हराएको साढे चार घण्टासम्म भेटिएन तारा एयरको विमान



पोखराबाट जोमसोमका लागि उडान भरेको तारा एयरको विमानको अवस्था टावरसँग सम्पर्क टुटेको साढे ४ घण्टा हुँदा पनि पत्ता लाग्न सकेको छैन। आइतवार बिहान ९ : ५५ मा पोखरा विमानस्थलबाट जोमसोमका लागि उडेको विमान १० बजेर ७ मिनेटमा शिखा पुगेपछि टावरसँग सम्पर्क विच्छेद भएर हराएको थियो ।

हराएको साढे ४ घण्टा भइसक्दा पनि विमानको अवस्था अझे पत्ता लाग्न नसकेको थासाङ गाउँपालिका अध्यक्ष प्रदीप गौचनले नेपालखबरलाई बताए। ‘विमान र यात्रुको अवस्थाबारे अहिलेसम्म केही पत्ता लाग्न सकेको छैन’, गौचनले भने, ‘सबै ठाउँमा सम्पर्क भइरहेको छ। तर, यथार्थ अवस्था खुलिसकेको छैन ।’

जहाज थासाङ गाउँपालिका आसपास पुगेपछि बाक्लो कुहिरोमा परेर हराएको आशंका गरिएको छ। जहाज खोजीका लागि नेपाली सेना र निजी क्षेत्रको हेलिकोप्टर पठाइएको थियो। तर खराब मौसमले अहिलेसम्म थासाङ क्षेत्र पुग्न सकेको छैन।

मौसम केही खुलेपछि पोखराबाट केही बेरअघि नेपाली सेनाको हेलिकोप्टर मुस्ताङतिर उडेको छ। अहिले प्रहरी र सेनाको पैदल गस्ती टोली पनि सम्भावित घटनास्थलतिर खटिएको छ।

स्थानीयका अनुसार थासाङकै २, ४ र ५ नम्बर वडा आसपास विमान दुर्घटना भएको हुनसक्ने बताएका छन्। कोवाङ क्षेत्र पोखराबाट जोमसोम जाने रुटमै पर्छ। अग्ला पहाड र माच्छापुछ्रे हिमालकै सामुन्नेबाट विमान जोमसोम पुग्ने गरेको छ।

त्यस क्षेत्रमा आइतबार विहानदेखि वर्षा भइरहेको छ। मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार थासाङ गाउँपालिकाको नउरीकोट, टिटी ताल क्षेत्रमा पानी परिरहेको छ।

यस्तोमा पाइलट प्रभाकर प्रसाद घिमिरेको मोबाइल फोन अझै एक्टिभ छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले पनि क्याप्टेन घिमिरेको फोन ट्र्याक गर्दा लेते आसपासमा लोकेसन देखाएकाले त्यतै खोजी केन्द्रित गरिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १५ गते आइतबार