स्थानीय तह निर्वाचनः बाँकेमा आजै मतगणना हुने



बाँके ।

बाँकेका अधिकांश पालिकाहरुमा आजै रातिबाट मतगणना गर्ने तयारी गरिएको छ ।

मतदान सम्पन्न भएपछि पालिकामा सर्वदलीय बैठक बोलाएर आजै रातिबाट मतगणना गर्ने तयारी गरिएको हो । सम्बन्धित पालिकाका मतगणनास्थलमा मतपेटिका आइसकेपछि मतगणनाको तयारी थालिनेछ ।

मतपेटिका आइसकेपछि निर्वाचन कार्यालयको अगुवाइमा सर्वदलीय बैठक बस्नेछ । बैठकले गर्ने निर्णयको आधारमा मतगणना सुरु हुनेछ । जिल्लाका अधिकांश पालिकाका निर्वाचन अधिकृतहरुले आजै रातिबाट मतगणना सुरु हुनसक्ने जानकारी मिसन टुडेलाई दिएका छन् ।

‘मतपेटिका आइसकेपछि सर्वदलीय बैठक बस्छ,’ खजुरा गाउँपालिकाका निर्वाचन अधिकृत लोकबहादुर सुनारले भने, ‘त्यसपछि नै हामीले मतगणना गर्ने तयारी गरेका छौं ।’ राप्तीसोनारी गाउँपालिकाबाहेक अन्य पालिकामा भने आजै रातिबाट मतगणना हुने सम्भावना छ ।

राप्तीसोनारीको भुगोल ठूलो भएकोले वडाबाट मतदानस्थलसम्म आइपुग्न समय लाग्ने भएकाले शनिबार बिहानबाट मात्र मतगणना सुरु हुने सम्भावना छ ।

राप्तीसोनारीका निर्वाचन अधिकृत टोपेन्द्रबहादुर केसीले शनिबार बिहानबाट मात्र आफूहरुले मतगणना गर्ने मिसन टुडेलाई जानकारी दिए । ‘हाम्रो सबै तयारी त पूरा भइसकेको छ,’ उनले भने, ‘सबै वडाबाट मतपेटिका आइसकेपछि भोलि बिहानबाट मात्रै मतगणना गर्नेछौं ।’

निर्वाचन आयोगले समेत आजै रातिबाट सकेसम्म मतगणना गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : २०७९ वैशाख ३० गते शुक्रबार