बाँकेका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान



बाँके ।

बाँकेका सबै मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गरिएको छ । मतगणनालाई पारदर्शी बनाउने उद्देश्यले मतगणनास्थलमा सीसीटीभी क्यामेरा जडान गरिएको हो । निर्वाचन आयोगले यसअघि नै सबै स्थानीय तहलाई मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गर्न निर्देशन दिएको थियो ।

आयोगकै निर्देशनअनुसार जिल्लाका आठवटै पालिकाका मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गरिएका हुन् । सबै पालिकामा मतगणनास्थललाई राम्रोसँग देखिने गरी सीसीटिभी क्यामेरा जडान गरिएको छ । खजुरा गाउँपालिकाका निर्वाचन अधिृकत लोकबहादुर सुनारले मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गरिएको बताए ।

‘मतगणनास्थलमा गर्नुपर्ने अन्य व्यवस्थापकीय तयारीसमेत पूरा भइसकेको छ,’ उनले भने, ‘मतदान सम्पन्न भएपछि मतपेटिका मतगणनास्थलमा ल्याएपछि गन्न सकिन्छ ।’ मतगणनास्थलमा लगाइएका सीसीटिभी क्यामेराबाट निर्वाचन आयोगले समेत मतगणनाको निगरानी गर्नसक्ने व्यवस्था मिलाइएको छ ।

सीसीटिभीबाहेक मतगणनास्थलमा अन्य तयारीसमेत पूरा भइसकेको सम्बन्धित पालिकाका निर्वाचन अधिकृतहरुले जनाएका छन् । मतगणनास्थलमा लाइट, माइकलगायतको व्यवस्थापनसमेत गरिसकिएको जानकी गाउँपालिका निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए । ‘हामीले आफ्नो तर्फबाट मतगणनाको लागि सबै तयारी पूरा गरिसकेका छौं,’ उनले भने, ‘मतपेटिका आइसकेपछि सर्वदलीय बैठकले गर्ने निर्णयका आधार मत गन्न सुरु हुन्छ ।’

मतगणना पारदर्शी बनाउन सीसीटिभी क्यामेरासमेत जडान गरिएको निर्वाचन अधिकृत शर्माले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले आठवटै पालिकाका मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडानको काम सम्पन्न भइसकेको बताए । ‘सबै पालिकामा रहेका मतगणनास्थलमा सीसीटिभी क्यामेरा जडान गरिएको छ,’ उनले भने, ‘कडा सुरक्षाका अपनाएर सबै स्थानमा मतगणना हुन्छ ।’

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार