कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनः निर्माण कार्यमा ढिलासुस्ती



बाँके ।

रुख कटानको अनुमति पाउन ढिलाई भएपछि कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माणमा सुस्त भएको छ । आउँदो भदौमा म्याद सकिन लाग्दा पनि आयोजनाले अहिलेसम्म रुख कटानको अनुमति नपाउँदा काम सुस्त भएको हो ।

नेपाल विद्युत् प्राधिकरणले रुख कटानसम्बन्धी प्रस्ताव पेस गरेको लामो समय बितिसक्दा पनि वन तथा वातावरण मन्त्रालयले मन्त्रिपरिषद्मा उक्त प्रस्ताव लैजान ढिलाइ गर्दा आयोजना प्रभावित हुन थालेको छ ।

५२ किलोमिटर लामो प्रसारण लाइनको अधिकांश भूभाग बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा पर्छ । यस आयोजनाका लागि बाँके, बर्दिया र सुर्खेतमा गरी १३ हजार एक सय १९ रुख कटान गर्नुपर्ने छ । आयोजनाका प्रमुख रवीकुमार चौधरीले रुख कटानसम्बन्धी निर्णय नहुँदा निर्धारित समयमै आयोजना नबन्ने देखिएको जानकारी दिए ।

‘वन जंगल नभएको ठाउँमा प्रसारण लाइनको काम भइरहेको छ, निजी जग्गाको मुआब्जा वितरण प्रक्रिया पनि सुरु भइसकेको छ,’ उनले भने, ‘मन्त्रिपरिषद्बाट रुख कटानको निर्णय नहुँदा आयोजना कम्तीमा एक वर्ष धकेलियो ।’ ७० करोड लागतमा भारतीय कम्पनी आरएस इन्फाप्रोजेक्टले आयोजना निर्माणको जिम्मेवारी पाएको थियो ।

आयोजनाले डबल सर्किटका १७० टावर निर्माण गर्ने प्रस्ताव छ । टावरको उचाइ ११५ मिटरदेखि १६० मिटरसम्म रहेको छ । आयोजनाका अनुसार प्रसारण लाइनको अधिकांश क्षेत्रमा बाँके राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्ज तथा यसका मध्यवर्ती क्षेत्र पर्छ ।

प्रसारण लाइनको ७०.५४५ भाग वन क्षेत्र, १५.१३५ खेतीयोग्य, २.२६५ बाँझो जमिन तथा ११.०६५ अन्य भागले ओगटेको आयोजनाले जनाएको छ । प्रसारण कार्यान्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन तथा सरकारी वन क्षेत्र गरेर कूल २२५ वर्गकिलोमिटर जमिन समेटिने छ ।

कोहलपुरबाट सुरु भएको प्रसारण लाइन वीरेन्द्रनगरको बुँदबुँदेस्थित सवस्टेशनमा पुगेर टुंगिनेछ । १३२ केभी विद्युत् प्रसारण लाइन विस्तार नहुँदा कर्णालीवासीले विद्युत् सेवामा सास्ती भोग्दै आएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार