यसो गरे कसो होला जनप्रतिनिधि ज्यू ?



जीतबहादुर शाह ।

मिडियामा आएको छ, बर्दियाको राजापुर नगरपालिकाको मेयरबाट शिक्षकहरुलाई कुनै पनि राजनीतिक दलको कार्यसमितिमा नबस्न र बसेकाहरुले सात दिनभित्र उक्त कार्य समितिबाट राजीनामा दिएको जानकारी नगरपालिकामा पठाउन निर्देशन जारी भएको छ ।

धरानको मेयरले जनताको दुःखसुखलाई नजिकबाट हेर्न सजिलो र सहज हुन्छ भनेर आफूले यातायातको साधनको रुपमा आफ्नै पुरानो बाइक चढ्ने घोषणा गर्नुभएको छ ।

काठमाडौंको मेयरले विजय जुलुशको आयोजना गरेर खर्च नगर्नका लागि समर्थकहरुलाई अनुरोध गर्नुभएको छ र उहाँले विजयोत्सव त्यत्तिबेला मनाउनुपर्छ जतिबेला हामीले घोषणा गरेका कार्यक्रमहरु लागू गर्न सफल हुनेछौं भन्नुभएको छ । पदबहाली गर्ने क्रममा जनप्रतिनिधिहरुले यस्तो थुप्रै घोषणा गर्नुभएको छ, जसले गर्दा मतदातालगायत आमनागरिकहरुमा अब केही हुन्छ कि भन्ने आशा पलाएको छ ।

यो पङ्क्तिकारले यो लेखमार्फत त्यस्ता केही मसिना कामहरुको बारेमा प्रस्तुत गर्न खोजिरहेको छ, जसलाई अवलम्बन गर्न सकेमा यहाँहरुको पाँच बर्से कार्यकाललाई स्वर्णीम र सफल बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ । त्यसैले यसो गरे कसो होला जनप्रतिनिधि ज्यू ?

मलाई कसैले तिमीलाई के को अभाव छ भनेर सोध्यो भने मसँग स्पष्ट जवाफ छ–समयको । म मात्र होइन आज धेरैलाई समयको अभाव हुन थालेको महसुस भइरहेको छ । यस्तो अवस्थामा आफ्नो कारणले कही कसैको समय बरबाद हुँदैछ छ कि भन्ने कुरामा जनप्रनिनिधिहरु सचेत हुन जरुरी छ ।

कतिपय कार्यक्रमहरुमा अतिथि र प्रमुख अतिथिको रुपमा जनप्रतिनिधिलाई आमन्त्रण गरिएकोमा जनप्रतिनिधि समयमा कार्यक्रममा नआउनुको कारणले धेरैको समय बरबाद भइरहेको हुन्छ । पर्खनुको पीडाका कारण समर्थकहरु समेत प्रतिपक्षमा उभिने स्थितिमा पुगिसकेका हुन्छन् । यस्तो अवस्थामा तोकिएको समयमा कार्यक्रममा उपस्थित हुने बानी गर्नुपर्छ । यो कुराको जानकारी सबैलाई गराउनु पनि पर्छ कार्यक्रम ठीकसमय सञ्चालन हुन्छ र ठीक समया सम्पन्न हुन्छ भनेर । यत्ति गर्दा पनि आयोजक पक्षबाट ढिला हुन्छ भने त्यस्ता कार्यक्रमहरुबाट सरी भन्दै बाहिरिनु जाति हुन्छ ।

किनभने त्यहाँ ढिला गर्नुभयो भने त्यहाँको ढिलाइले अर्को कार्यक्रममा पनि ढिलाई हुन्छ । यसका निम्ति नगरपालिकाले बजेट विनियोजनका लागि प्रतिबद्धता देखाउनु पर्दैन । प्रतिबद्धता देखाउनु पर्दछ त केवल तपाईंको आनीबानीमा सुधारको । अनि समयको महŒव बुझ्ने क्षमता र स्वभावको ।

विकसित देशहरु त्यसै विकसित भएका होइनन् । अन्तर्राष्ट्रिय कोच नरबहादुर कार्कीको नाम लिएर मैले धेरैपटक लेखेको पनि छु, जापानको सिन्केन भन्ने ट्रेन कम्पनीका ट्र्ेनहरु तोकिएको समयभन्दा एक सेकेण्ड पनि ढिला गर्दैनन् । त्यहाँका मानिसहरु आफूसँग भएको घडीलाई भन्दा ट्रेन कम्पनीको समय कार्यतालिकालाई विश्वास गर्दछन् । यत्तिसम्म कि यदि कुनै ट्रेनले चार सेकेण्ड मात्र ढिला ग¥यो भने चार सयभन्दा बढी ट्रेनहरु ठोक्किएर दुर्घटना हुने गर्दछन् । त्यसैले तपाईंको पालिकालाई समयको आधारमा चल्ने बनाउनुपर्छ ।

त्यसको सुरुआत तपाईं आफँैबाट गर्नुपर्छ । जो व्यक्ति समयअनुसार चल्छ, त्यो मानिससँग योजना हुन्छ, भिजन हुन्छ, लक्ष्य हुन्छ र उद्देश्य हुन्छ । यसरी अघि बढ्ने मानिस स्वभावैले सफल हुन्छ । जसरी अघिल्लो दिनको बेलुका भोलि के गर्ने भनेर योजना बनाएर बेडमा गएको व्यक्ति र भोलि के गर्ने भन्ने कुराको कुनै टुङ्गो नभएको व्यक्तिको भोलिको दिनमा जसरी भारि फरक पर्छ त्यसरी नै समयको महŒव बुझ्ने र नबुझ्ने जनप्रतिनिधिहरुको कार्यकाल पनि त्यसरी नै उपलब्धि र सफलताको हिसावले भारि फरक पर्नेछ ।

दोस्रो महŒवपूर्ण कुरा भनेको, सकेसम्म कम बोल्नुपर्छ, बिस्तारै बोल्नुपर्छ र मीठो बोल्नुपर्छ । जनप्रतिनिधिहरुले अहिलेसम्म मञ्च पाएपछि अनावश्यकरुपमा भए नभएका कुराहरु गरेर अरुभन्दा लामो भाषण गर्ने र अनि ‘अन्तमा मेरो दुई शब्द यही शेष गर्छु’ भन्ने कथन पूर्णरुपले बन्द गर्नुपर्छ । स्वभावैले मानिसका दुइटा कान र एउटा मुख हुन्छ । यसको गणितीय विश्लेषण भनेको थोरै बोल र धेरै सुन भन्ने हो । त्यस कारण जनप्रतिनिधिहरुले पनि यो कुराको अक्षरशः पालना गर्नुपर्छ ।

तपाईंहरुलाई त्यो ठाउँमा जनताले गफ गर्नका लागि होइन कि काम गर्नका लागि पठाएका हुन् भन्ने कुरा कहिल्यै पनि बिर्सिनु हुँदैन । कुरा त्यत्तिबेला गर्नुपर्दछ जतिबेला मानिसहरु भ्रममा छन् र उक्त भ्रमलाई चिर्नु आवश्यक । मानिसहरुलाई चेतना छैन र तपाईंले उनीहरुलाई चेतना दिनु आवश्यक छ ।

यसका लागि व्यक्तिसँग भन्दा पनि मिडियासँग एकैपटक धेरैले सुन्ने गरी स्थानीय टेलिभिजन र एफएमहरुसँग ‘जनतासँग जनप्रतिनिधि’ जस्ता कार्यक्रमहरु सञ्चालन गर्नुपर्दछ । पालिकाको हिसाबले महŒव बोकेका कार्यक्रमहरुबाहेक अरु कार्यक्रमहरुको उद्घाटन गर्ने, मन्तव्य दिने र त्यसैका कारणले नगरपालिकामा कतिपय कामहरु अल्झिएर नागरिकले दुःख पाउने काम बन्द गर्नुपर्छ भन्ने लाग्छ मलाई ।

तेस्रो सन्दर्भमा कुरा गर्दा नेतृत्वको सम्बन्धमा स्वामी विवेकानन्दको भनाई छ– ‘नेतृत्वमा हुँदा परिवेशले मागेपछि सामान्य नोकरले गर्ने काम गर्नका लागि समेत तयार हुनुहोस्, निस्वार्थी हुनुहोस् र असीमित धैर्यताले सम्पन्न हुनुहोस् । यत्तिभए सफलता तपाईंको पोल्टामा पर्नेछ ।’ विवेकानन्दले भनेको यी तीन कुरा जनप्रतिनिधिहरुमा पनि हुनु आवश्यक छ यदी सफल हुने धोको छ भने । यसका लागि जनप्रतिनिधिले आफूलाई अध्ययन र सूचनाको हिसाबले अद्यावधिक गर्नु आवश्यकछ ।

