प्रहरी संरक्षणमा नेपालगन्जमा ‘गुण्डाराज’ (भिडियो)



अपहरणशैलीमा विक्कीलाई मार्ने उद्देश्यले राप्तीपारि लिएको भन्ने बुझिएको छ । उक्त कुरा प्रहरीसमक्ष पुगेको भन्ने जानकारी पाएपछि विक्कीलाई ति युवाहरुले नेपालगन्ज ल्याएर छाडेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विक्कीलाई कुटपिट गरेर नेपालगन्जमा छाडिएको थियो । यस घटनाले के पुष्टि गर्छ भने, ‘नेपालगन्जमा गुण्डाराज कायमै छ ।’

कृष्ण ओली ।  बाँके । 

बिहीबार बिहान करिब २ः३० बजे । नेपालगन्जस्थित स्टार लाइट होटेलमा सञ्चालित क्यासिनो लक्की स्टार रङ्गमय थियो । जुवा जितेका र हारेका रंगिँदै जुवाको रापमा थिए । रङ्गमय बनेको क्यासिनो एकाएक तरंगीत बन्यो । कारण थियो, ‘क्यासिनो भित्रैबाट एक व्यक्तिलाई कुटपिट गर्दै अपहरणशैलीमा नियन्त्रणमा लिनु ।’ उक्त क्यासिनोमा स्थिति तरंगीत पार्दै सुरेश कुर्मी जबरजस्ती भित्र पस्छन् ।

भित्र गएको २६ सेकेण्डमा भारतीय नागरिक विक्कीलाई हात समाएर बाहिर ल्याउँछन् । उसै पनि क्यासिनोमा नेपालीलाई प्रवेश दिइएको छैन । तर, नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा सुरेश जबरजस्ती प्रवेश गर्छन् । बाहिर ल्याइएका विक्कीलाई क्यासिनोको अगाडि उभ्याउँछन् र ति युवाहरुले हिर्काउँछन् । त्यो दृष्य सीसी क्यामेरामा कैद भएको छ ।

उक्त भिडियो मिसन टुडेलाई प्राप्त भएको छ । भिडियोमा देखिएको दृष्यअनुसार एकैछिनमा विक्कीमाथि हातपात हुन्छ । सुरेश कुर्मी, पंकज श्रीवास्तव, अनुराग साह, अश्विनी सिंह, अंशुमान सिंहलगायत व्यक्तिले उनलाई कुटपिट गर्छन् । कुर्मी र साह नेपाली हुन् । यो सबै परिदृष्य क्यासिनोको सुरक्षार्थ खटिएका सुरक्षा गार्डलगायत अन्यले व्यक्ति नियाली रहन्छन् ।

कुटपिटकै क्रममा विक्कीले घाँटीमा सुनको सिक्रीसमेत लगाएको देखिन्छ । ति युवाहरुले उनको सिक्री तानेको दृष्य क्यामेरामा देखिन्छ । त्यसपछि उनलाई जबरजस्ती ति युवाहरुले भारतीय नम्बर प्लेट भएको डीएल२सीएएक्स७८७८ नम्बरको गाडीमा हाल्छन् र अपहरणशैलीमा लिन्छन् ।

यति हुँदासम्म यहाँ अरु व्यक्तिहरु पनि देखिन्छन् । अपहरणशैलीमा विक्कीलाई मार्ने उद्देश्यले राप्तीपारि लिएको भन्ने बुझिएको छ । उक्त कुरा प्रहरीसमक्ष पुगेको भन्ने जानकारी पाएपछि विक्कीलाई ति युवाहरुले नेपालगन्ज ल्याएर छाडेको स्रोतले जनाएको छ । स्रोतका अनुसार विक्कीलाई कुटपिट गरेर नेपालगन्जमा छाडिएको थियो । यस घटनाले के पुष्टि गर्छ भने, ‘नेपालगन्जमा गुण्डाराज कायमै छ ।’ यदी गुण्डागर्दी छैन भने नेपालगन्जमा यस्ताखालका घटनाहरु पटकपटक किन दोहोरिन्छन् त ?

खुला सीमा नाकाका कारण पनि नेपालगन्जलगायत कोहलपुर, खजुरा क्षेत्रमा गुण्डाहरुले आतंक मच्याइरहेका छन् । सुरक्षा निकायले मौनताबाहेक अरु कदम चाल्नै सक्दैन । बजारमा चलेको हल्ला मान्ने हो भने, ‘प्रहरीकै संरक्षणमा गुण्डागर्दी चल्छ ।’ तर प्रहरी यस्तोखाले हल्लामा सत्यता नभएको दाबी गर्छ । बजारको हल्लालाई पृष्टि गर्नेगरी गत वर्ष एउटा तस्विर सार्वजनिक भएको थियो । उक्त तस्विरमा क्यासिनो एजेन्टले बाँकेका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीलाई मदिरा र मोबाइल उपहार दिएको देखिन्छ । यस्ताखाले तस्विरले आरोपलाई पुष्टि नगरे पनि हल्लालाई बलियो बनाइ दिन्छन् ।

बाँकेको मुटु मानिने नेपालगन्जमै यसरी अपराधिक मानसिकताले अपहरणशैली प्रस्तुत हुँदा प्रहरीले आफ्नो जिम्मेवारी निर्वाह गर्न सकेको देखिँदैन । क्यासिनो लक्की स्टार स्रोतका अनुसार उक्त दिन घटना भएको हो । ‘भित्र क्यासिनो चल्दै गर्दा बाहिरबाट आएको समूहले एकजनालाई समातेर बाहिर ल्याएका हुन्,’ उक्त क्यासिनो स्रोतले भन्यो, ‘उनीहरुको पुरानो व्यक्तिगत रीसइबीका कारण यसरी घटना भएको हो ।’ स्रोतका अनुसार उक्त घटना प्रहरीसम्म पुग्यो । तर प्रहरीमा मिलापत्र मात्र भयो ।

प्रहरीमा मिलापत्र भएको कुरा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता (डिएसपी) मधुसुदन न्यापानेले पुष्टि गरे । ‘दुवै समूह प्रहरीमा आएका थिए,’ उनले भने, ‘उनीहरुले एकअर्कामा माफी मागे र मिलापत्र गर्ने भनेपछि मिलापत्र गरेर गए ।’ तर, प्रहरीसमक्ष गरिएको मिलापत्रको कागज भने जिल्ला प्रहरी कार्यालयमा भेटिएन ।

प्रहरीका अनुसार विक्की र ति युवाहरुको समूहबीच पुरानो रीसइबी थियो । त्यही कारणले उक्त अवस्था सिर्जना भएको हो । पीडित भनिएका व्यक्तिले नै उजुरी नदिँदा प्रहरीले कानुन प्रक्रिया अगाडि बढाउन नसकेको प्रवक्ता न्यौपानले बताए । ‘पीडित भनिएकै व्यक्तिले मिलापत्र गर्ने भन्नुभयो,’ उनले भने, ‘प्रहरीले सोहीअनुसार ग¥यो । मिलापत्र भए पनि पुनः उजुरी आए यस विषयलाई कानुनी प्रक्रियामा लिन्छौं ।’

क्यासिनोमा सामान्यखालका झैझगडा नौलो नहुने क्यासिनो लक्की स्टार स्रोतले बतायो । ‘क्यासिनोमा झैझगडा भन्ने सामान्य हो,’ स्रोतले भन्यो, ‘सँगै काँध मिलाएर आएका हुन्छन् । जुवा कसैले जित्छ र कसैले हार्छ । अनि जाँदा दुवैजना झगडा गर्दै निस्किन्छन् ।’ जानकाहरूका अनुसार गुण्डाहरूमार्फत हुने ८५ प्रतिशत काममा कुनै न कुनै प्रहरीको प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग हुने गरेको छ ।

पूर्वडिआइजी पूर्व डिआइजी केशव अधिकारी भन्छन्, ‘कुनै कुनै घटनामा प्रहरीको संलग्नता अवश्य भेटिएको छ । संलग्नलाई कारबाही पनि भएको छ । संगठनको केही विभागीय स्वार्थ रहन्छ । उनीहरूसँग सूचना हुन्छ, त्यसका लागि प्रयोग गरिन्छ ।’ पूर्वडिआइजी अधिकारीका अनुसार नाम कहलिएका गुण्डा तथा गुण्डा नाइकेहरूलाई कुनै न कुनै रूपमा राजनीतिक संरक्षण छ । कुनै पनि राजनीतिक दल यसबाट अलग छैन ।

