वीरेन्द्र जैसी । नेपालगन्ज ।
यतिबेला चर्काे गर्मीको मौसम छ । यहीबेला चुनाव चटारो । बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ । बिहानको समयमा मतदान नसकिएमा चर्काे धुपमा पनि मतदानका लागि मतदाताहरु पुग्नुपर्ने हुन्छ ।
यस्तो अवस्थामा बिरामी र अशक्त वा गर्मीका कारण स्वास्थ्य समस्या आइपरेमा प्राथमिक उपचारको प्रभावकारी व्यवस्था नभएको पाइएको छ । विशेषगरी नेपालगन्ज उपमहानगरपालिकामा प्राथमिक उपचारका लागि कुनै व्यवस्था नगरिएको मतदान अधिकृतहरुले बताएका छन् ।
बाँकेका सहायक निर्वाचन अधिकृत नगेन्द्र चौलागाईका अनुसार एउटा मतदान केन्द्रको व्यवस्थापनका लागि भवन भएको ठाउँमा पाँच हजार र भवन नभएका ठाउँमा १० हजार रुपैयाँ बजेट दिइएको छ । उक्त रकम प्राथमिक उपचार र पानीको व्यवस्थापनका लागि नभएको उनले बताए ।
नेपालगन्जमा खटिएका मतदान अधिकृतहरु पनि आफूहरुलाई प्राथमिक उपचार र पानीको व्यवस्थापन गर्ने निर्देशन नरहेको बताउँछन् । उनीहरु प्राथमिक उपचारका लागि पनि केही न केही व्यवस्था हुनु आवश्यक रहेको बताउँछन् । जिल्ला निर्वाचन कार्यालयका प्रमुख रमा पन्तका अनुसार नेपालगन्ज र कोहलपुरबाहेकका स्थानीय तहका लागि एउटा प्राथमिक उपचार बक्स प्रदान गरिएको छ ।
उक्त बक्स पनि कर्मचारीहरुलाई लक्षित हो । ‘आवश्यक परेमा उक्त बक्सलाई मतदान केन्द्रमा खटिएका स्वास्थ्यतर्फका कर्मचारीहरुको रोहबरमा मतदाताका लागि पनि प्रयोग गर्न सकिन्छ । अरु छुट्टै व्यवस्था छैन,’ उनले भनिन् ।
बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले स्थानीय तहहरुलाई मतदानस्थलहरुमा प्राथमिक उपचारको लागि आवश्यक समन्वय गर्न आग्रह गरिएको बताए ।









प्रतिक्रिया दिनुहोस्