमुनिको सतह पनि नयाँ बनेको बागेश्वरी छेउ हुँदै बग्ने नालाको सतहभन्दा अग्लो छ । त्यसैमाथि पुरानै कल्भर्टलाई यथावत राखेर माथिबाट ढलान गरिँदा अहिले उक्त कल्भर्ट नेपालगन्जको सुर्खेतरोडभन्दा पूर्वको भूभागको पानी बोकेर बागेश्वरी छेउ हुँदै बग्ने नालाको निकासको बाधक बनेको छ ।

त्यसैमाथि नेपालगन्जवासीहरुले फालेका प्लास्टिकजन्य फोहोरहरु त्यसै ठाउँमा थुनिएपछि वर्षात्मा नेपालगन्जको वडा वडा नम्बर २, ४, ५, १८ र २० का विभिन्न भूभाग डुबानमा पर्छन् । वडा नम्बर २ सबैभन्दा बढी प्रभावित हुन्छ । अहिले पनि उक्त कल्भर्टभन्दा पूर्वपट्टि पानी जमेको छ । उत्तरपट्टि अलिअलि मात्रै निकास भइरहेको छ ।

नेपालगन्ज वडा नम्बर २ का स्थानीय गोपाल गिरी उक्त कल्भर्टमा निकास थुनिँदा नेपालगन्जका करिब एक लाख मानिसहरु प्रभावित हुने गरेका दाबी गर्छन् । ‘न्यूरोडका त अधिकांश घरभित्रै पानी पस्छ । यो ठाउँलाई सुधारेर निकास नखुलाएसम्म हामी डुबानबाट मुक्ति पाउँदैनौं,’ उनले भने । उनले पुरानो कल्भर्ट माथि नै ढलान गरिरहेको समयमा आफूले त्यसलाई भत्काएर नयाँ कल्भर्ट बनाउन लिखितरुपमा अनुरोध गरे पनि सुनुवाइ नभएको बताए ।

‘हाम्रो स्टीमेटमै पुराना कल्भर्ट नभत्काउने भन्ने छ भनेर भने । हामी यसैमाथि बनाउँछु भने । मेरो केही लागेन,’ उनले भने । त्यतिबेला सार्वजनिकरुपमा पनि उक्त ठाउँमा पूरै नयाँ कल्भर्ट बनाउनुपर्ने आवाज उठेको थियो । तर सुनुवाइ नगरिँदा अहिले त्यसकै कारण एडिबीको सहयोगमा निर्माण भएको नेपालगन्जको मुख्य बस्तीक्षेत्रको ढल निकास सञ्जाल प्रभावहिन बनेको छ ।

उक्त सडक अहिले डिभिजन सडक कार्यालय नेपालगन्जको जिम्मामा छ । कार्यालयका प्रमुख होमबहादुर एसी त्यतिबेला स्टीमेटमै पुरानो कल्भर्ट नभत्काउने भनेर लेखिएको हुनसक्ने बताउँछन् । ‘उक्त सडक र कल्भर्टहरु एडिबीकै परियोजनाबाट स्तरोन्नति भएको हो । त्यतिबेला स्टीमेटमै पुरानो कल्भर्ट नभत्काउने लेखिएको हुनुपर्छ,’ उनले भने । नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रकाश डिसी पनि उक्त ठाउँमा निकास थुनिँदा डुबानको समस्या रोक्न कठिन भइरहेको बताउँछन् ।

‘अहिले नाला सफाइको काम चलिरहेको छ । तर उक्त ठाउँको निकास सुधारिएन भने नाला सफाइले पनि डुबान रोक्न सकिएला भन्ने लाग्दैन,’ डिसीले भने । उनका अनुसार यसअघि निवर्तमान मेयर डा. धवलशमशेर राणालाई पनि उक्त विषयमा आफूहरुले जानकारी गराएको बताए । ‘हामीले उहाँहरु आउने बित्तिकै यस विषयमा जानकारी गराएका हौं । तर के कारण सुधार भएन थाहा भएन ?,’ उनले भने । मेयर प्रशान्त बिष्टलाई पनि यस विषयमा जानकारी गराइसकेको उनको भनाइ छ ।

वडा नम्बर २ का वडाध्यक्ष श्रेष्ठले पनि उक्त ठाउँको निकास खोल्न सडक डिभिजनसँग समन्वय गर्नुपर्ने भएको मेयरकै स्तरबाट सम्भव हुने बताए । आफूले मेयर बिष्टलाई यस विषयमा आग्रह गरिसकेको उनको भनाइ छ । मेयर बिष्टले पनि उक्त विषयमा आफूले पहल सुरु गर्ने बताएका छन् । उनले सडक डिभिजनका इञ्जिनियरलाई नै बोलाएर उक्त समस्या देखाएको र अब वर्षाअघि नै कसरी हुन्छ निकास खोल्ने विषययमा आफूले पहल गर्ने उनले बताए । वर्षा अघि नै यो काम सम्भव होला त ?

भन्ने प्रश्नमा उनले भने, ‘सम्भव छ । हामी प्रयासरत छौं ।’ यता सडक डिभिजन प्रमुख एसी उक्त स्थानको सबै विषय अध्ययन गरिसकेपछि मात्रै के गर्न सकिन्छ भन्ने टुंगो लाग्ने बताउँछन् । अहिले काठामाडौं रहेका एसीले भने, ‘त्यो मुख्य सडकको कुरा भयो । धेरै कुरा सोचेर काम गर्नुपर्ने हुन्छ । यद्यपि समस्या छ भने सुधारको लागि हामी पहल गर्छाैं ।’

नालाबाट निकालिँदै प्लास्टिक

नेपालगन्ज नगर प्रमुख प्रशान्त बिष्टले नगर प्रमुखको कार्यभार सम्हालेकै दिन नगरभित्रका सम्पूर्ण नाला तथा ढलहरुको सरसफाइ कार्यलाई तत्कालै कार्यान्वयन गर्ने भन्ने निर्णयमा हस्ताक्षर गरेका थिए । तर नाला सफाइको काम सुरु नभएको विषयमा मिसन टुडेले जेठ १४ गते समाचार प्रशासन गरेको थियो ।

त्यसको केही दिनमै नेपालगन्जमा नाला सफाइको काम सुरु भयो । मेयर बिष्ट आफैँ फिल्टमा खटिएर नाला सफाइको निर्देशन–निरीक्षण गरे । अहिले धमाधम नाला सफाइको काम चलिरहेको छ । तर अहिले उपमहानगरले ठूला र मझौला नाला मात्रै सफा गरिने जनाएको छ ।

उपमहानगरपालिकाका वातावरण इञ्जिनियर प्रकाश डिसीले अहिले उपमहानगरपालिकाले ठूला र मझौला नाला मात्रै सफा गर्न लागेको बताए । क्रमिकरुपमा साना नाला पनि आवश्यकता आधारमा नगरस्तरबाट सफा हुने भए पनि साना नालाहरु सफाइको जिम्मा सम्बन्धित वडाको भएको उनको भनाइ छ । तर अझै वडाहरुले नाला सफाइ सुरु गरेका छैनन् ।

ठूला र मझौला नाला मात्रै सफा गरेर साना नाला सफा नगर्ने हो भने साना नालाको प्लास्टिकजन्य फोहोर पुनः ठूला नालामा जाने र समस्या जस्ताको तस्तै रहने देखिन्छ । अहिले सफा गरिएको केही ठाउँको फोहोर पनि नालाको किनारामै थन्काइको पाइएको छ । जुन फोहोर वर्षामा पुनः नालामै गई समस्या ज्युँका त्युँ रहने स्थानीयहरु बताउँछन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ २० गते शुक्रबार