जानकी, बैजनाथमा कांग्रेस र राप्तीसोनारीको कार्यपालिकामा एमालेको बहुमत



कोहलपुर ।

बाँकेको बैजनाथ र जानकीमा नेपाली कांग्रेस तथा राप्तीसोनारी गाउँपालिकाको गाउँ कार्यपालिकामा नेकपा एमालेको एकल बहुमत पुगेको छ । तीन पालिकाको कार्यपालिकाले पूर्णता पाएसँगै दुईमा कांग्रेस र एकमा एमालेको एकल बहुमत पुगेको हो ।

बैजनाथमा आइतबार भएको कार्यपालिका सदस्यको चुनावमा नेपाली कांग्रेसका ६ जना सदस्य निर्वाचन भएका छन् । ६ जना सदस्यका लागि भएको निर्वाचनमा ६ वटै सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कुल १६ सदस्यीय गाउँ कार्यपालिकामा अब कांग्रेसले स्पष्ट बहुमत पाएको छ । कार्यपालिकामा कांग्रेसका १२ जना, एमाले र माओवादीका दुई–दुईजना सदस्य छन् । जानकी गाउँपालिकामा भएको निर्वाचनमा चारजना नेपाली कांग्रेस र दुईजना माओवादी केन्द्रबाट गाउँ कार्यपालिका सदस्य निर्वाचित भएका छन् ।

योसँगै जानकीमा १४ सदस्यीय कार्यपालिका गठन भएको छ । अब कांग्रेसका नौजना, माओवादी केन्द्रका तीन र जसपाका दुईजनाले कार्यपालिकामा प्रतिनिधित्व गर्ने छन् ।

कुल ६ वटा वडा रहेको जानकी गाउँपालिकाको गाउँ कार्यपालिकामा कांग्रेसले पूर्णरुपले एकल बहुमत प्राप्त गरेको छ । यस्तैगरि राप्तीसोनारी गाउँ कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा सबैजना नेकपा एमालेका विजयी भएका छन् । नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाबीचको गठबन्धनलाई पराजित गर्दै एमाले विजयी भएको हो ।

कार्यपालिका सदस्यमा एमालेबाट गोत्रकुमारी, डाँगी, यमकुमारी ओली, राधिका सुनार, सुमित्राकुमारी थारु, केशव दमाई र थानबहादुर विक विजयी भए । राप्तीसोनारीमा अब १७ सदस्यीय गाउँ कार्यपालिका बनेको छ । कार्यपालिकामा एमालेको एकल बहुमत पुगेको छ । कार्यपालिकामा अब एमालेका ११, नेकपा माओवादी केन्द्रका तीन, नेपाली कांग्रेसका दुई र राप्रपाका एकजना सदस्य पुगेका छन् ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार