यात्रु सेवा शुल्क दोब्बरअर्थात दुई सयबाट चार सय वृद्धि हुँदासमेत टर्मिनल भवनभित्र शुद्धपानी पिउन पाइँदैन । प्रचण्डगर्मीको समयमा राम्रोसँग एसी चल्दैन ।
पंखा सुस्त हुँदा शीतलताको महसुस नै गर्न सकिँदैन । चाप हुँदा नेपालगन्ज विमानस्थलमा दैनिक करिब चार लाख रुपैयाँसम्म यात्रु सेवा शुल्क उठ्ने गरेको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जबाट काठमाडौं जान डिर्पाचर कक्षमा बसिरहेका लक्ष्मी गुरुङ र नानुमाया श्रेष्ठ टोपी र बोर्डिङ पास हम्किएर बसिरहेका थिए । उनीहरुको निधारमा पसिना आउन रोकिएको थिएन । ‘यो एयरपोर्ट हो कि बसपार्क छुट्याउनै गाह्रो भयो । एसी त झुण्ड्याइएका छन् । तर खै त चिसो बनाएको ?’ लक्ष्मीले भनिन् ।
सुर्खेतका ओमप्रकाश रेग्मी केही महिनाकी छोरी र श्रीमतिका साथ डिपार्चर कक्षमै थिए । उनीहरु बसेको ठाउँको ठिक माथि एसी झुण्ड्याइएको थियो । तर गर्मीले हप्प भएको थियो । ‘नानी बिरामी भएर उपचार गर्न काठमाडौं जान लागेको । एकातिर प्लेन समयमा आइदिँदैन । अर्काेतिर हेर्नुस् न यहाँ त एसीले पनि काम गरिरहेको छैन,’ उनले दुःखेसो पोखे ।
ज्येष्ठ नागरिक लालबहादुर शाही आफ्नी जीवनसंगीनीको आँखाको उपचारका लागि काठमाडौं लैजानका लागि डिपार्चर कक्षमा बसेका थिए । बिहान १० बजे उडान हुने भनिएको उनको जहाज दिउँसो साढे १२ बजिसक्दा पनि आएको थिएन । असिनपसिन भएर बसिरहेका शाहीले जताततै अव्यवस्था रहेको भन्दै रोष प्रकट गरे ।
नेपालगन्ज विमानस्थलको डिपार्चर कक्ष जहाँ यात्रुहरुलाई वातानुकुलित सेवा दिने व्यवस्था छ । एसीहरु जडान गरिएका छन् । पंखाहरु पनि छन् । तर ती सबै साधनहरु दुरुस्त छैनन् । सातवटा एसीमध्ये तीनवटा बन्द अवस्थामा देखिन्थे ।
चलिरहेका एसीहरुले पनि राम्ररी काम गरिरहेका थिएनन् । उखरमाउलो गर्मीमा यात्रुहरुले बाध्य भएर कुनुपर्ने कक्षमै पर्याप्त सुविधा नभएको भन्दै यात्रुहरु गुनासो गर्न अघि सरे ।
विमानस्थलको डिपार्चर कक्षमै रहेका एसी र पंखाहरुको अवस्था त दयनीय छ भने टर्मिनलमा त झनै समस्या छ । गुण एयरका एक कर्मचारीले पनि पंखा सुस्त चल्दा गर्मीले आक्रान्त हुनु परेको बताइन् । यसबारेमा एयरपोर्ट प्रशासनलाई जानकारी गराउने तयारीमा रहेको पनि उनले बताइन् ।
पंखा र एसी मात्रै होइन टर्मिनलमा खानेपानीको पनि उपयुक्त व्यवस्था नभएको यात्रुहरुले गुनासो गरे । पानी शुद्धिकरण गर्न जडान गरिएको मेसिन पनि सञ्चालनमा नरहेको पाइएको छ ।
अर्काेतिर टर्मिनल साँघुरो हुँदा यात्रुहरुलाई बस्ने ठाउँको समेत अभाव हुने गरेको एयरलाइन्सका कर्मचारीहरुले बताए । त्यसैमाथि मंगलबार काठामाडौं र पोखरा विमानस्थलमा हवाई दुर्घटनाको उद्धारका कारण उडान प्रभावित भएकोले धेरैजसो उडानहरु पछि धकेलिएका थिए । उडान धकेलिँदा कुरेर बसेका यात्रुहरुले त्यसैमाथि गर्मी सहन बाध्य पारिएको गुनासो गरे ।
