बजेटमा बाँकेः पुरानै योजनालाई निरन्तरता



कृष्ण ओली । बाँके ।

सरकारले आइतबार आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट प्रस्तुत ग¥यो । उक्त बजेटमा बाँकेका नयाँ योजना समेटिने अपेक्षा गरिएको थियो तर, सरकारले प्रस्तुत गरेको बजेटमा बाँके उपेक्षामा परेको देखिन्छ ।

आइतबार संसद्मा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा पुरानै योजनालाई मात्र निरन्तरता दिइएको हो । संसद्मा प्रस्तुत भएको बजेटमा आगामी आर्थिक वर्षका लागि बाँकेका केही पुराना योजनाका लागि मात्रै बजेट सुनिश्चित गरिएको छ ।

राष्ट्रिय गौरवको आयोजना सिक्टा सिँचाइ आयोजनाको लागि मात्रै बजेट छुट्याइएको छ भने अन्य योजनाका लागि सुनिश्चित गरिएको बताइएको छ । सिक्टा सिँचाइको पश्चिम र पूर्वी नहरको लागि एक अर्ब ८८ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले बताए । सञ्चित कृषि क्षेत्र विस्तारका लागि सिक्टा सिँचाइको लागि बजेट विनियोजन गरिएको उनले बताए । उक्त रकम आयोजनाको पश्चिम र पूर्वी नहर निर्माण, मर्मत र सञ्चालन निरन्तरताको लागि खर्च गरिनेछ ।

सिक्टाको पश्चिम मूल नहर मर्मत तथा सञ्चालनको निरन्तरता र पूर्वी मूल नहरको २६ किलोमिटर निर्माण तथा त्यसका शाखाहरुको निर्माणको लागि बजेट छुट्याइएको अर्थमन्त्री शर्माले बताए । नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ । के कति रकम छुट्याइएको हो भन्ने आगामी आर्थिक वर्षको प्रस्तुत बजेजमा उल्लेख छैन ।

बजेटमा बाँके

  • सिक्टा सिँचाइ आयोजना– एक अर्ब ८८ करोड ।
  • नौवस्ता औद्योगिक क्षेत्रको पूर्वाधार निर्माणका लागि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरिएको छ ।
  • नेपालगन्ज एकीकृत जाँच चौकीको आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने छ ।
  •  नेपालगन्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साँढे र राँगा ल्याएर सिमेन
    उत्पादन गरिने छ ।
  •  खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सञ्चालन र पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ ।
  • कोहलपुरमा निर्माण गर्ने भनिएको महिला क्रिकेट एकेडेमीका लागि बजेट सुनिश्चित गरिएको छ ।
  • कोहलपुरमा डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण गरिने छ ।

नेपालगन्ज भन्सारमा निर्माणाधीन एकीकृत जाँच चौकीको आगामी आर्थिक वर्षमा निर्माण सम्पन्न गरिने अर्थमन्त्री शर्माले बताए । बजेटमा नेपालगन्जमा रहेको सिमेन उत्पादन केन्द्रमा थप प्रविधि जडान गरी उन्नत नश्लका साँढे र राँगा ल्याएर सिमेन उत्पादन गरिने उल्लेख गरिएको छ ।

खजुरामा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको सञ्चालन र पूर्वाधार विकासका लागि बजेट विनियोजन गरिएको छ । यहाँ पनि कति रकम छुट्याइएको छ त्यो उल्लेख गरिएको छैन । खेलकुदतर्फ कोहलपुरमा निर्माण गर्ने भनिएको महिला क्रिकेट एकेडेमीका लागि बजेट सुनिश्चित गरिएको बताइएको छ । कति रकम सुनिश्चित गरिएको हो भन्नेबारे केही खुलाइएको छैन ।

महिला क्रिकेट एकेडेमीको युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले सात महिनाअघि नै शिलान्यास गरिसकेका छन् । शिलान्यास भएपछि बजेट अभावमा एकेडेमीको काम अगाडि बढ्न सकेको छैन । कोहलपुरमा स्थापना गर्ने भनिएको डाटा सेन्टरको भौतिक पूर्वाधार निर्माण गरिने बजेटमा उल्लेख गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १८ गते बुधबार