सीपको हिसाबले पनि जानकारी राख्नु आवश्यक छ । हरेक काममा सामाजिक स्वार्थलाई उच्च प्राथमिकता दिनु आवश्यक छ न कि आफू र आफ्नो राजनीतिक दललाई । अहिले जति पनि नेताहरु नागरिकको नजरमा तल झरेका छन् त्यो सबै हुनुको एउटै कारण हो नागरिकलाई भन्दा आफू र आफ्नालाई प्राथमिकता दिनु ।

यो दलदलबाट मुक्त हुन सकियो भने जनप्रतिनिधिहरुले गरेका धेरै काम त्यसै पनि राम्रा र प्रभावकारी हुन्छन् । हाम्रो जस्तो मुलुकमा कतिपय राम्रा कामहरुको बारेमा नागरिकले बुझ्न समय लाग्छ । यसका लागि आत्तिनु हँुदैन र पर्खिनु पर्दछ । यो स्वभावको विकास गर्नका लागि तपाईंसँग असीमित धैर्यता हुनु आवश्यक छ ।

चौथोँ भनेको, तपाईं पहिले कुनै राजनीतिक दलबाट चुनाव लडेर निर्वाचित भए पनि अब तपाईं राजनीतिक दलको मात्र नभएर सबैको साझा नेता हो । साझा नेता हुनका लागि तपाईं निष्पक्ष र बस्तुनिष्ठ हुनु आवश्यक छ ।

यसका लागि राजनीतिक दलको परिधिभन्दा बाहिर निस्केर काम गर्नु आवश्यक छ । यस्तो हुन सकेमा मात्र तपाईंले गर्ने कर्म र पालिकाले प्रदान गर्ने सेवा र सुविधाहरु न्यायपूर्ण र पारदर्शी हुन सम्भव छ । तपाईं अहिले पनि विरोधी र पक्षधर भनेर कित्ताकाँट गर्न थाल्नु भयो भने यो अवधि मुस्किलले धकेल्नु त होला । अर्को चुनावमा भने तपाईंले आश गर्नु व्यर्थैै हुनेछ ।

किन भने तपाईंको अहिलेको विजय भनेको तपाईंको राजनीतिक दलको कारणले भन्दा पनि अरुप्रति आस्था राख्ने नागरिकले समेत तपाईंलाई विश्वास गरेर केही भरोसा र केही परीक्षण गरुँ भनेर दिएको मतको परिणाम हो ।

तपाईंलाई जिताउने नागरिकहरुले त आफ्नो आस्थाको परिधि नाघेर तपाईंलाई विजयको माला पहिराए भने तपाईंले पुनः राजनीतिक वृत्तको हिसाब गरेर त्योअनुसारको चरित्र देखाउनुु भयो भने त तपाईंलाई नागरिकले फेरिफेरि विश्वास गर्ने कुरै भएन । किन भने नागरिकबाट उठेको करबाट सुविधा लिएर राजनीतिक दलको भलो गर्ने छुट त कसैलाई पनि हुनुहँुदैन ।

पाँचांै भनेको, अहिलेसम्म आफ्ना आसेपासे र धुपौरेहरुको सल्लाहअनुसार चल्ने गरेका कारणले नेपालका नेता र जनप्रतिनिधिहरु सफल हुन नसकेको अवस्था छ । जनप्रतिनिधिलाई यसरी सल्लाह दिने व्यक्ति वा व्यक्तिको समूह त चाहिन्छ नै । तर यस्तो समूहमा यस्ता विज्ञ व्यक्तिहरु राख्नुहोस् जो नैतिकता, चरित्र, बौद्धिकता र उर्जाका हिसाबले अब्बल होऊन् ।

व्यवस्थापनको भाषामा यसलाई क्वालिटी सर्कल भनिन्छ । यो समूहमा त्यस्ता विज्ञहरु पनि राख्नुहोस् जसमा तपाईंको भन्दा फरक विचार र फरक आस्था पनि समेटिन सकून् । तपाईंले जितेको निर्वाचनमा तपाईंको विरुद्धमा लागेको किन नहोस् ।

