नेपाली कांग्रेस बाँकेको सभापति निर्वाचित भएदेखि नै नारायणप्रसाद गौडेलले एउटा वाक्य दोहो¥याउँदै आएका थिए, ‘अबको मेरो लक्ष्य आगामी तीनवटै निर्वाचनमा नेपाली कांग्रेसलाई बाँकेमा विजय गराउनु हुनेछ ।’ स्थानीय तहको चुनावमा देशभरि सत्ता साझेदार दलहरुबीच चुनावी गठबन्धन हुने हल्ला हुँदा उनले खजुराबाहेक अरु पालिकामा गठबन्धन गर्न नसकिने बताउँदै आए । गौडेलको आत्मविश्वासपूर्ण उक्त अभिव्यक्ति भर्खरै सम्पन्न स्थानीय निर्वाचनमा सार्थक साबित भएको छ । बाँकेका ८ स्थानीय तहमध्ये ६ वटा स्थानीय तहमा कांग्रेसका प्रमुख र उपप्रमुख चुनिएका छन् ।
दुईवटामध्ये एउटा खजुरा गाउँपालिकामा गठबन्धनकै साझेदार दल माओवादी केन्द्रका उम्मेदवार विजयी बने । उपाध्यक्षमा कांग्रेसकै उम्मेदवार विजयी बनिन् । नरैनापुरको प्रमुख र उपप्रमुखमा मात्रै कांग्रेसका प्रतिनिधि छैनन् । यसरी हेर्दा गौडेलको दाबी र अहिलेको अथार्थ मिल्न गएको छ । यद्यपि प्रदेश र संघीय निर्वाचनमा कांग्रेसले कस्तो परिणाम प्राप्त गर्छ त्यो हेर्न बाँकी नै छ । यसलाई अधिकांशले गौडेलको नेतत्व कुशलता भन्दै प्रशंसा गरिरहेका छन् । पार्टीको जिल्ला सभापति निर्वाचित भएको तीन महिनामै प्राप्त यस सफलता र यसको सदुपयोगको रणनीतिबारे गौडेलसँग मिसन टुडेका लागि वीरेन्द्र जैसीले गरेको कुराकानी ।
सर्वप्रथम त यहाँलाई बधाई छ ।
धन्यवाद !
बाँकेका सबै पालिकामा कांग्रेसलाई जिताउँछु भन्नुुहुन्थ्यो । अहिले सातवटा पालिकामा कांग्रेसका प्रतिनिधि नेतृत्वमा पुगेका छन् । कस्तो महसुस भइरहेको छ ?
मलाई अत्यन्त खुसीको अनुभूति भइरहेको छ । बाँकेका कतिपय क्षेत्रमा कांग्रेसको उपस्थिति २०४८ सालयता थिएन । ती क्षेत्रका गाउँपालिका र नगरपालिकामा अहिले कांग्रेसका उम्मेदवारहरुले बहुमतसहितको जित हासिल गर्दा खुसी हुनु स्वभाविक नै हो जस्तो लाग्छ ।
यसमा म बाँके जिल्लावासी सबै आमा बुवा, दाजुभाई, दिदीबहिनी र मतदाताहरुलाई हृदयदेखि धन्यवाद दिन चाहन्छुँ । कृतज्ञता व्यक्त गर्न चाहन्छुँ । यस निर्वाचनले नेपाली कांग्रेस नै मूल पार्टी हो र यसले नै बाँके जिल्लाको समृद्धि र विकासको आकांक्षालाई पूरा गर्न सक्छ भन्ने जनताको धारणा छ भन्ने प्रमाणित गरेको छ ।
कुनै पालिकामा प्राप्त जित सकसपूर्ण वा अनपेक्षित थियो ?
हाम्रो बहुदल आइसकेपछि अहिलेसम्म हामीले बाँकेमा कहिले पनि जित हासिल गर्न नसकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका क्षेत्र हो । यी दुई पालिकामा प्राप्त जित महŒवपूर्ण छ हाम्रा लागि ।
म जिल्ला सभापति हुँदै गर्दा मैले भनेको थिएँ कि म जिल्ला सभापति भइसकेपश्चात कांग्रेसलाई बाँके जिल्लामा ठूलो पार्टी बनाउने । चारतारे झण्डा र रुख फर्फराउने मेरो सपना थियो । त्योअनुरुप मेरो नेतृत्वमा चुनाव भयो । त्यहाँ हामीले पहिले सफलता पाएका छौं ।
यस जितमा गठबन्धनको भूमिका कति र तपाईंहरुको रणनीति या लोकप्रियताको भूमिका कति ?
गठबन्धनको भूमिका खासमा छैन । कांग्रेसले यसपटक एक्लै लडे पनि यति नतिजा प्राप्त गर्न सक्थ्यो । तपाईं हेर्न सक्नुहुन्छ कांग्रेसले जितेका बहुमत पालिकाहरु एक्लै लडेर जितेको छ । सबै पालिकामा कांग्रेसले जित्ने सामथ्र्य राख्थ्यो भन्ने मतपरिणाम हेरेर पनि बुझ्न सकिन्छ ।
खजुरा गाउँपालिका र नेपालगन्जमा हामीले केन्द्रीय परिपत्रअनुसार गठबन्धन गरेका थियौं । गठबन्धन पनि पूर्णतया सफल भएको छ । अर्काे हामीले टिकट दिँदा गाउँपालिका र नगरपालिका हाँक्न सक्ने विश्लेषण गरेर नै उम्मेदवार छनोट गरेका थियौं ।
त्यसको पनि एउटा प्रतिफल हो । कांग्रेसको लोकप्रियताभन्दा पनि तपाईंहरुको विपक्षी पार्टी एमालेप्रतिको असन्तुष्टि अहिलेको परिणाम हो भन्ने विश्लेषण पनि भइरहेको छ नि ।
एमालेप्रतिको असन्तुष्टि पनि एक कारण हो । एमाले जनताको सेवक बन्न सकेन । शासक बन्यो । सुशासन दिन सकेन । त्यसले गर्दाखेरि कांग्रेसप्रति फेरि मतदाताहरुले विश्वास गरे । हामीले पहिले नेतृत्व गर्दै आएका पालिकाहरुमा फेरि जित हाँसिल गर्नुले पनि जनताले हामीप्रति विश्वास गरेका छन् भन्ने देखाउँछ ।
तपाईंहरुको उपस्थिति पालिकाको नेतृत्वमा भन्दा वडाहरुमा कमजोर भयो नि । यस्तो किन भयो ?
यो एकदमै सान्दर्भिक प्रश्न हो । कतिपय वडामा टिकट दिने क्रममा हामी चुकेका छौं । हामीले राम्रो निर्णय गर्न सकेनौं । त्यसमा हामी अलिकति पछाडि परेकै हो । योभन्दा अझ राम्रो नतिजा आउन सक्थ्यो ।
तर केही न केही कमीकमजोरी भएका कारणले गर्दाखेरि वडामा हाम्रो नेतृत्व कतिपय ठाउँमा आउन सकेन । यो पनि अब भोलिका लागि सिकाई हुन्छ । को मान्छे कहाँ राख्दा उपयुक्त हुन्छ भन्ने कुरो ख्याल नगर्दा त्यसले राम्रो परिणाम दिँदैन भन्ने हामीले बुझिसकेका छौं ।
अघि तपाईंले एमाले जनताको सेवक बन्न सकेन भन्नुभयो । यो आरोप त कांग्रेसप्रति पनि छ । अब कसरी यस आरोपलाई गलत साबित गर्नुहुन्छ ?
मेरो अबको एकमात्र संकल्प के छ भने, हुन त यसलाई हामी कांग्रेसबाट जितेका सबै जनप्रतिनिधिहरुलाई एक ठाउँमा बोलाएर निर्देशन पनि दिन्छौं । नेपाली कांग्रेस बाँकेको र मेरो व्यक्तिगत धारणा के छ भन्दाखेरि सबैभन्दा पहिले त जितेका जनप्रतिनिधिहरु शासक होइन सेवक हुनुपर्छ ।
यो कुरालाई हामीले पहिलो प्राथमिकतामा राखेर सेवक भएर काम गर्नेतिर लाग्न निर्देशन दिनेछौं । एउटा पार्टीबाट चुनाव जिते पनि जितिसकेपछि सबै जनताको सेवक हुन्छ जनप्रतिनिधि । कुनै विभेद गर्न पाइँदैन । सबैलाई न्याय दिने काम गर्नुपर्छ । यही किसिमको सुझाव सल्लाह पनि जनप्रतिनिधिहरुलाई दिन्छौं ।
सुशासन भएन भने त्यसले प्रतिफल दिन सक्दैन । सुशासनका लागि हामीले जोड दिएका छौं । अब पाँच वर्षपछि कांग्रेसलाई कसैले पनि रोक्न नसक्ने र अहिलेको भन्दा पनि राम्रो जनमतका साथ काम गर्ने अवसर पाउने स्थितिमा अहिलेका जनप्रतिनिधिले पु¥याउनुपर्छ । कुनै पनि गल्ती भए भने हामीले त्यसविरुद्ध कठोर कदम पनि चाल्न सक्छौं । यो कुरा मैले यहाँमार्फत पनि भने र यसलाई गरेर पनि देखाउँछु ।
केन्द्र, प्रदेश, जिल्ला र स्थानीय तहस्तरका गरी विभिन्न चुनावी घोषणापत्र कांग्रेसले जारी गरेको थियो । पाँच वर्षपछि ती घोषणापत्रको आधारमै तपाईंहरुलाई मूल्यांकन गर्ने स्थिति आउँछ ?
मलाई लाग्छ हामीले माथिदेखि तलसम्म त्यहाँको स्थानीय आवश्यकताका आधारमा विकासका मुद्दाहरु समेटेर घोषणापत्र बनायौं । यसले हामीलाई के काम गर्ने हो भन्ने स्पष्ट खाका दिएको छ । जनप्रतिनिधिहरुले घोषणापत्रलाई नै आधार मानेर योजनाहरु बनाउनुपर्छ । यसका अलावा जनताले छानेका विकासका योजनाहरु पनि उनीहरुका प्राथमिकतामा पर्नुपर्छ ।
बजेट पनि त्यहीअनुसार बन्नुपर्छ । यदि त्यसो भएन भने मिडिया र बुद्धिजीवीहरुले पनि हामीलाई घचघच्याउनुपर्छ । कतिपयले मिडियाबाट प्रशंसामात्रै सुन्न चाहन्छन् । म त्यसमा विश्वास गर्दिनँ । स्वस्थ आलोचना गरेर तपाईंहरुले हामीलाई सच्चिन खबरदारी पनि गर्नुपर्छ ।
कांग्रेसबाट जितेका अधिकांश जनप्रतिनिधि अनुभवका हिसाबले नयाँ हुनुहुन्छ । जनताको विश्वास पूरा गर्न सक्नुहोला ?
हामीले त्यसलाई मध्यनजर गरेरै टिकट दिएका छौं । सबैजना संघर्ष गरेर आएका, राजनीतिमा खारिएका, पढेलेखेका र स्पष्ट भिजन भएका व्यक्तिहरुलाई छानेर जनतासमक्ष पठाएका थियौं ।
सबैलाई जनताले अनुमोदन पनि गरेका छन् । मतदाताहरु वास्तवमा अब व्यक्तिलाई मूल्यांकन गरेर पनि मत दिने चेतनास्तरमा पुगिसकेका छन् भन्ने पनि यस निर्वाचनले देखाएको छ ।
कार्यपालिकाहरुमा अल्पमतमा पर्दा हुने अप्ठ्यारोलाई कसरी चिर्नुपर्ला ?
होइन मलाई त अप्ठ्यारो पर्छ जस्तो नै लाग्दैन । गलत काम गर्नलाई बहुमत जुटाउनुपर्ने हो । राम्रो काम गर्नलाई त सबैले समर्थन गरिहाल्छन् नि । राम्रो काम गर्दा साथ नपाइने भन्ने कुरै हुँदैन ।
एउटा कुरा के मा ख्याल गर्नुप¥यो भने पारदर्शी हुनुप¥यो । जनतालाई प्रष्ट जानकारी दिनुप¥यो । मिडियाहरुलाई यथार्थ अवगत गराउनुप¥यो । सबै छर्लंग भए पनि त विरोध गर्नेले पनि समर्थन गरिहाल्छ नि ।
विशेषगरि नेपालगन्जमा अब कांग्रेस जसपाको दबदबामा प¥यो भन्ने पनि टिप्पणी भइरहेको छ । यसलाई कसरी लिनुभएको छ ?
त्यस्तो केही पनि होइन । जसपाले पहिले त नेपालगन्जमा गठबन्धन नै गर्दिन भनेर बाहिरिएको हो । केन्द्रबाट प्रमुख र उपप्रमुखमा गठबन्धन गरियो । वडामा गठबन्धन हुन सकेन । गठबन्धन नभए पनि कांग्रेसले जित हासिल गर्न सक्थ्यो ।
हामी ढुक्क थियौं र तयारी पनि त्यहीअनुसार थियो । गठबन्धन भइसकेपछि सबै पार्टीको सहअस्तित्व स्वीकारेर हिँड्दाखेरि कतिपय ठाउँमा कमीकमजोरी हुन्छन् । तर कसैको दबदबामा नेपाली कांग्रेस पर्ने पार्टी नै होइन । पर्न पनि पर्दैन ।
जिल्ला समन्वय समितिमा पनि कांग्रेसको दाबी हो अब ?
स्वभाविकरुपले हो । कांग्रेसभन्दा अर्काे विकल्प छैन । तर बहुमत हुँदैमा सबै कुरो हुन्छ भन्ने छैन ।
कार्यपालिकाहरुमा सहकार्यको कस्तो स्थिति बन्छ त्यसअनुसार छलफल हुने कुरा अर्कै भयो । तर अहिलेसम्म हेर्दा जिल्ला समन्वय समितिको संयोजकमा पनि कांग्रेसकै प्रतिनिधि हुनुपर्छ ।
अन्तमा के भन्न चाहनुहुन्छ ?
सबै बाँकेवासी महानुभावहरुलाई नेपाली कांग्रेसप्रति आस्था, सदभाव र माया दर्शाइदिनुभएकोमा हार्दिक धन्यवाद र कृतज्ञता व्यक्त गर्न चाहन्छुँ । आगामी दिनमा पनि यस्तैखालको किसिमले माया गर्न आग्रह गर्दछुँ ।
नेपाली कांग्रेस पार्टी र हाम्रो पार्टीबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुबाट कुनै किसिमको गल्ती भएमा घचघच्याएर सच्चिने मौका दिनुहुन पनि अनुरोध गर्न चाहन्छुँ ।









प्रतिक्रिया दिनुहोस्