19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

स्थानीय तहको निर्वाचन आज

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९  

नेपालगन्ज ।

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत आज मतदान हुँदैछ । मतदाताहरुले संघीयताको सबैभन्दा तल्लो र जनताको नजिकको सरकार चुन्दै छन् । संघीयता लागू भएपछि दोस्रोपटक हुन लागेको यो स्थानीय निर्वाचनले संघीयताको एक किसिमको परीक्षण पनि हुनेछ भने स्थानीय सरकारको अबको दिशा र दशाको पनि फैसला हुनेछ ।

मतदानका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । देशभरिका सात सय ५३ वटै स्थानीय तहमा एकसाथ नयाँ नेतृत्व चयन हुँदैछ । हरेक स्थानीय तहमा प्रमुख उपप्रमुखसहित वडामा वडाध्यक्ष र चारजना सदस्यहरु मतदाताले छान्नु पर्नेछ । शुक्रबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म आफ्नो मतदान केन्द्रमा गएर मत खसाल्न सकिने छ ।

स्थानीय चुनावमा यसपटक एक करोड ७७ लाख ३३ हजार सात सय २३ मतदाता दर्ता भएका छन् । जसमध्ये पुरुष ८९ लाख ९२ हजार १०, महिला ८७ लाख ४१ हजार पाँच सय ३० र अन्य समुहमा रहेका मतदाताको संख्या एक सय ८३ छ ।

मुलुकभर ३५ हजार दुई सय २१ पदका लागि एक लाख ४५ हजार ११ जनाको उम्मेदवारी परेको छ । जम्मा उम्मेदवारीमध्ये पुरुष ८९ हजार तीन सय १३ र महिला ५५ हजार ६ सय ९८ छन् । पालिकामा सदस्य लगायतका पदमा एकल उम्मेदवारी परेका कारण तीन सय ९० जना निर्विरोध निर्वाचित भएका छन् ।

बाँकेमा चार सय २१ पदका लागि दुई हजार तीन सय २९ जनाले उम्मेदवारी दर्ता गराएका छन् । दलगत र स्वतन्त्ररुपमा पालिका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष, वडाध्यक्ष, खुला सदस्य, महिला सदस्य र दलित महिला सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् । जिल्लामा रहेका आठ स्थानीय तहमा प्रमुखका लागि ७३ जनाले उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ ।

पालिका उपप्रमुखका लागि भने ५६ जनाले उम्मेदवारी दिएका छन् । सबै पालिकामा रहेका ८१ वडाका लागि वडाध्यक्ष पदमा पाँच सय १२ जनाको उम्मेदवारी परेको छ ।

खुला सदस्यमा आठ सय ७२ जना, महिला सदस्यमा चार सय २४ जना र दलित महिला सदस्यमा तीन सय ९२ जनाले जिल्लाभरि उम्मेदवार दिएका छन् । यीमध्ये आठ पालिका प्रमुख र उपप्रमुख गरी १६ जना र वडामा वडाध्यक्ष र वडासदस्य गरी चार सय ४१ जना मतदानबाट चुनिने छन् ।

बाँकेमा स्थानीय तहको निर्वाचनको लागि निजामती कर्मचारी, संस्थानका कर्मचारी र सुरक्षाकर्मी गरी करिव ६ हजार दुई सय जनशक्ति परिचालन भएका छन् । जिल्लाका आठवटै पालिकामा रहेका एक सय ३६ मतदानस्थल र तीन सय ७९ मतदान केन्द्रमा निजामती र संस्थानका कर्मचारी मात्रै दुई हजार दुई सयजना परिचालन भएका छन् ।

यसैगरी चार हजार बढी नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका सुरक्षाकर्मी परिचालन गरिएका छन् । यसबाहेक हरेक मतदान केन्द्रमा तीनजना स्वयंसेवकहरु पनि परिचालन गरिएका छन् ।

प्रकाशित मितिः शुक्रबार, बैशाख ३०, २०७९     6:32:01 AM  |