नेपालगन्जमा चर्किंदै रगत अभाव



नेपालगन्ज ।

नेपालगन्जस्थित भेरी अस्पताल परिसरमा रहेको नेपाल रेडक्रस सोसाइटीको प्रादेशिक रक्तसञ्चार केन्द्रमा रगत अभाव भएको छ । स्थानीय निर्वाचनका कारण सामूहिक रक्तदानका कार्यक्रमहरु हुन छाडेपछि रगत अभाव भएको रक्तसञ्चार केन्द्रका प्रमुख प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिए ।

हाल दैनिक एक सयजनाभन्दा बढीले रगत माग गर्दै आउने गरेको उनले बताए । तर मागको आधा संख्यामा मात्रै रगत उपलब्ध गराउन नसकिने स्थिति रहेको उनको भनाइ छ । रगत अभाव भएकोले नियमित रक्तदाताहरुलाई अनुरोध गरेर र बिरामीका आफन्तहरुबाट रगत संकलन गरेर उपलब्ध गराइरहेको रेग्मीले बताए ।

अब बिस्तारै रक्तदानका कार्यक्रमहरु हुने सम्भावना रहेको उनले जनाए । उनले स्वतःस्फुर्तरुपमा रक्तदान गरिदिन पनि रक्तादातालाई आग्रह गरेका छन् ।

यतिबेला रगतका माग पनि बढी हुने गरेको उनले बताएका छन् ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका झन्डै २४ जिल्लाका नागरिकहरूको स्वास्थ्य उपचारको केन्द्र नेपालगन्ज हो । नेपालगन्ज र कोहलपुरमा उपचारका लागि आउने बिरामीहरुलाई रगत उपलब्ध गराउने एकमात्र रक्तसञ्चार केन्द्र हो ।

भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज नेपालगन्ज र कोहलपुर, आर्मी अस्पताल, आखाँ अस्पताल गरी १५ बढी विशेषज्ञ सेवासहितको अस्पताल, ८० बढी निजी क्लिनिक गरेर एक सयभन्दा बढी स्वास्थ्य संस्था छन् । बाँके जिल्लाबाट वार्षिकरुपमा लगभग चार लाख बढी नागरिकले उपचार लिने गरेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख रजंग शाहको भनाइ छ ।

बाँकेमा करिब चार हजारले वार्षिकरुपमा नेपालगन्जमा रहेको रक्तसञ्चार केन्द्रमा रक्तदान गर्छन् । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र नेपालगन्जले गतवर्ष १० हजार आठ सय १६ पिन्ट रगत संकलन गरेकोेमा १३ हजार ८३ पिन्ट रगत बिरामीको लागि वितरण गरेको थियो ।

दिनेभन्दा लिनेको सख्या धेरै हुँदा बेलाबेलामा नेपालगन्जमा रगत आपूर्तिमा समस्या देखिने गरेको रक्तसञ्चार केन्द्रका प्राविधिक अधिकृत रेग्मीको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १३ गते शुक्रबार