3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

स्थानीय तह निर्वाचनः वर्षा भए छैन पूर्व तयारी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

कोहलपुर ।

आज वैशाख ३० अर्थात स्थानीय तहमा नयाँ जनप्रतिनिधि छनोटका लागि मतदान गर्ने दिन् । जनताले नयाँ जनप्रतिनिधि छनोट गर्नका लागि उत्साहपूर्वक मतदान गर्दैछन् । २०७२ सालमा नेपालको संविधान जारी भएसँगै नयाँ संघीय संरचनामा २०७४ मा पहिलोपटक असार १४ मा स्थानीय तह निर्वाचन भएको थियो । आज दोस्रोपटक लोकतान्त्रिक प्रक्रियामार्फत नेपाली जनताले प्रतिनिधि चुन्दैछन् ।

यता, जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज साँझ ६ बजेसम्म देशभरि मौसम बदली हुने सम्भावना रहेको छ । शाखाले प्रदेश नम्बर १, मधेस प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रहने जनाएको छ । यसैगरी ती प्रदेशका केही स्थानमा मेघ गर्जन र चटयाङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने कर्णाली, सुदूरपश्चिम तथा लुम्बिनी प्रदेशलगायतका क्षेत्रमा थोरै स्थानहरूमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना छ ।

जल तथा मौसम कार्यालय कोहलपुरका प्रमुख विनोद पराजुली आज दिनभरि पश्चिम तराईमा मौसम सफा नहुने बताउँछन् । उनका अनुसार दिनभरि हुरी, बतास र वर्षाको सम्भावना छ ।

पराजुलीले दिउँसो १ बजेदेखि साँझ साढे ५ बजेसम्म मौसम बदलीको सम्भावना रहेको बताए । उनका अनुसार २८ गतेदेखि दुई दिन लगातार दिउँसो वर्षा भएकोले आज पनि करिब १ देखि डेढ घण्टा वर्षा तथा हुरीबतासको सम्भावना छ । ‘आज मौसम सफा रहँदैन । वर्षाको प्रवल सम्भावना छ,’ उनले भने, ‘मतदान केन्द्रहरुमा यस विषयमा हामीले जानकारी गराइसकेका छौं । मतदाताहरुलाई छिटो मतदान केन्द्रमा जान अनुरोध गछौं ।’

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्री सिंगो देशका जनताले लोकतान्त्रिक अधिकार प्रयोग गर्ने दिन पानी नपरोस् भन्ने सबैको चाहना भएको बताउँछन् । बाँकेलगायतका पश्चिम तराईका जिल्लामा वर्षाको सम्भावना रहेको भन्ने पूर्वानुमान गरिएको हुँदा जिल्लाभरि वैकल्पिक व्यवस्था गर्न सम्बन्धित क्षेत्रमा निर्देशन गरिएको उनले बताए ।

प्रजिअ खत्रीले विशेष परिस्थितिमा मतदाता र मतपेटिकाको सुरक्षा गर्ने व्यवस्था मिलाइएको मिसन टुडेलाई बताए । उनी भन्छन्, ‘ढुक्कले मतदान गर्न जाऔँ । मतपेटिकाको पूर्ण सुरक्षा हुन्छ । बीचमा वर्षा भएमा मतदान केन्द्रमा पालको व्यवस्था गर्न भनेका छौं । छातासमेत पूर्वतयारी अवस्थामा राख्न भनिएको छ ।’ मतदानका क्रममा वर्षा भएको खण्डमा मतदान अधिकृत र सरोकारवाला पक्षको उपस्थितिमा सहज वातावरण सिर्जना गर्ने गरी तयारी गरिरहेको उनको भनाइ छ ।

नरैनापुर गाउँपालिकाका निर्वाचन अधिकृत रेशम आचार्य मतदानको दिन जिल्लाभरि वर्षाको सम्भावना रहेकोले पूर्वतयारी अवस्थामा रहन जानकारी आएको बताए । उनका अनुसार त्यसको लागि पूर्वतयारी त गरिएको छैन । तर मतदान गर्ने क्रममा वर्षा भइहालेमा, हुरी बतास चलेमा एक घण्टाभित्रै वैकल्पिक उपाय निकाल्ने गरी सम्पूर्णलाई निर्देशन गरिएको छ ।

यस्तै जानकी गाउँपालिकाका निर्वाचन अधिकृत बासुदेव शर्माका अनुसार भवन नभएका मतदान केन्द्रमा गाउँपालिकाले त्रिपाल सहयोग गरिसकेको छ । भवन भएको क्षेत्रमा भने अवस्थाअनुसार मतपेटिका सुरक्षा गर्ने बारेमा आफूहरु पूर्वतयारी अवस्थामा रहेको उनको भनाइ छ । जिल्ला निर्वाचन अधिकारी रमा पन्तले पनि ढुक्कले मतदान प्रक्रियामा भाग लिन र वर्षाको डर नमान्न र सतर्कता अपनाउन आग्रह गरेकी छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     7:10:20 AM  |