3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

बाँकेका मन्त्री र सांसदले कहाँ गर्दैछन् मतदान ?

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

स्थानीय तहमा नयाँ जनप्रतिनिधि छनोटको लागि हुन गइरहेको मतदान प्रक्रियामा बाँकेमा बहालवाला संघीयमन्त्री, सांसददेखि प्रदेशमन्त्री हुँदै प्रदेशसभा सदस्य मतदान प्रक्रियामा सहभागी हुँदैछन् ।

बाँकेमा पूर्व संघीय मन्त्रीदेखि बहालवाला प्रदेशमन्त्री र प्रदेशसभा सदस्य र राजनीतिक दलका केन्द्रीय नेतृत्वसमेत गरेर एक दर्जन बढी विशिष्ट व्यक्तिले मतदान गर्ने भएका हुन् । संघीय सरकारका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज (अथक) कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित पिपिरी मतदान केन्द्रमा मतदान प्रक्रियामा सहभागी हुँदैछन् ।

यसैगरी पूर्व सहरी विकासमन्त्री तथा प्रतिनिधिसभा सदस्य मोहम्मद ईश्तियाक राईले नेपालगन्ज–१५ हनुमान आधारभूत विद्यालयको मतदान केन्द्रबाट मतदान प्रक्रियामा सहभागिता जनाउने भएका छन् ।

यसैगरी प्रतिनिधिसभा सदस्य कुमारी सुवेदी पनि कोहलपुर नगरपालिका वडा नम्बर ११ मा मतदान प्रक्रियामा सहभागी हुँदैछिन् भने अर्का प्रतिनिधिसभा सदस्य नन्दलाल रोकाय खजुरा गाउँपालिका वडा नम्बर २ सीतापुरस्थित गुराँसपुर स्कुल मतदान केन्द्रमा भोट हाल्दैछन् ।

यस्तै लुम्बिनी प्रदेशसभाका मन्त्रीदेखि पूर्वमन्त्री र सांसदसमेत मतदानका लागि सम्बन्धित निर्वाचन क्षेत्रमा पुगिसकेका छन् । लुम्बिनी प्रदेशका वन, वातावरण तथा भू–संरक्षणमन्त्री सुरेन्द्र हमालको मतदान केन्द्र नेपालगन्ज–२ पानी ट्यांकी मतदान केन्द्र रहेको छ ।

उनले आफू मतदानको बेग्रप्रतिक्षामा रहेको बताए । यस्तै लुम्बिनीकी पूर्व भूमि व्यवस्था तथा सहकारीमन्त्री आरती पौडेलले कोहलपुर नगरपालिका वडा नम्बर १२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गर्दैछिन् ।

यसैगरी लुम्बिनी प्रदेश सदस्य सदस्य इन्द्रप्रसाद खरेल (आइपी)को मतदान केन्द्र खजुरा गाउँपालिका वडा नम्बर २ ए गाउँमा छ । प्रदेशसभा सदस्य पार्वती पुन (उषा) कोहलपुर नगरपालिका वडा नम्बर ९ पिपिरी मतदान केन्द्र र प्रदेश सदस्य कृष्णा केसी (नमुना) राप्तीसोनारी गाउँपालिका वडा नम्बर ९ बैजनाथपुर मतदान केन्द्रमा मतदानका लागि सहभागी हुँदैछिन् ।

यसैगरी राप्रपाका महामन्त्री तथा नेपालगन्जका निवर्तमान मेयर डा.धवलशमशेर राणा भने नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० वन कार्यालयमा निर्वाचनमा सहभागी हुँदैछन् ।

 

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     7:05:15 AM  |