जुम्लाको तातोपानी गाउँपालिकामा नेपाली कांग्रेसका चौलागाई विजयी



जुम्ला :  जुम्लाको तातोपानी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नन्द्र प्रसाद चौलागाई विजयी भएका छन् । नेकपा माओवादी केन्द्रका जुम्ला जिल्ला संयोजक वीरबहादुर कुँवरलाई पराजित गर्दै चौलागाई गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा नेकपा माओवादी केन्द्रले जितेको पालिकामा प्रतिद्धन्द्धी कुँवरलाई पाँच सय १४ मतान्तरले पराजित गरे । विजयी चौलागाईंले २ हजार ३ सय २० मत गरे भने कुँवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका थिए ।

यस्तै नेकपा एमालेका अध्यक्षका उम्मेदवार सुरत बहादुर शाहीले एक हजार ५ सय ३८ मत प्राप्त गरेको निर्वाचन कार्यालय तातोपानीले जनाएको छ । यस्तै, गाउँपालिका उपाध्यक्ष तर्फ नेकपा माओवादीकी रेवती रावल विजयी भएकी छन् । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरिन् । भने, उनको निकटतम प्रतिद्वन्दी काङ्ग्रेसकि विन्दु अधिकारीले एक हजार ३ सय १२ मत प्राप्त गरेर पराजित हुन पुगिन् । अध्यक्षमा विजयी भएका चौलागाई नेपाली कांग्रेस जुम्लाका सहसचिव समेत हुन् ।

तातोपानीमा नेपाली कांग्रेसले वडा नम्बर १,३ र ५ मा जित हासिल गरेको छ । नेकपा एमालेले दुई वटा वडा जित्दा नेकपा माओवादी केन्द्रले वडा नम्बर ६ मा मात्रै जित हासिल गरेको छ । एकीकृत समाजवादीले पनि एउटा वडा जितेको छ । यससँगै नेपाली काङ्ग्रेसले हिमा गाउँपालिका, कनकासुन्दरी गाउँपालिका, पातरासी गाउँपालिका र तातोपानी गाउँपालिकामा जित हात पारेको छ ।

प्रकाशित मिति : २०७९ जेठ ३ गते मंगलबार