बाँके ।
जिल्लाका आठवटै पालिकामा मतगणनाको लागि मतगणनास्थल तोकिएको छ । सम्बन्धित पालिकामा रहेका निर्वाचन अधिकृतका कार्यालयले मतगणनास्थल तोकेका हुन् । मतदान सम्पन्न भएपछि सम्बन्धित पालिकामै मतगणना हुने जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।
‘सम्बन्धित पालिकामै मतगणना हुन्छ । निर्वाचन अधिकृतका कार्यालयले त्यसको तयारी पूरा गरिसकेको अवस्था छ,’ जिल्ला निर्वाचन अधिकारी रमा पन्तले भनिन्, ‘कहिलेबाट मत गन्ने भन्ने कुरा चाहिँ निर्वाचन अधिकृतको कार्यालयले तयारी गर्छ ।’
कोहलपुर नगरपालिकाको मतगणनाका लागि नगरपालिकाको सभाहललाई मतगणनास्थल तोकिएको छ । कोहलपुरका निर्वाचन अधिकृत तीर्थराज भट्टले नगरपालिकाको सभाहलमा मतगणना गर्ने निर्णय भएको जानकारी दिए । नेपालगन्ज उपमहानगरपालिकाको मतगणना भेरी प्राविधिक शिक्षालयको सभाहलमा गर्ने निर्णय मुख्य निर्वाचन अधिकृतको कार्यालयले गरेको छ ।
राप्तीसोनारी गाउँपालिकाको मतगणना गाउँपालिका कार्यालय परिसरमा रहेको सभाहलमा गरिनेछ । त्यसका लागि सबै तयारी पूरा भइसकेको छ । डुडुवा गाउँपालिकाको मतगणना वनकट्टीमा रहेको श्री माध्यमिक विद्यालयमा गरिने निर्वाचन अधिकृत फटिकराम मुडवरीले जानकारी दिए ।
कपास विकास समितिको सभाहलमा खजुरा गाउँपालिकाको मतगणनास्थल तोकिएको छ । नरैनापुर गाउँपालिकाका निर्वाचन अधिकृत रेशम आचार्यले गाउँपालिका कार्यालय नजिकैको विद्यालयमा मतगणना गरिने जानकारी दिए । बैजनाथ गाउँपालिकाको मतगणना प्रभात मावि जी गाउँमा हुनेछ । जानकी गाउँपालिकाको लागि गाउँपालिका कार्यालयमा रहेको सभाहललाई मतगणनास्थल तोकिएको छ ।
मतगणनाअघि सम्बन्धित पालिकामा रहेका मतगणनास्थलमा मतदान सम्पन्न भएपछि मतपेटिकाहरु ल्याइनेछ । कडा सुरक्षा घेरामा मतपेटिकाहरु ढुवानीको व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरामा मतपेटिकाहरु मतगणनास्थलमा ल्याउने व्यवस्था मिलाइएको छ ।









प्रतिक्रिया दिनुहोस्