3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

कोहलपुरको ‘पिपिरी विवाद’को कारण र वास्तविकता के हो ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

कोहलपुर  : स्थानीय तह निर्वाचनको लागि निर्वाचन आयोगले शुक्रबार विहान सात बजेदेखि साँझ पाँच बजेसम्म समय तोकेको थियो । मतदानको क्रममा पाँच बजेभन्दा अगावै मतदान केन्द्रभित्र छिरिसकेका मतदाताले मतदान प्रक्रियामा भाग लिन सक्ने व्यवस्था रहेको छ । आयोगको नियम अनुसार पाँच बजिसकेपछि मतदान केन्द्र भन्दा बाहिर रहेका मतदाताले मतदान प्रक्रियामा भाग लिन पाउँदैनन् । दिनभर शान्तिपूर्ण ढंगले मतदान सम्पन्न भएपनि साँझ पाँच बजेपछि बाँकेको कोहलपुरस्थित पिपिरी मतदान केन्द्रमा विवाद सिर्जना भयो ।

आयोगको नियम अनुसार निर्धारित समयमा मतदान केन्द्रमा नपुगेका मतदाताले गेट बन्द भएपनि मतदान गर्न पाउनुपर्ने माग राखे । त्यहाँका कर्मचारीले आयोगको नियम र निर्देशन अनुसार बाहिर रहेका मतदातालाई भित्र छिर्न दिएनन् । मतदान केन्द्रको गेट बन्द हुँदा केही मतदाता बाहिरै थिए । उनीहरु भित्र जानै पाएनन् । नियम अनुसार नै गेट बन्द गएपछि बाहिर रहेका मतदाताहरुले आफूहरुले मतदान गर्न पाउनुपर्ने भन्दा नाराबाजी गरे । त्यतिबेला सुरक्षाकर्मीको थप गस्ती उक्त स्थानमा गयो । स्थिति नियन्त्रणमा लिनको लागि सुरक्षाकर्मीले लाठी चार्ज गरे ।

उक्त क्रममा केही मतदाता कुटिए । त्यहाँ रहेका अन्य मतदाताले सुरक्षाकर्मीले समेत आफूहरुलाई कुटेको भन्दै हो हल्ला गर्दै नाराजुलुस गर्न थाले । आफूहरुले मतदान गर्न पाउनुपर्छ भन्नेहरुमा राप्रपाका मेयरमा उम्मेदवार प्रदीप शाह समेत थिए । त्यति नै बेला बाहिर रहेका केही मतदाताले मतदान केन्द्र भित्र ढुंगामुढा गरे ।

त्यसक्रममा हुलहुज्जत हुँदा बन्द ढोका खोलेर बाहिर रहेका मतदाता भित्र छिरे । भित्र रहेका मतदाताहरु बाहिर निस्किए । यही विवादमा पाँच वजेदेखि पिपिरी मतदा केन्द्रमा मतदान प्रक्रिया स्थगीत भएको छ । त्यहाँ वडा नम्बर ९ को मतदान प्रक्रिया सकिएको छ । तर, वडा नम्बर ८ को थप मतदान प्रक्रिया बाँकी रहेको छ । कोहलपुरका मतदान अधिकृत तीर्थराज भट्टका अनुसार भित्र ५०–६० जना मतदाता थिए । अहिले भने विवाद समाधान र मतदान प्रक्रिया पुनः सुचारु गर्ने विषयमाा पिपिरीमा सर्वदलीय बैठक बसिरहेको छ ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     8:08:13 PM  |