3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

निर्वाचनमा सुरक्षा व्यवस्था कडा, बाँकेमा चार हजार बढी सुरक्षाकर्मी परिचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २९, २०७९  

कृष्ण ओली । बाँके ।

शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि बाँकेमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलता हेरेर यहाँका मतदान केन्द्रमा आठदेखि ११ जनासम्म सुरक्षाकर्मी खटाइएको छ । संघीयतापछिको दोस्रो स्थानीय तह निर्वाचनका लागि ‘स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, ०७८’ बनेको छ । सोहीअनुसार नै सबै सुरक्षा निकाय चुनावमा परिचालन भएका छन् ।

सशस्त्र प्रहरी र सेनाले भने मतदानस्थलबाहिर गस्ती मात्रै गर्ने छन् । ‘मतदान केन्द्रमा खटिएका म्यादी र प्रहरीका टोली ‘फ्रन्ट लाइनर’ हुन्,’ बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले भने, ‘मतदान केन्द्रको सबै सुरक्षा उनीहरूले नै गर्छन् । यसबाहेक मतदातालाई लाइनमा राख्ने, मतदान केन्द्रमा हुन सक्ने अवाञ्छित गतिविधिको निगरानी गर्ने, गतिवधि भए नियन्त्रण गर्नेलगायतका काम पनि केन्द्रमा खटिएका म्यादी र प्रहरीको हुन्छ ।’

जिल्लाका आठ पालिकामा एक सय ३६ मतदान केन्द्रमा चार हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । आठ सय ५० बढी नेपाली सेना, पाँच सय ५० सशस्त्र प्रहरी, एक हजार ६ सय ६७ म्यादी प्रहरी र एक हजार ७५ जना नेपाल प्रहरी निर्वाचन सुरक्षाका लागि खटिएका छन् । जिल्लाका एक सय ३६ मतदान केन्द्रमा तीन सय ७९ मतदानस्थल रहेका छन् ।

तीमध्ये एक सय ६ मतदान केन्द्र अत्यन्तै संवेदनशील र ३० मतदान केन्द्र संवेदनशील रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार अति संवेदनशील र संवेदनशील मतदान केन्द्रमा सोहीअनुसार नै सुरक्षाको व्यवस्था मिलाइएको छ ।

मतदान केन्द्रमा रहेका बुथ र सुरक्षा संवेदनशीलता हेरेर सुरक्षाकर्मी खटाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) मधुसुदन न्यौपानेले जानकारी दिए । ‘मतदान केन्द्रमा रहेका बुथ संख्या र सुरक्षा अवस्थालाई हेरेर आवश्यकता अनुसारै सुरक्षाकर्मी खटाएका छौं,’ उनले भने, ‘कम्तीमा आठजना र बढीमा ११ जनासम्म सुरक्षाकर्मी खटिएका छन् ।’

बुथ संख्या धेरै रहेका मतदान केन्द्रहरुमा सुरक्षाकर्मीको संख्यासमेत बढाइएको उनले बताए । डिएसपी न्यौपानेका अनुसार मतदान केन्द्रभित्र नेपाल प्रहरीका साथै म्यादी प्रहरीलाई परिचालन गरिएको छ । ‘मतदान केन्द्रभित्रको सम्पूर्ण सुरक्षाको लागि नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन हुनेछन् । सोहीअनुसार नै तयारी पूरा भइसकेको छ,’ उनले भने, ‘बाहिरी घेरामा भने अन्य सुरक्षा निकाय हुने छन् ।’

यस्तै जिल्ला निर्वाचन कार्यालय, जिल्ला निर्वाचन अधिकृत, गाउँपालिका निर्वाचन अधिकृत, मतदानपश्चात् मतपेटिकाको सुरक्षा, विजेताको सुरक्षा गर्ने जिम्मा भने सशस्त्र प्रहरीलाई दिइएको छ । जिल्लामा सशस्त्र प्रहरीले पनि संवेदनशीलताका आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । सशस्त्रले सबै पालिकामा ‘रिजर्भ फोर्स’ पनि ‘स्ट्यान्डबाई’ राखेको छ । त्यसबाहेक नेपाल प्रहरीको ‘ब्याक अप फोर्स’का रूपमा सबै मतदान केन्द्रमा सशस्त्र प्रहरी तयारीपूर्वक रहनेछ ।

निर्वाचन सुरक्षाका लागि परिचालित अर्को सुरक्षा दस्ता सेनाले पनि संवेदनशीलताकै आधारमा सुरक्षाकर्मी परिचालन गरेको छ । निर्वाचन अवधिभर सेनाले विशेष गरी भिभिआइपी, भिआइपी र उनीहरूका निवास, मुलुकभरका सबै कारागार, विमानस्थल, सबै सामरिक महŒवका क्षेत्रको सुरक्षा गर्नेछ । मतपत्र, मतदानपछि मतपेटिकाको सुरक्षा, मतदान बक्सको ढुवानीमा पनि सेना परिचालन हुनेछन् । बाँकेमा आठवटै पालिकामा नेपाली सेनाले स्थलगत गस्तीसमेत गरिरहेको छ ।

सबै पालिकामा सशस्त्र र नेपाली सेनासमेत पुगिसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । ‘नेपाल प्रहरी र म्यादीबाहेक सशस्त्र प्रहरी र नेपाली सेनासमेत सबै पालिकामा पुगिसकेका छन्,’ प्रशासनका एक अधिकृतले भने, ‘मतदान केन्द्र बाहिरको सुरक्षासमेत कडा बनाइएको छ ।’

प्रकाशित मितिः बिहिबार, बैशाख २९, २०७९     9:46:17 AM  |