नेपालगन्ज विमानस्थल प्रमुख सुभाष झा विद्युत्को लो भोल्टेजका कारण एसी र पंखाहरु राम्ररी नचलिरहेको बताउँछन् । ‘हामीले आफैँ पनि समयसमयमा साधनहरु मर्मत सम्भार गरिरहेका हुन्छौं । गुनासो आयो भने तत्काल सम्बोधन पनि गर्छाैं । यो गुनासोलाई पनि हामी तत्काल समाधान गर्ने प्रयास गर्छौं । तर लो भोल्टेजका कारण एसीहरु राम्ररी चलिरहेका छैनन् ।
हामी यसको समाधान गर्न विद्युत्लाई दबाब दिइरहेका छौं,’ उनले भने । विशेषगरी लो भोल्टेजको प्रभाव एसीमा देखिएको उनको भनाइ छ । तर पानीको लागि जारको व्यवस्था गरेको उनले बताए । पानी शुद्धिकरण गर्ने मेसिन पनि चालु हालतमै रहेको उनको दाबी छ । तर हामी पुग्दा उक्त मेसिन चलिरहेको थिएन ।
दोब्बर बढाइयो विमानस्थल शुल्क
नेपालगन्ज विमानस्थलले वैशाख १५ गतेबाट यात्रु सेवा शुल्क दोब्बर बनाएको छ । हरेक यात्रुबाट विमानस्थल प्रयोग गरेवापत लिइने उक्त शुल्क पहिले प्रतियात्रु दुई सय रुपैयाँ थियो भने अहिले चार सय रुपैयाँ लिने गरिएको छ ।
शुल्क लिइए पनि विमानस्थलमा आवश्यक सुविधा नदिइएको भन्दै यात्रुहरुले गुनासो गरे । नेपालगन्ज विमानस्थलबाट प्रतिदिन करिब १२ देखि १५ सयजना बाहिरिने गरेका विमानस्थल सुरुक्षा स्रोतको भनाइ छ । कम्तिमा एक हजारजना बाहिरिए पनि एकजनाको चार सयका दरले चार लाख हुन आउँछ ।
प्रतिदिन चार लाख विमानस्थल शुल्क यात्रुहरुबाट असुल गर्ने विमानस्थलको टर्मिनलमा अत्यावश्यक सेवाहरु चुस्त हुनुपर्ने यात्रुहरुको भनाइ छ । नेपालगन्जजस्तो चर्काे गर्मी हुने ठाउँको विमानस्थलमा पनि पंखा र एसीहरु पनि दुरुस्त नहुनु दुःखद् भएको उनीहरुले बताए ।
यसका साथै विमानस्थलको समयानुकुल स्तरोन्नति यथाशीघ्र गर्न उनीहरुले माग गरेका छन् । संघ सरकारको आगामी आर्थिक वर्षको बजेटमा टर्मिनल भवनको स्तरोन्नति गर्ने उल्लेख छ ।
‘तत्काल समाधान गर्ने प्रयास गर्छुं’
शुभाष झा
प्रमुख, नेपालगन्ज विमानस्थल
हामीले आफैँ पनि समयसमयमा साधनहरु मर्मत सम्भार गरिरहेका हुन्छौं । गुनासो आयो भने तत्काल सम्बोधन पनि गर्छाैं । यो गुनासोलाई पनि हामी तत्काल समाधान गर्ने प्रयास गर्छौं । तर लो भोल्टेजका कारण एसीहरु राम्ररी चलिरहेका छैनन् ।
हामी यसको समाधान गर्न विद्युत्लाई दबाब दिइरहेका छौं । विशेषगरी लो भोल्टेजको प्रभाव एसीमा देखिएको छ । तर पानीको लागि जारको व्यवस्था गरेका छौं । पानी शुद्धिकरण गर्ने मेसिन पनि नचल्ने होइन । चालू हालतमै छ ।
त्यसलाई नचलइएको मात्रै हुनसक्छ । म यस किसिमका गुनासोहरुलाई एकदमै सकारात्मकरुपमा लिन्छुँ र सुधारको प्रयास पनि गर्छुँ । के समस्या रहेछ म बुझेर सकेसम्म समाधान गर्ने प्रयास गर्छुँ ।









प्रतिक्रिया दिनुहोस्