कोहलपुरको ट्राफिक व्यवस्थापनमा ध्यान दिन यातायात व्यवसायीको माग



कोहलपुरका नगर प्रमुख पूर्णप्रसाद आचार्य र उपप्रमुख संगीता सुवेदीलाई सम्मान तथा स्वागत गर्दै यातायात व्यवसायी ।

बाँके ।

कोहलपुरका यातायात व्यवसायीले कोहलपुरका नवनिर्वाचित जनप्रतिनिधिलाई ट्राफिक व्यवस्थापनमा ध्यान दिन आग्रह गरेका छन् । सवारी साधनका संख्या थपिँदै जाँदा सडकमा सवारी दुर्घटनाको दर बढेको भन्दै खासगरि बजार क्षेत्रको ट्राफिक व्यवस्थापनमा ध्यान दिन उनीहरुले आग्रह गरेका हुन् ।

मंगलबार बागेश्वरी यातायात व्यवसायी प्रालिले गरेको स्वागत तथा सम्मान कार्यक्रममा यातायात व्यवसायीहरुले जनप्रतिनिधिलाई ट्राफिक व्यवस्थापनका साथै यातायात व्यवसायीका समस्या राखेका थिए ।

उक्त अवसरमा बोल्दै बागेश्वरी यातायात व्यवसायी प्रालिका अध्यक्ष मनप्रसाद आचार्यले सडकमा सवारीको चाप बढ्दै जाँदा ट्राफिक व्यवस्थापनमा समस्या देखिएकोले यसतर्फ समेत ध्यान जानुपर्ने बताए । ‘बजार क्षेत्रमा भीडभाड बढ्दै जाँदा सवारी दुर्घटना बढ्ने क्रमसमेत बढ्यो,’ उनले भने, ‘सकेसम्म अन्य स्थानमा नभए तत्काल दुई स्थानमा भएपछि आकासे पुल बनाउनुपर्छ ।’

कोहलपुरमा बन्दै गरेको लामो दुरीको बसपार्कमा प्रवेश गर्ने र बाहिरिने स्थान एउटै भएकाले फरकफरक बनाउनुपर्ने अध्यक्ष आचार्यले आग्रह गरे । ‘बसपार्कमा सवारी प्रवेश गर्ने र बाहिरिने फरकफरक गेट हुनुपर्छ,’ उनले भने, ‘अर्को कुरा चौराहाको पाँच सय मिटर क्षेत्रलाई नो सवारी पार्किङ क्षेत्र घोषणा गरिए पनि कार्यान्वयनमा आएको छैन ।

यहाँहरुले यतातिर पनि ध्यान दिनुहोला ।’ चौराहादेखि चप्परगौडीको पुलसम्मको सडक चौडा बनाउनुपर्ने, यातायात व्यवस्था कार्यालय कोहलपुरमा ल्याउनुपर्ने, ट्राफिक दुर्घटनासम्बन्धी सचेतनामूलक कार्यक्रम चलाउनुपर्नेलगायतका सुझाव जनप्रतिनिधिलाई यातायात व्यवसायीहरुले दिएका थिए ।

कोहलपुर नगरपालिकाका नवनिर्वाचित प्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरको ट्राफिक व्यवस्थापनका लागि सबैको हातेमालो गर्नुपर्ने बताए । ‘कोहलपुरमा सवारी साधनको चाप बढेको साँचो हो, यसले दुर्घटनासमेत बढाएको छ,’ उनले भने, ‘पक्कै पनि सबैको सुझावको आधारमा नगरपालिकाले कुनै कदम अगाडि बढाउँछ ।’

आकासे पुल बनाउन नगरपालिकासँग रकम अभाव हुने भन्दै संघीय सरकारसमक्ष माग गरिएको नगर प्रमुख आचार्यले बताए । स्वागत सम्मान कार्यक्रममा नगर उपप्रमुख संगीता सुवेदी, विभिन्न वडाका वडाध्यक्ष तथा सदस्य, यातायात व्यवसायीलगायतको उपस्थिति थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार