बर्दिया ।
राजापुर नगरपालिकाको कार्यालय आइतबार पनि सञ्चालन हुने भएको छ । मंगलबार बसेको कार्यपालिका बैठकले विकास निर्माण, योजना, आर्थिक वर्ष २०७९/०८० को बजेटलगायत सेवाग्राहीलाई सुविधा दिन आइतबार पनि कार्यालय खुला राख्ने निर्णय गरेको हो ।
नयाँ आर्थिक वर्ष सुरु हुन करिब डेढ महिना बाँकी रहेकोले कामलाई तिव्रता दिन आइतबार पनि कार्यालय सञ्चालन गर्न लागेको राजापुरका नगर प्रमुख दिपेश चौधरीले जानकारी दिए । संघीय सरकारले जेठ १ गतेबाट सातामा दुई दिन कार्यालय बन्द रहने निर्णय गरेको थियो ।
राजापुर नगरपालिकाले भने कार्यालय साविक समयअनुसार सञ्चालन गर्न लागेको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीले बताए ।
‘नगरभित्रका सबै कार्यालयहरु साविककै समयअनुसार सञ्चालनमा हुन्छन्,’ उनले भने, ‘सोहीअनुसार नै हामीले मातहतका कार्यालयलाई परिपत्र गरिसकेका छौं ।’
यो निर्णयसँगै नगरका कामले गति लिने अपेक्षा गरिएको छ । हप्तामा दुई दिन बिदा हुँदा पूर्व योजनाअनुसार काम गर्न नसकिने भन्दै कार्यपालिका बैठकले यस्तो निर्णय गरेको छ ।









प्रतिक्रिया दिनुहोस्