यो क्वालिटी सर्कल यस्तो होस् जहाँ फरकफरक आस्था र विचारका विज्ञहरुलाई समेटेर उनीहरुले आफ्ना विचार र सुझावमार्फत तपाईंको कार्यकाललाई सफल बनाउने सवालमा विपक्षविहीन वातावरणको सिर्जना हुने गरी योगदान गर्न सकून ।यसका विपरीत स्वार्थैस्वार्थले भरिएका आफन्त र आसेपासेहरुको अनुसार चल्न थाल्नु भयो भने उनीहरु त बन्लान् तर, तपाईं भने असफलताको खाल्डोमा जाकिनुको अर्को विकल्प देखिँदैन ।

छैठौं भनेको, तपाईंको काम विधि र नीति बनाउने हुनु पर्दछ । कार्यान्वयन गर्ने सवालमा कर्मचारी संयन्त्रलाई सक्रिय बनाउनु पर्दछ । विधि बनाउदा बढी मन्थन गर्नुपर्दछ तपाईंले । यो सवालमा सकेसम्म नागरिक समाजको रायसल्लाह पनि लिनु पर्दछ ।

हाम्रो पद्यति भने ठीक उल्टो छ । कर्मचारी तन्त्रले विधि बनाउछन् । त्यसको कार्यान्वयन जनप्रतिनिधि वा नेताले गर्दछन् । यसमा जनप्रतिनिधि वा नेताहरुको नालायकी हो भन्छु म त । त्यसैले अब आवाज पनि उठ्न थालेको छ, नेता वा जनप्रतिनिधि ल्याप्चेवाला नभएर पढेलेखेको हुनुपर्दछ ।

यस कारण कि उसको पहलमा विधि र नीति बनोस् । उसको पहलमा ऐन, कानुन र नियमहरु निर्माण होउन् । यहाँ त विधि होइन कि व्यक्तितिर लागेर यो वा त्यो शिक्षक र कर्मचारीको सरुवा र नियुक्तिको पछि नेता र जनप्रतिनिधि मरिमेटेर लाग्न थालेपछि मुलुकको विकासले गति लिन नसकेको हो । किन भने जनप्रतिनिधिको यो पाराले राम्रा मान्छेहरु खुम्चिने र चाकरीको भरमा जागिर खाने गरेका खराब व्यक्तिहरुले अवसर पाउने अवस्थाको सिर्जना हुन्छ । यसरी राम्रा व्यक्तिले काम गर्ने अवसर नपाएर पलायन हुनुपर्ने र नराम्रा व्यक्तिहरु चलायमान हुन थालेपछि नतिजा गतिलो हुने त कुरै भएन ।

सातौं भनेको, हाम्रा देशका सबै पालिका र सहरहरु शिक्षा र चेतनाको हिसाबले अब्बल छैनन् । त्यस कारण कुन नेता ठीक र कुन नेता बेठिक भन्ने कुरा कतिपय पालिकाका नागरिकहरुलाई छुट्याउन गाह्रो हुने गर्दछ । यस्तै पालिकाहरुमा चुनावमा जित्नका लागि कतिपयले पैसासमेत खर्च गरेको अवस्था छ ।

किन भने मतदाताले राम्रो नराम्रो छुट्याउन नसकेपछि जसले पैसा दियो उसैलाई मत दिएको अवस्था पनि छ । हाम्रा मुलुकका काठमाडौं, धरान र धनगढीलगायतका पालिकाहरुमा पैसाभन्दा पनि पर्सनालिटी हेरेको अवस्था छ । ढिलोचाडो शिक्षा र चेतनाको लहर मुलुकभरिका पालिकाहरुमा विस्तार हुनेछ । त्यसैले अहिलेका जनप्रतिनिधिहरुका निम्ति दुइटा रोजाइ छ–पहिलो रोजाइ भनेको काम राम्रो गर्ने, नागरिकलाई शिक्षा र चेतनाका हिसाबले अब्बल बनाउने र फेरि पनि चुनाव जित्ने ।

दोस्रो रोजाइ भनेको जनतालाई लोटा लिएर बिहानबिहान सार्वजनिक स्थलतिर सौच गर्न जाने मानसिकताबाट माथि उठ्न नदिने, विकासको नाममा यही मौकामा आफूले टन्न कमाउने र त्यही पैसा खर्च गरेर आगामी चुनाव जित्ने । जीवनको उत्तरार्धतिर सुख र शान्तिको श्वास फेर्नका लागि समेत अहिलेका जनप्रतिनिधिलाई पहिलो रोजाइले योगदान गर्नेछ न कि दोस्रो ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार