नेपालगन्ज ।
कारागारमा एउटा व्यक्तिको सजाय अर्कै व्यक्तिबाट भुक्तान गरिएको खुल्न आएको छ । उक्त रहस्य पनि फसाइएका व्यक्तिको कारागारमै शंकास्पद मृत्यु भएपछि खुल्न आएको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २ स्थित दैलेखी बंगालाका सुन्दर हरिजन (चमार)लाई विजयविक्रम शाह नाम गरेका व्यक्तिको सजाय भुक्तान गर्न लगाइएको पाइएको हो ।
नेपालगन्ज कारागारबाट परिवारलाई थाहै नदिई रोल्पा कारागार पु¥याइएका हरिजनको केही दिनअघि कारागारमै शंकास्पद मृत्यु भएपछि नेपालगन्ज कारागारका कर्मचारीले गरेको बदमासी खुल्न आएको हो । प्रहरीले सुन्दरको शव रोल्पा कारागारको शौचालयमा देखेपछि परिवारलाई फोन गरेर ‘विजयविक्रम शाहले आत्महत्या गरेका छन् ।
शव बुझ्न आउनुहोला’ भनेर खबर गरेको थियो । परिवार विजय आफूहरुको मान्छे नभएको बताएपछि पहरीले सुन्दरको झुण्डिएको अवस्थाको फोटो पठाएको थियो । त्यसपछि सुन्दरका दाई रोल्पा पुगेर शव बुझ्दा पुर्जामा पनि विजयविक्रम नाम नै उल्लेख गरिएको पाइएपछि उनले आशंका गरे र आफ्नो भाईको नाम सुन्दर भएको भन्दै सच्याउन लगाए ।
कारागारले पनि नाम सच्याएर शव बुझेको पुर्जा बनायो । अहिले सुन्दरको शव नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा राखिएको छ । परिवारले सुन्दरलाई विजयविक्रम केसीको सजायमा झुक्याएर फसाएको आरोप लगाउँदै शवको सदगत गर्न मानिरहेका छैनन् ।
फसाइएको आशंकाका आधार
सुन्दर २०७६ साल भदौ १९ गते चोरी गरेको आरोपमा पक्राउ परेका थिए । परिवारका अनुसार उनी त्यतिबेला १६ वर्षका थिए । उनको जन्मदर्तामा पनि त्यतिबेला उमेर १६ वर्षको रहेको देखिन्छ । प्रहरीले चोरीको अभियोगमा पक्राउ गरी नाबालकमाथि नकवजनी चोरीलगायतका मुद्दा चलाएको थियो ।
त्यसपछि बाँके जिल्ला अदालतले सुन्दरमाथि एउटा मुद्दामा एक वर्ष कैद र १० हजार जरिवाना तथा अर्कोमा तीन महिना कैद र ५० हजार जरिवानाको फैसला ग¥यो । र कारागार पठाउन अदालतले कारागारमा राख्न कैदी पुर्जी पनि जारी ग¥यो । जबकि नाबालकलाई कारागार नभइ सुधारगृहमा पठाउनुपर्ने हुन्छ ।
अर्काेतिर अदालतको फैसलाअनुसार जरिवाना बुझाएमा सुन्दर २०७७ पुस २३ गते र जरिवाना बुझाउन नसके २०७८ असार १० गते जेलमुक्त हुने निश्चित थियो । तर, सुन्दरलाई २०७७ मंसिर ८ गते उनको अचानक रोल्पा कारागार सरुवा गरियो । त्यसबारे परिवारलाई नै जानकारी दिइएन । उनी रोल्पा पुगेपछि मात्रै परिवारले थाहा पायो ।
नेपालगन्जमा रहँदा पनि सुन्दरलाई भेट्न नदिइएको उनकी आमा राधा हरिजन बताउँछिन् । त्यतिबेला नेपालगन्ज कारागार प्रशासनले सुन्दर र विजय विक्रमसहित पाँचजनालाई रोल्पा सरुवा ग¥यो । तर, रोल्पा कारागार प्रशासनले सुन्दरलाई जेलमै राखेर उनको नाममा विजयविक्रमलाई छाडेको परिवारको आशंका छ ।
‘सुन्दरलाई रोल्पामा मेरो आफन्त छन् । त्यसैले उतै सरुवा गरिदिनुस् भनेर सहीछाप गर्न लगाएर उता सरुवा गरिएको हामीलाई बताइएको छ । कोही आफन्तै नभएको ठाउँमा कसरी सरुवा गरियो । सजाय काटेर मुक्त भइसक्नुपर्ने मान्छे अहिले कसरी एक्कासी मृत्यु भयो ?’ मृतका दाइ राजकुमारले भने ।
मृतकका परिवारले कर्मचारीको मिलेमतोमा सुन्दरलाई अर्काको नाममा जेलमा राख्ने काम गरेको र मृत्यु हुनुमा पनि कसैको संलग्नता रहेको आरोप लगाएका छन् । कारागार प्रशासनका अनुसार विजयविक्रम अहिले कारागारमा छैनन् ।
प्रकरणबारे छानबिन समिति फिल्डमा
यस विषयमा छानबिन गर्न कारागार व्यवस्थापन विभागले निर्देशक झरेन्द्र चापागाईको संयोजकत्व छानबिन समिति बनाएको छ । संयोजक चापागाईंसहितको टोली अहिले रोल्पामा पुगेर छानबिन गरिरहेको छ ।
चापागाईंले स्थलगत अध्ययन र त्यहाँका प्रत्यक्षदर्शीका भनाइलाई आधार मान्ने हो भने हत्याका प्रमाणहरु नभेटिएको बताए । तर उनी किन तोकिएको समयभन्दा बढी कारागार बसे भन्ने अध्ययनको क्रममै रहेको उनको भनाइ छ ।
सुन्दरको सरुवा गर्ने नेपालगन्ज कारागारका तत्कालीन जेलर देवेन्द्र श्रेष्ठ र सुन्दरको नाममा विजयविक्रमलाई जेलमुक्त गर्ने रोल्पा कारागारका कमला घिमिरेको अन्यत्र सरुवा भइसकेको छ । उनीहरुले लापरबाही गरेको भेटिए कारबाही सिफारिस गरिने चापागाईंले बताए । चापागाईंका अनुसार कारागारमा हालसम्म अदालतले दिएको कैदी पुर्जीका आधारमा मानिसहरु रेकर्ड राख्ने गरिन्छ ।
जसमा फोटो पनि हुँदैन न अन्य कुनै प्रमाण खुल्ने कागजात राखिन्छ । यस्तो अवस्थामा सुन्दरले भोगेको जस्तो नियति अरुले पनि भोगेका छन् कि भन्ने आशंका उत्पन्न भएको उनले बताए । अब प्रतिवेदनमा कैदी पहिचानका लागि थप व्यवस्थाको सिफारिस पनि गर्ने उनले बताए ।
कसरी भयो घटना ?
शाह र हरिजन एकैचोटि जेल परेका व्यक्ति हुन् । दुवैजना २०७५ मा एकै दिन जेल परेका थिए । प्रहरी स्रोतका अनुसार शाह आपराधिक लाभ मुद्दामा जेल परेका हुन् भने हरिजन भने चोरीको मुद्दामा जेल परेका थिए ।
हरिजन फरकफरक दुई मुद्दामा जेल परेका हुन् । उनी २०७६ भदौ १९ गतेदेखि हिरासत हुँदै कारागार पुगेका थिए । जिल्ला अदालतको २०७६ माघ २१ को फैसालाले उनलाई एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको थियो । जरिवाना नतिर्दा पनि उनी २०७७ असोज २३ मा जेलमुक्त भइसक्थे ।
पहिलो मुद्दा खेपेलगत्तै उनलाई तीन महिना कैद र ५० हजार रुपैयाँ जरिवानाको अर्को मुद्दा चल्यो । १० र ५० हजार रुपैयाँ धरौटी र एउटा मुद्दामा एक वर्ष र अर्कोमा तीन महिना कैदको फैसला तोकेको थियो । उनी २०७६ भदौ १९ देखि हिरासत हुँदै कारागार पुगेका थिए ।
पहिलो मुद्दाको फैसला २०७६ माघ २१ मा भएको थियो–‘एक वर्ष कैद र १० हजार जरिवाना हुने गरी । यसअनुसार जरिवाना नतिर्दा पनि उनी २०७७ असोज २३ मा जेलमुक्त हुन्थे । तर, लगत्तै उनमाथि दोस्रो मुद्दा चल्यो ।
२०७५ फागुन १२ को फैसलाबमोजिम उनले तीन महिना कैद र ५० हजार जरिवाना तिर्नुपथ्र्यो । पहिलो मुद्दाबाट निस्केपछि उनलाई २०७७ असोज २३ देखि दोस्रो मुद्दामा राखियो । पुस २३ मा उनको दोस्रो मुद्दाको पनि कैद सजाय भुक्तान भइसक्थ्यो ।
जरिवाना नतिर्दा पनि उनी २०७८ असार १० मै छुटिसक्थे । तर, चोरी कमजोर मुद्दा हो । यस्ता मुद्दामा ५० प्रतिशत कैद भुक्तानी गरे असल चालचलनका आधारमा बाँकी सजाय छुट पनि हुन्छ ।
तर, जरिवानासमेत गर्दा पनि गत वर्ष नै भुक्तान भइसकेको सजायमा उनी निरन्तर जेलमा थिए । किनकि आफ्नो नाममा नभई उनी शाहको नाममा जेल बसेका थिए । शाहलाई पाँच वर्ष कैद सजाय भएको थियो ।
शाह भने हरिजन बनेर दुई वर्षअघि नै जेलमुक्त भए । सुन्दरका दाई राजकुमारका अनुसार भाईलाई तोकिएको जरिवानाबारे परिवारलाई थाहा थिएन । उनी भन्छन्, ‘त्यति जरिवाना छ भन्ने थाहा भएको भए त ऋणधन गरेर भए पनि तिरिहाल्थेँ नि !’









प्रतिक्रिया दिनुहोस्