19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

एमालेले जितेका ४ वडामा बालेन शाहको धक्का

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०७९  

काठमाडौं ।

काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले एमाले र काँग्रेसका उम्मेदवारलाई लगातार पछि पार्न थालेपछि देशभरिका मतदातामा चासो बढेको छ, के बालेनले चुनाव जित्लान् ? एमालेका केशव स्थापित र कांग्रेसकी सिर्जना सिंहको ‘पोजिसन’ कस्तो होला ?

कुल ३२ वटा वडा रहेको काठमाडौं महानगरपालिकामा चारवटा वडाको मात्रै मतगणना भइरहेको छ । ती वडाको गणना पनि सकिइरहेको छैन । यो स्थितिमा बालेन शाह, एमाले र कांग्रेसले अहिले ल्याइरहेको पोजिसनमा तलमाथि नपर्ला भन्न सकिँदैन ।

यहाँ हामीले हाल गणना भइरहेका चारवटा वडाको सामान्य विश्लेषण गर्ने प्रयास गरेका छौं । अहिलेसम्म जुन वडामा मतगणना भइरहेका छन्, ती चारवटै वडाहरु गत ०७४ को स्थानीय चुनावमा एमालेको गढ मानिन्थे । यी वडामा नेपाली काँग्रेस गत स्थानीय चुनावमा फराकिलो अन्तरले एमालेसित हारेको थियो ।

यो आधारमा विश्लेषण गर्दा अहिले बालेन शाहले वडा नम्बर १,३,४ र ३२ नम्बरमा जसरी अग्रता कायम गरिरहेका छन्, यसबाट कांग्रेसलाई भन्दा बढी एमालेलाई धक्का लागेको देखिन्छ ।

अब मतगणना भइरहेका चारवटा वडाको विगतको अवस्था हेरौं ।

२०७४ को स्थानीय चुनावमा काठमाडौंको वडा नम्बर १ मा एमालेका भरतलाल श्रेष्ठले १ हजार ३५ मत ल्याएर जित्दा काँग्रेसले ६३९ मत मात्र पाएको थियो । यहाँ राप्रपाले १८५ मत पाएको थियो भने माओवादीले ५५, संघीय फोरमले २७ र स्वतन्त्रले २० मत पाएका थिए । यसपालि यस वडामा भइरहेको मतगणनामा मेयर पदमा बालेन शाहले एमालेलाई पछि पारिदिएका छन् ।

काठमाडौंको वडा नम्बर ३ मा ०७४ सालको स्थानीय चुनावमा एमाले लोकप्रिय मतका साथ जित निकालेको थियो । यस वडामा एमालेका दीपक केसीले ३०६२ मतका साथ वडाध्यक्ष जितेका थिए । केसी यसपालि एमाले छाडेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीबाट उम्मदेवार बने । यसबाट एमालेलाई धक्का लागेकै थियो, यस वडामा पनि बालेनले अग्रता लिए ।

एमालेले ३ हजार बढी मतले जितेको वडा नं ३ मा ०७३ मा नेपाली कांग्रेसले १ हजार ५४१ मत मात्रै पाएको थियो । यस वडामा माओवादीले ४५२, राप्रपाले ३४८, जनमोर्चाले १० र स्वतन्त्रले १०८ मत पाएका थिए । कांग्रेसको भन्दा दोब्बर मताधार रहेको यस वडामा पनि बालेन शाहले अग्रता लिँदा काँग्रेसलाई कम र एमालेलाई बढी क्षति पुगेको देखिन्छ ।

काठमाडौंको वडा नम्बर ४ मा पनि यसहघि नेकपा एमालेले नै जितेको थियो । यहाँ एमालेका मोहन बहादुर विष्टले ३ हजार ८१३ मत पाएका थिए भने काँग्रेसको मत ३ हजार ४८० थियो ।

यहाँ राप्रपाको ४९१, माओवादीको ३०६, संघीय फोरमको ११४, लोकतान्त्रिक फोरमको ४५ र स्वतन्त्रको ८९ मत खसेको थियो । अर्का स्वतन्त्रले ५ मत पाएका थिए । अहिले एमालेको यो गढमा पनि लौरो पसेको छ । अर्थात्, बालेनले यस वडामा पनि लिड गरेर पूर्वविजेता एमालेलाई धक्का दिएका छन् ।

गत चुनावको आँकडा हेर्दा काठमाडौं वडा नम्बर ३२ नेकपा एमालेको बलियो गढ हो । ०७४ सालमा यस वडाबाट एमालेका नवराज पराजुलीले ५ हजार ८७९ मतका साथ अध्यक्ष जितेका थिए । यहाँ कांग्रेसले ४ हजार १९ मत ल्याएको थियो ।

यस वडामा ०७४ सालमा माओवादीले ७६३, राप्रपाले ६७८, संघीय फोरमले ११९ र स्वतन्त्रले ९२ मत पाएका थिए । अर्का एक स्वतन्त्रले २ मत पाएका थिए । एमालेको यो गढमा पनि बालेन शाहले अग्रता लिइरहेको स्थिति छ ।

यसअघि नेकपा एमालेले जितेका वडाबाट स्वतः विद्यासुन्दर शाक्यको अग्रता कायम भएको थियो । त्यसरी एमालेको अग्रता कायम भएको ठाउँ एमालेले बचाउन नसक्नु भनेको उसमाथि लागेको धक्का हो । अब कांग्रेसको अग्रता लिएका वडाको अवस्था के हुन्छ, त्यो हेर्न बाँकी छ ।

०७४ को चुनावमा काठमाडौंका ३२ मध्ये एमालेले १८ र कांग्रेसले १४ वडा जितेका थिए ।

www.nepalkhabar.com

प्रकाशित मितिः आइतवार, जेष्ठ १, २०७९     10:01:52 AM  |