बर्दिया एमालेले ग¥यो १८ जना नेता कार्यकर्तालाई कारबाही



बर्दिया ।

नेकपा एमालेले स्थानीय तह निर्वाचनमा उम्मेदवारविरुद्ध भ्रम सिर्जना गरी विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ पार्टी कार्यकर्तालाई कारबाही गरेको छ ।

उम्मेदवारविरुद्ध भ्रम सिर्जना गर्दै पार्टीको निर्णयविपरीत प्रमुखलगायत अन्य पदमा अन्य पार्टीलाई सघाएको आरोपमा एमाले बर्दियाले १८ पार्टी कार्यकर्तालाई कारबाही गरेको हो ।

एमाले जिल्ला कमिटी सचिव पदम ढकालले तीमध्ये केही सदस्यलाई स्पष्टीकरण सोधिएको, केहीलाई निलम्बन गरिएको र केहीलाई पार्टीको साधरण सदस्य नरहने गरी कारबाही गरिएको जानकारी दिए । कारबाहीमा पर्नेमा अधिकांश बारबर्दिया र गुलरियाका एमालेका नेता तथा कार्यकर्ता छन् । बढैयाताल गाउँपालिकाको हकमा कारबाही प्रक्रिया चाँडै गरिने सचिव ढकालले जानकारी दिए ।

गुलरिया नगरका सहइञ्चार्ज रामबहादुर रावललाई पार्टीको साधारण सदस्य नरहने गरी निष्कासन गरिएको एमाले बर्दियाले जनाएको छ । उनी २०७४ को स्थानीय निर्वाचनमा गुलरिया–४ बाट वडाध्यक्ष भएका थिए ।

यसैगरी नगर इञ्चार्ज धनेशकुमार यादवलाई सचिवालय सदस्य र नगर इञ्चार्जबाट मुक्त गरिनुका साथै जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिएको छ । यस्तै नगर उपसभापति पुष्पा ओली, जिल्ला कमिटी सदस्य हिराबहादुर बिसी, जीवन पन्थी, पुनकला श्रीवास्तवलाई विभागीय जिम्मेवारीबाट मुक्त गरिएको सचिव ढकालले बताए ।

जिल्ला कमिटीका सल्लाहकार शंकर घिमिरेलगायतलाई पदबाट मुक्त गरी स्पष्टीकरण सोध्ने निर्णय गरिएको छ । निलम्बित नगर इञ्चार्ज यादवले भने झुठो आरोप लगाइ कारबाही गरिएका साथीहरुलाई एकपटक सोधपुछ नगरी कारबाही गरिएकोमा आपत्ति जनाउँदै त्यसविरुद्ध सशक्त विरोध गर्ने बताए ।

एमाले जिल्ला इञ्चार्ज लक्ष्मण ज्ञवालीले कारबाही प्रक्रिया ठीक भएको भन्दै यो निर्णयबारे जिल्ला कार्यसमितिको बैठकले छलफल गरी अनुमोदन गर्ने दाबी गरे ।

गुलरिया, बारबर्दिया नगरपालिका र बढैयाताल गाउँपालिकामा यसपटकको स्थानीय निर्वाचनमा नेकपा एमाले पराजित भएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ १२ गते बिहीबार