घरेलु महासंघ कोहलपुरद्धारा नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत



कोहलपुर ।

घरेलु तथा साना उद्योग महासंघ कोहलपुरले नवनिर्वाचित कोहलपुरका जनप्रतिनिधिहरुलाई बधाई तथा स्वागत कार्यक्रम गरेको छ । कोहलपुर नगर समितिले आफ्नै कार्यालयमा एक कार्यक्रम गरेर नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा स्वागत गरेको हो ।

नगर प्रमुख पूर्णप्रसाद आचार्य, उपप्रमुख संगिता सुवेदी, वडाध्यक्ष तथा वडा सदस्यहरुलाई बधाई तथा स्वागत गरिएको थियो । उनीहरुलाई घरेलुका नगर अध्यक्ष हेमविक्रम जिसी, महासचिव सिएम उपाध्याय लगायतले सादा र अबिर लगाएर बधाई ज्ञापन गरेका थिए ।

May be an image of 11 people, people sitting and people standing

सो अवसरमा नवनिर्वाचित कोहलपुरका जनप्रतिनिधिलाई घरेलु कोहलपुर अध्यक्ष जिसीले साना उद्योगी व्यवसायीका समस्या अवगत गराएका थिए । ‘घरेलु उद्योगीहरुका समस्या धेरै रहेका छन् ।

नयाँ आउनुभएका कोहलपुरका जनप्रतिनिधिहरुले ध्यान दिनुहुन्छ भन्ने आशा हामीले राखेका छौं’ उनले भने । नगर अध्यक्ष जिसीले कोहलपुर नगरपालिकासँग सहकार्य र समन्वय गरेर काम गर्न घरेलु महासंघ कोहलपुर तयार रहेको प्रतिबद्धता जनाए । कोहलपुरका नवनिर्वाचित प्रमुख आचार्यले सबै साथ सहयोगले मात्रै कोहलपुरको विकास सम्भव हुने बताए ।

May be an image of 9 people, people standing, people sitting and indoor

‘यहाँको आर्थिक विकासको लागि घरेलु उद्योगीहरुले ठूलो भूमिका खेल्नुपर्छ’ उनले भने, ‘उद्योगीका लागि नगरपालिकाले खेल्नुपर्ने भूमिका खेल्छ । कोहलपुरको विकास सबैले आफ्नो स्थानबाट हातेमालो गरौं ।’ नगर उपप्रमुख सुवेदीले महिलाहरुलाई विभिन्न सीपमूलक तालिम दिएर स्वरोजगार बनाउने बताइन् ।

‘धेरै भन्दा धेरै महिलाहरुलाई सीपमूलक तालिम नगरपालिकाले आउने दिनहरुमा दिन्छ’ उनले भनिन्, ‘अब महिलाहरुले तालिम लिएर आफैं स्वरोजगार बन्नुपर्छ ।’ कार्यक्रममा कोहलपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधि, घरेलुमा आवद्ध रहेका उद्योगीहरु लगायतको उपस्थिती रहेको थियो ।

May be an image of 9 people and people standing

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार