कृष्ण ओली । बाँके ।
गत बिहीबार बिहान नेपालगन्जस्थित स्टार लाइट होटेलमा सञ्चालित क्यासिनो लक्की स्टारबाट भारतीय नागरिक विक्की भनिने अतिक खान अपहरणमा परे । अपराधिक मनसायले उनलाई नेपाली र भारतीय एक समूहले अपहरण गरेको थियो । केही महिना अघि खजुराबाट पेस्तोल देखाई घरमा लुटपाट भयो । कोहलपुरमा एक होटेल सञ्चालकलाई बेहोस बनाई सुनमाल लुटियो । यतिमात्र होइन, पछिल्लो समय बाँकेमा अपराधिक क्रियाकलाप बढ्दो छ ।
यसलाई न्यूनीकरण गर्न बाँके प्रहरीले एउटा अपरेशन चलाएको छ । त्यसलाई ‘गुण्डा अपरेशन’ नाम दिइएको छ । विशेषगरि नेपालगन्ज क्षेत्रलाई लक्षित गरेर जिल्ला प्रहरी कार्यालय बाँकेले उक्त अपरेशन चलाएको हो । नेपाली र भारतीय गुण्डा समूहको नेपालगन्जमा आंतक बढ्न थालेपछि प्रहरीले ‘गुण्डा अपरेशन’ चलाएको हो ।
गुण्डागर्दीमा संग्लनहरुको खोजीका लागि प्रहरीले नेपालगन्जमा मात्रै प्रहरी निरीक्षकको कमाण्ड दुई टोली परिचालन गरेको छ । प्रहरीले ‘गुण्डा अपरेशन’ चलाएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले बताए । ‘केही दिनयता नेपालगन्ज क्षेत्रमा गुण्डागर्दी नियन्त्रणको लागि विशेष अपरेशन नै चलाएका छौं,’ उनले भने, ‘होटल रेष्टुरेण्ट तथा क्यासिनोलगायतका क्षेत्रमा गुण्डागर्दी गर्नेलाई नियन्त्रणमा लिने काम भइरहेको छ ।’
कारकाँदोमा रहेको स्टार लाइट होटेलमा सञ्चालित क्यासिनो लक्की स्टारमा जबरजस्ती छिरेर भारतीय र नेपालीको एक समूहले भारतीय नागरिकलाई कुटपिट गर्दै अपहरण गरेको थियो । क्यासिनोबाट भारतीय ग्राहक अपहरणमा परेको सूचना प्रहरीसँग पुगेपछि अपहरणकारीले राति नै भारतीय नागरिकलाई प्रहरीमा बुझाएका थिए ।
कुटपिट गर्दै क्यासिनोबाट भारतीय अपहरण भएको भिडियो सार्वजनिक भएपछि गुण्डागर्दी गर्ने समूहलाई बाँके प्रहरीले संरक्षण गरेको भन्दै आलोचना भएको थियो । स्थानीयस्तरबाट चर्को आलोचना भएपछि बाँके प्रहरीले गुण्डागर्दीविरुद्ध कदम उचालेको छ । तर, यो कति प्रभावकारी हुन्छ ।
खासगरि रातिको समयमा हुने गुण्डागर्दी नियन्त्रणको लागि नेपालगन्ज क्षेत्रमा मात्रै प्रहरीले दुईजना प्रहरी निरीक्षकको कमाण्डमा प्रहरी टोली खटाउने गरेको छ । ‘धम्क्याएर खान खोज्ने व्यक्तिहरुलाई हामीले धमाधम नियन्त्रणमा लिइरहेका छौं,’ डिएसपी न्यौपानेले भने, ‘नियन्त्रणमा लिइएका व्यक्तिहरुको बारेमा बुझेर सम्झाइबुझाई अभिभावकको जिम्मा लगाउँछौं ।’ नेपालगन्जमा मात्रै आधा दर्जन बढी क्यासिनोहरु खुलेसँगै नेपाली र भारतीय क्षेत्रमा गुण्डागर्दी गर्ने समूह क्रियाशील हुन थालेका छन् ।
डिएसपी न्यौपानेले भने क्यासिनोले गुण्डागर्दी बढाएको कुरालाई स्वीकार गर्दैनन् । ‘हामी पहिलाबाट नै गुण्डागर्दीविरुद्ध लागेका थियांै । त्यसको रिजल्ट स्थानीय चुनावमा समेत देखियो,’ उनले दाबी गर्दै भने, ‘चुनावपछि फेरि हामीले अपरेशन चलाइसकेका छौं । शंकास्पदलाई नियन्त्रणमा लिने काम भइरहेको छ ।’
निर्वाचनअघि नै हातहतियारसहित विभिन्न समूहलाई नियन्त्रणमा लिइएकोले बाँकेमा शान्तिपूर्णरुपले चुनाव सम्पन्न भएको डिएसपी न्यौपानेले बताउँछन् । ‘कानुन हातमा लिएर गुण्डागर्दी गर्ने जो कोहीलाई छोड्ने भन्ने कुरै हुँदैन,’ उनले भने, ‘गुण्डागर्दीमा संग्लन जोसुकै पनि पक्राउ पर्छन् र कानुुनअनुसार कारबाही हुन्छ ।’
विगतमा गुण्डागर्दीमा संग्लन रहेका व्यक्तिहरुलाई समेत अहिले निगरानीमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका एक प्रहरी अधिकृतले जानकारी दिए । ‘भारतीयलाई प्रयोग गरेर केही नेपालीले क्यासिनो, दोहोरी साँझ, डान्स क्लबमा धक्याउने गरेको सूचना आएको छ,’ ती अधिकृतले भने, ‘अहिले ती व्यक्तिहरु पनि हाम्रो निगरानीमा नै छन् । गुण्डागर्दीमा भारतीयलाई अगाडि देखाउन खोजिएको छ ।’
बाँके प्रहरीले ‘गुण्डा अपरेशन’ चलाएको बताए पनि क्यासिनो लक्की स्टारबाट भारतीय नागरिकलाई कुटपिट गर्दै अपहरण गर्ने समूह भने पक्राउ पर्न सकेका छैनन् । उनीहरुविरुद्ध बाँके प्रहरीमा अपहरणमा परेका भारतीय नागरिक विक्की भनिने अतिक खानले अपहरण तथा शरीर बन्धक र डाँका चोरी मुद्दामा जाहेरी दिएका छन् ।









प्रतिक्रिया दिनुहोस्