दाङ ।
लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१७ चौघेरास्थित सुवास जिसीको घरबाट ६ ग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
घोराही–१४ का २४ वर्षीय पुजनराज कँवर र घोराही–१५ का २२ वर्षीय विष्णु बुढा मगरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुरेश काफ्लेले जनाए ।
जिसीको घरबाट अवैधरुपमा ब्राउनसुगरको ओसारप्रसार तथा बिक्रीवितरण गरी रहेका छन् भन्ने गोप्य सूचनाका आधारमा खटिएको प्रहरी टोलीले दुवैजनालाई पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको एसपी काफ्लेले जनाए ।
लागूऔषध नियन्त्रण ऐन २०३३ को परिच्छेद–३ को दफा १४ को खण्ड (छ) को २ मा भएको व्यवस्था बमोजिम २५ ग्रामदेखि १०० ग्रामसम्मको परिमाण भए १० वर्षदेखि १५ वर्षसम्म कैद र ७५ हजारदेखि दुई लाखसम्म जरिवाना हुने कानुनी व्यवस्था रहेको एसपी काफ्लेले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्