विक्की अपहरणशैलीमा नियन्त्रण प्रकरणः अपहरणकारीलाई प्रहरीको छुटकारा



‘कतिपय कुरा उजुरी नपरे पनि प्रहरीले थाहा जानकारी पाएसम्म कानुनी प्रक्रियामा लिन सक्छ,’ नेपालगन्जका एकजना नागरिक समाजका अगुवाले भने, ‘तर, यहाँ त सबै कुरा जानकारी हुँदाहुँदै प्रहरी पन्छिन खोज्यो ।
यो प्रहरीको शंकास्पद भूमिका हो ।’ प्रहरीले अपराधिक मानसिकताबमोजिम अपहरणशैलीमा नियन्त्रणमा लिने व्यक्तिलाई छुटकारा दिएर अझ यस्ता किसिमका घटनालाई प्रसय गरेको आरोप उनको छ ।
कृष्ण ओली । बाँके ।
प्रहरीले चाहेमा पीडितलाई हिरासतमा र पीडकलाई छुटकारा दिन्छ भन्ने आरोप आजको होइन । सामाजिक सञ्जालदेखि, मेलापात, छलफललगायतमा यो आरोप बेलाबेला प्रस्फुटन हुन्छ । सर्वसाधारणले प्रहरीलाई त्यतिकै आरोप भने लगाएका होइनन्, कुनै न कुनै ढंगबाट पीडित हुँदा प्रहरीप्रति असन्तुष्टि व्यक्त गरेको देखिन्छ ।
यही आरोपलाई बढवा दिने गरी बाँके प्रहरीले शंकास्पद काम गरेको देखिएको छ । गत बिहीबार (जेठ ५) बिहान अपहरणशैलीमा नियन्त्रणमा परेका व्यक्तिलाई प्रहरीले हिरासतमा राख्यो भने नियन्त्रण गर्ने व्यक्तिलाई छाडिदियो । नेपालगन्जबाट अपहरणशैलीमा भारतीय समूहको नियन्त्रणमा परेका भारतीय नागरिक अतिक खान (विक्की) लाई प्रहरीले हिरासतमा राखेको खुलेको छ ।
भारतीय समूहलाई कारबाही गर्नुको साटो प्रहरीले उल्टै पीडितलाई नै हिरासतमा राखेको रहस्य खुलेको हो । भारतीय नागरिक विक्कीलाई भारतीय समूहले स्टार लाइट होटेलमा सञ्चालित क्यासिनो लक्की स्टारबाट कुटपिट गर्दै अपहरणशैलीमा नियन्त्रणमा लिएको थियो ।
गुण्डागर्दीमा संग्लन भारतीय समूहको दबाबमा प्रहरीले करिब ५/६ घण्टा आफ्नो हिरासतमा राखेको प्रहरी स्रोतले जनाएको छ ।
‘विक्कीलाई एउटा समूहले वडा प्रहरी कार्यालयमा ल्याएको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘विक्कीलाई ५/६ घण्टा राखेर जिल्ला प्रहरी कार्यालयमा पठायौं ।’ क्यासिनो लक्की स्टारबाट भारतीय समूहले विक्कीलाई बिहीबार बिहान २ः३० बजे कुटपिट गर्दै नियन्त्रणमा लिएर फरार भएको थियो । सुरेश कुर्मी, पंकज श्रीवास्तव, अनुराग साह, अश्विनी सिंह, अंशुमान सिंहलगायतले विक्कीलाई क्यासिनोभित्रैबाट कुटपिट गर्दै अपहरणशैलीमा नियन्त्रणमा लिएका थिए ।
विक्कीलाई क्यासिनो परिसरबाट भारतीय नम्बर प्लेट भएको डीएल२सीएएक्स७८७८ नम्बरको गाडीमा हालेर उनीहरुले राप्ती नदीतर्फ लिएका थिए । तर, राप्तीपारिको क्षेत्रमा लैजाँदै गर्दा प्रहरीलाई थाहा भएको भन्दै एकजनाले उनीहरुलाई फोन गरेका थिए । त्यसपछि उनीहरुले विक्कीलाई वडा कार्यालयमा ल्याएर बुझाएका थिए । विक्कीले आफूलाई मार्ने उद्देश्यले कुटपिट गर्दै अपहरणशैलीमा नियन्त्रणमा लिएको बताउँदै आएका छन् ।
‘अपहरणशैली प्रस्तुत गरेको समूहले विक्कीलाई वडा प्रहरी कार्यालयमा बुझायो,’ स्रोतले भन्यो, ‘हामी भोलि आउँछौं भन्दै उक्त समूह फरार भयो ।’ तत्कालै वडा प्रहरी कार्यालयले विक्कीलाई मेडिकल गराएर बिहान ९ बजेसम्म आफ्नो हिरासतमा राख्छ । करिब ६ घण्टा हिरासतमा राखेपछि वडा प्रहरीले विक्कीलाई उल्टै आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा बुझाएको देखिन्छ ।
बाँके प्रहरीमा भने विक्कीलाई अपहरण र कुटपिट गर्ने भारतीय समूह पहिले नै पुगिसकेको हुन्छ । बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीलगायतका प्रहरी अधिकृतसँग राम्रो सम्बन्ध बनाएको समूहसँग विक्कीको केही चल्दैन । कुटपिट र अपहरण गर्ने समूहलाई कारबाही गर्नुको साटो प्रहरीले भने उल्टै मेलमिलाप गर्न विक्कीलाई दबाब दिएको स्रोतले जनायो ।
‘घटनाको प्रकृति हेर्दा कुटपिट र अपहरण गरेको खुल्छ । सीसी क्यामेरामा समेत पूरै देखिन्छ,’ प्रहरी स्रोतले भन्यो, ‘डान्स क्लब सञ्चालन गर्ने पंकज श्रीवास्तवको प्रहरी अधिकृतसँग राम्रो सम्बन्ध छ । सम्बन्धलाई दुरुपयोग गर्दै आफू बच्न मेलमिलाप गर्न दबाब दिएको हुनसक्छ ।’ जिल्ला प्रहरी कार्यालय बाँकेले पहिले नै तयार पारिएको मेलमिलाप कागजमा विक्कीलाई हस्ताक्षर गर्न लगाएको खुलेको छ ।
यता जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारी भने दुवै पक्ष मिलेर गएको बताउँछन् । ‘दुवै पक्षको व्यक्तिगत झगडा रहेछ । हामीसम्म यो कुरा आइपुगेको थियो,’ उनले भने, ‘कसैले उजुरी नदिएपछि दुवै पक्ष मिलेर गएका हुन् ।
यसमा हाम्रो कुनै भूमिका छैन ।’ सबै घटना विवरण प्रहरीलाई थाहा थियो । थाहा भएकै विषय प्रहरीसमक्ष पुग्दासमेत प्रहरी मौन बस्यो । यसले प्रहरीको भूमिका शंकास्पद देखिएको छ । ‘कतिपय कुरा उजुरी नपरे पनि प्रहरीले थाहा जानकारी पाएसम्म कानुनी प्रक्रियामा लिन सक्छ,’ नेपालगन्जका एकजना नागरिक समाजका अगुवाले भने, ‘तर, यहाँ त सबै कुरा जानकारी हुँदाहुँदै प्रहरी पन्छिन खोज्यो । यो प्रहरीको शंकास्पद भूमिका हो ।’ प्रहरीले अपराधिक मानसिकताबमोजिम अपहरणशैलीमा नियन्त्रणमा लिने व्यक्तिलाई छुटकारा दिएर अझ यस्ता किसिमका घटनालाई प्रसय गरेको आरोप उनको छ ।
यता जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) तथा प्रवक्ता मधुसुदन न्यौपानेका अनुसार प्रहरीसँग पर्याप्त प्रमाण पुगे उजुरी नआए पनि कानुनी प्रक्रियामा लिन सकिने बताउँछन् । ‘यो राम्रो मनसाय होइन,’ विक्की नियन्त्रण भएको भिडियो हेर्दै उनले भने, ‘यदी विक्कीको गल्ती भए विक्कीलाई राम्रोसँग प्रहरीसमक्ष बुझाउन सकिन्छ वा प्रहरीलाई खबर गर्न सकिन्छ । यसरी अपहरणशैलीमा नियन्त्रण गर्न पाइँदैन ।’ यस विषयमा मुद्दा आए प्रहरीले अगाडि बढाउने उनको भनाइ छ ।

 

  • No tags available
प्रकाशित मिति : २०७९ जेठ ११ गते बुधबार