अपराधिक मुद्दामा थुनामा परे पनि कतिपय गुण्डाहरूको कनेक्सनबारे दलका नेताहरू मात्र होइन प्रहरीका उच्च अधिकृतसमेत बोल्न चाहँदैनन् । स्रोतका अनुसार छहारी दिने दलका नेता मात्र होइन प्रहरी र मुद्दामा आफ्नोतर्फबाट बहस गर्ने कानुन व्यवसायीलाई समेत गुण्डाहरूले आर्थिक सहयोग गरेका छन् । स्रोतका अनुसार ठेक्कापट्टाको कमिसन नै गुण्डानाइके र आसेपासेहरूको मुख्य आयस्रोत हो ।

यस अतिरिक्त अवैधरूपले सञ्चालन भएका बालुवा खानी, क्रसर उद्योग, ढुंगाखानी, निर्माणाधीन हाइड्रो पावरलगायतमा सुरक्षाका नाममा गुण्डाहरूले हप्ता असुली गर्दै आएका छन् । मिटर ब्याजमा पैसा लगाउने, उठाउने, कागज गराउने, चेक कटाउने जस्ता काममा समेत गुण्डागर्दी देखिएको छ । ‘कानुनी राजमा गुण्डाराज हुनु ठीक होइन, गुण्डागर्दीले न यसमा लाग्नेहरूको भलो गर्छ न अरूको,’ उनले भने, ‘गुण्डागर्दी नियन्त्रणका लागि नियमनकारी निकाय निर्मम बन्नै पर्छ ।’

क्यासिनोमा जुवा खेलिरहेका भारतीय नागरिकलाई अपहरणशैलीमा कब्जामा लिदैं गरेको भिडियो:

नेपाली र भारतीय गुण्डाको समूह कसरी आए र गए

गत बिहीबार बिहान डीएल२सीएएक्स७८७८ नम्बरको भारतीय नम्बर प्लेटको सेतो गाडी कारकाँदोस्थित स्टार लाइट होटेलमा सञ्चालित क्यासिनो लक्की स्टार परिसरमा आएर रोकिन्छ । तिव्र गतिमा क्यासिनो परिसरमा आएको गाडीबाट क्रमशः पाँचजना युवा ओर्लिछन् ।

एकैछिन उनीहरु यताउति गर्छन् । ति युवाहरुले अस्वभाविक व्यवहार देखाएपछि कालो ड्रेस लगाएका क्यासिनोका एक कर्मचारीका पछि लाग्छन् । केहीबेरमा पाँचमध्ये तीनजना युवा क्यासिनो प्रवेश गर्ने मुख्य गेटमा पुग्छन् । उनीहरु जबरजस्तीभित्र प्रवेश गर्न खोजे पनि त्यहाँ खटिएका सुरक्षागार्डले भित्र प्रवेश गर्न दिँदंनन् ।

गार्डले भित्र प्रवेश गर्न नदिएपछि एक युवकले छेउमै रहेको एउटा लट्ठी उठाएर नचाउँछन् । केहीबेरमा लट्ठी उठाएका युवक जबरजस्ती गुण्डागर्दीशैलीमा क्यासिनोभित्र प्रवेश गर्छन् । ती युवकले क्यासिनो खेल्दै गरेका एक व्यक्तिलाई समातेर बाहिर जबरजस्ती ल्याउँछन् । बाहिर ल्याएलगत्तै अन्य युवाले उनीमाथि कुटपिट गर्न थाल्छन् ।

केहीबेर त्यही कुटपिट गरे पनि उनीहरुको समूहले कुटपिट गर्दै उनीलाई गाडीतर्फ लैजान्छ । कुटपिट गर्दै क्यासिनो खेलिरहेका युवालाई अपहरणशैलीमा गाडीतर्फ लैजान खोजेपछि त्यहाँ रहेका गार्डले रोक्न खोज्छन् ।

रोक्न खोज्ने गार्डलाई पाँचजनामध्येका एक युवाले केही गरे राम्रो नहुने धम्की दिन्छन् । घाँटी समातेर गाडीसम्म पु¥याइएका युवालाई उनीहरुले जबरजस्ती अपहरणशैलीमा भारतीय नम्बरको गाडीमा हालेर त्यहाँबाट तिव्र गतिमा भाग्छन् ।

प्रकाशित मिति : २०७९ जेठ ९ गते सोमबार