दाङ ।
दाङको गढवा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल (विश्वास) निर्वाचित भएका छन् । उनी ६९०९ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् ।
उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार सर्वजित डीसीले ६१६७ मत पाए । २०७४ सालको स्थानीय तह निर्वाचनमा अध्यक्ष निर्वाचित भएका नेकपा एमालेका उम्मेदवार सहजराम यादव भने यसपटकको निर्वाचनमा पराजित भए । यादवले ४१३१ मत पाए ।
उपाध्यक्षमा भने नेपाली कांग्रेसकी उम्मेदवार शारदा चौधरी निर्वाचित भइन् । उनले ५१८१ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी सीता कुमारी चौधरीले ४ हजार ८३० मत पाइन् ।
माओवादी केन्द्रसँग तालमेल गरेर उपाध्यक्षमा प्रतिस्पर्धा गरेकी एकीकृत समाजवादीकी शान्ति चौधरी भने पराजित भइन् । उनले ४११२ मत मात्र पाइन् । उनी २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्ष चुनिएकी थिइन् ।
गढवा गाउँपालिकामा जम्मा ८ वटा वडाहरु हुन् । वडा नम्बर १ मा एमालेका बाबुराम अधिकारी निर्वाचित भए ।
वडा नम्बर २ मा माओवादी केन्द्रका भक्तु चौधरी, वडा नम्बर ३ मा माओवादी केन्द्रका तुलसीराम अधिकारी, वडा नम्बर ४ मा माओवादी केन्द्रका हरिभगत चौधरी, वडा नम्बर ५ मा कांग्रेसका लेखबहादुर थापा, वडा नम्बर ६ मा माओवादीका बीरबहादुर आलेमगर र वडा नम्बर ७ मा कांग्रेसका राहुलदेव चौधरी विजयी भए । भारतसँग सीमा जोडिएको वडा नम्बर ८ कोइलाबास क्षेत्रको अध्यक्षमा भने एमालेका अब्दुल खालिक सिद्दिकी निर्वाचित भएका छन् ।
प्रतिक्रिया दिनुहोस्