जनताले अहिले रहेका अधिकांश वडाध्यक्षहरुको विकल्प खोजेको देखिएको छ । यसले जनतामा रहेको असन्तुष्टिको झिनो भए पनि प्रस्फुटन गरेको राजनीतिक विश्लेषकहरुको भनाइ छ ।
अर्काेतिर वडामा पहिलेभन्दा फरक पार्टीको नेतृत्व चुन्दा मतदाताले व्यक्ति हेरेर मत दिएका पाइएको छ ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
कतिपयले के टिप्पणी गर्छन् भने, यसपटक गठबन्धनका कारण स्थानीय तहमा दलहरुको असली परीक्षा हुन पाएन । उनीहरुको असली परीक्षा त वडामा भइरहेको छ । मंगलबार यो समाचार तयार पार्दासम्म बाँकेका आठवटा स्थानीय तहका ८१ वडामध्ये ४२ वटा वडाको अन्तिम परिणाम सार्वजनिक भएको छ ।
ती ४२ वडामध्ये २२ वटा वडामा पहिले जितेका पार्टीहरुले हार ब्यहोरेका छन् भने नयाँ पार्टीबाट वडाध्यक्ष चुनिएका छन् । यसरी हेर्दा जनताले अहिले रहेका अधिकांश वडाध्यक्षहरुको विकल्प खोजेको देखिएको छ ।
यसले जनतामा रहेको असन्तुष्टिको झिनो भए पनि प्रस्फुटन गरेको राजनीतिक विश्लेषकहरुको भनाइ छ । अर्काेतिर वडामा पहिलेभन्दा फरक पार्टीको नेतृत्व चुन्दा मतदाताले व्यक्ति हेरेर मत दिएका पाइएको छ ।
४० वटा वडाको परिणाम सार्वजनिक हुँदा सबैभन्दा बढी वडा एमालेले जितेको छ । एमालेले १३ वटा वडामा जित हासिल गर्दा माओवादी केन्द्रले ११, नेपाली कांग्रेस नौवटा, जनता समाजवादी पार्टी (जसपा)ले ६ र राप्रपाका उम्मेदवारले तीनवटा वडा जितेका छन् ।
यति वडाको नेतृत्वको टुंगो लाग्दा कांग्रेसले चार ठाउँमा पहिले अरु जितेको ठाउँमा जित हासिल गर्दा पहिले आफूले जितेका आठवटा वडा गुमाएको छ । यसैगरी एमालेले पहिले अरुले जितेका सातवटा वडामा अरुलाई हराउँदा ६ वडामा आफ्नो नेतृत्व गुमाएको छ ।
माओवादीले ६ वडामा अरुलाई हराएर आउँदा चारवटा वडा गुमाएको छ भने राप्रपाले दुईवटा वडामा पकड गुमाउँदा दुईवटा नयाँ वडामा जित हासिल गरेको छ । यसअघि मधेसी जनअधिकार फोरमको रुपमा रहेको जसपाले पहिले अरु जितेका तीनवटा वडा हात पार्दा आफ्ना दुईवटा वडाको नेतृत्वमा गुमाएको छ ।
नेपाली कांग्रेले नेपालगन्जमा आफ्नो पकड भएको वडा नम्बर २ गुमायो । त्यहाँ राप्रपाका वडाध्यक्ष चुनिए । यसैगरी कांग्रेसले नेपालगन्जकै २२ लाई पनि गुमायो । जहाँ जसपाका उम्मेदवार अब्दुल गफ्फार हलवाईले जित हात पार्दा वडा नम्बर २३ मा पहिले फोरमबाट निर्वाचित जसपाको वडाध्यक्ष खोसेर कांग्रेसका जबर अलि बेहना निर्वाचित भए ।
यसैगरी एमालेले गुमाएको वडा नम्बर २० मा पनि जसपाका कौशलकुमार धोबीले जित हात पारे । नेपालगन्जमा राप्रपाले वडा नम्बर ४ र ५ गुमायो । त्यहाँ क्रमशः माओवादी र जसपाले नेतृत्व हात पारेका छन् । माओवादीले नेपालगन्जको वडा नम्बर ७ र २१ गुमाउँदा त्यहाँ क्रमशः एमाले र कांग्रेसले जित हात पारे ।
कोहलपुरमा वडा नम्बर १ र २ एमालेबाट क्रमशः माओवादी र कांग्रेसले खोसेका छन् । खजुराको वडा नम्बर १ मा एमालेलाई नपत्याएर मतदाताले कांग्रेसलाई नेतृत्व दिए भने २ र ४ मा एमालेको नेतृत्व मन नपाराएर माओवादीलाई वडाध्यक्ष दिएका छन् । खजुरामै वडा नम्बर ३ मा माओवादीको नेतृत्व खोसेर एमालेलाई दिएका मतदाताले वडा नम्बर ५ मा कांग्रेसको नेतृत्व खोसेर माओवादीलाई दिएका छन् ।
उता डुडुवा ६ मा फोरमको नेतृत्व खासेर बतदाताले एमालेलाई दिएका छन् भने राप्तीसोनारीको वडा नम्बर १, ३, ४, ८ र ९ बाट कांग्रेसको नेतृत्व हटाएर एमालेलाई दिएका छन् । राप्तीसोनारीमा कांग्रेस वडाध्यक्षविहीन बनेको छ । राप्तीसोनारी ६ मा माओवादीको वडाध्यक्षका ठाउँमा राप्रपा लवराज खरेललाई मतदाताले चुनेका छन् ।
पुनः चुनिए यी वडाध्यक्ष
मतदाताले चित्त नबुझेका वडाध्यक्ष र पार्टी बदलेका मात्रै छैनन् । उनीहरुले पहिले राम्रो काम गरेका वडाध्यक्षलाई पुनः चुनेका पछि छन् ।
नेपालगन्जमा वडा नम्बर १ मा एमालेका प्रमोद रिजाल, वडा नम्बर ३ मा माओवादीका मोहम्मद अयुव सिद्धिकी, वडा नम्बर ६ मा एमालेका समीरप्रताप सिंह र वडा नम्बर १९ मा परशराम कुर्मी पुनः दोस्रो कार्यकालका लागि चुनिएका छन् ।
यसैगरी कोहलपुर ३ मा एमालेमा माधव रिजाल, जानकी २ मा माओवादीका चन्द्रिका गुप्ता, डुडुवा १ मा कांग्रेसका पटेश्वरी कुर्मी राप्तीसोनारी ५ र ७ मा क्रमशः माओवादीका झगरु थारु र रामलखन थारु पुनः निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्