गर्मी मौसममा कस्ता खानेकुरा खाने



गर्मी महिनामा वायुमण्डलको तापक्रमसँगै शरीरको तापक्रम बढ्ने र पसिना बढी बग्ने हुनाले शरीरलाई शीतलता दिने, घामबाट सुरक्षा दिने, एन्टिअक्सिडेन्टयुक्त र शरीरमा पानीको मात्रा सन्तुलन राख्ने खानेकुरा खानु आवश्यक हुन्छ । गर्मीयाममा पाइने खरबुजा, तरबुजा, मेवा, प्याज, पुदिना, कागती, काँक्रो, काँचो आँप, मकै र अन्य हरिया सागपात तथा तरकारीहरूमा एन्टिअक्सिडेन्ट, एन्टिहिटस्ट्रोक तथा शीतलता प्रदान गर्ने तत्व हुन्छ ।

त्यस्तै नरिवलको पानी, ताजा फलफूलको जुस, दही र मोहीले शरीरमा तापक्रम र पानीको मात्रा सन्तुलन राख्नुका साथै शरीरलाई चाहिने शक्तिको प्रबन्ध पनि गर्छ । त्यस कारण गर्मी मौसममा यी खानेकुरा खानामा समावेश गर्नु उपयुक्त हुन्छ । जाडो महिनाको तुलनामा गर्मीमा मानिसलाई खानामा रुची कम हुन्छ । त्यसले गर्दा धेरैलाई कमजोर महसुस पनि हुनसक्छ ।

गर्मीका बेला खानामा रुची कम हुनाको कारण शरीरमा शक्तिको आवश्यकता नै कम हुनु हो । जाडो महिनामा शरीरको तापक्रमभन्दा बाहिरी तापक्रम चिसो भएको कारणले शरीरको बाहिरी भाग र मांशपेशी पनि चिसो हुन्छ । शरीरको बाहिरी भाग र मांशपेशी तातो राख्न तथा मांसपेशीको कार्य सुचारु राख्न शक्तिको खर्च बढी हुन्छ । त्यस कारण जाडोमा खानामा रुची बढी हुन्छ ।

खाना खान मन लागेन भन्दैमा केही नखानुभन्दा शरीरलाई शीतलता दिने र शक्ति दिने खाना जस्तै ताजा फलफूल, जुस, दही वा महीको लस्सी, नरिवल पानी, कागतीको जुस आदि खानाका साथै बीच–बीचमा खानुपर्दछ । गर्मी महिनामा पिरो वा अमिलो खानेकुरा सबैलाई मन पर्छ । पिरो वा अमिलो खानेकुरा जिब्रोका लागि स्वादिष्ट वा ताजा महसुस गर्न खाने गरिन्छ ।

यस्ता खानेकुराले गर्मीको समयमा बाहिरी तापक्रमअनुसार शरीरको भित्री तापक्रम पनि बढाइ सन्तुलन गराउने काम गर्दछ । स्वस्थ मानिसले चिसो मौसममा दैनिक १-५ लिटरदेखि २ लिटर पानी पिउनुपर्दछ भने गर्मी मौसममा २ लिटरदेखि ३ लिटर पानी पिउनुपर्छ । यदि बढी तापक्रम हुने र पसिना बढी आउने ठाँउमा ५ लिटरसम्म पानी पिउनु पर्दछ । पानीको मात्रा कम गर्नुपर्ने बिरामीका लागि भने डाक्टर वा पोषणविद्को सल्लाहअनुुसार पिउनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १७ गते मंगलबार