19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

मध्यरातमा मदिरा र पैसा बोकेको एमाले उम्मेदवारको गाडी स्थानीयद्वारा नियन्त्रण

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, बैशाख २९, २०७९  

नेपालगन्ज ।

मौन अवधिमा आचारसंहिता विपरीत कार्य गरेका नेकपा एमालेका उम्मेदवारको गाडी स्थानीयले नियन्त्रणमा लिएका छन् । मध्यरातमा मदिरा र पैसासहित गाउँपालिका अध्यक्षका उम्मेदवारको गाडि स्थानीयले नियन्त्रणमा लिएका हुन् ।

नेकपा एमालेबाट गुल्मीदरबार गाउँपालिकाका अध्यक्षको उम्मेदवार बनेका कृष्ण बहादुर भुसालको गाडी मदिरा र पैसासहित मध्यरातमा स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन् ।

उम्मेदवार भुसालले प्रयोग गर्ने बा१५च १३२९ र प्र-३-०१०२३ च ७९३० नम्बरको गाडी गुल्मीदरबार वडा नं ६ हटियामा रातीको ३ बजे स्थानीयले मदिरा, पैसा र रडहरूसहित नियन्त्रणमा लिएका थिए । बा१५च को सवारी अध्यक्षका उम्मेदवार भुसाल र प्र(३(०१(०२३च७९३० नम्बरको सवारी निर्वाचन प्रतिनिधि राज शाहीले प्रयोग गरिरहेका छन् ।

अध्यक्षका उम्मेदवार भुसालको निर्देशनमा रातीको समयमा वडा नं ५ को भरुवा भन्ने स्थानमा निर्वाचन आचारसंहिता विपरीत भोज भतेर गराएका थिए । विपन्न नागरिकहरूलाई प्रलोभनमा पार्न रकम वितरण गरेका थिए । भने वडा नं ६ मा रकम बाँड्न र मतदाताहरूलाई प्रलोभनमा पारी निर्वाचनलाई प्रभाव पार्नको लागि आएको खबर पाएपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरी चौकीको जिम्मा लगाएका हुन् ।

सवारीमा मदिरा सेवन गरी होहल्ला र झगडा गर्न खोज्ने युवासंघ गुल्मीदरबारका अध्यक्ष वीरबहादुर कार्की, अध्यक्षका उम्मेदवार कृष्ण बहादुर भुसालको चालक विवश ठकुरी र लडन हिँडेका कार्यकर्ताहरू पवन ठकुरी विकल्प ठकुरी समेतलाई स्थानीयले नियन्त्रणमा लिई प्रहरीको जिम्मामा लगाएका छन् ।

नेपाली कांग्रेसका गुल्मीदरबारका सभापति प्रेमबहादुर पुनले नेकपा एमालेका उम्मेदवार भुसालले आफूले हार्ने निश्चित भएपछि निर्वाचन आचारसंहिता र निर्वाचनको मौन अवधिको उल्लङ्घन गर्दै विपन्न नागरिकहरूलाई प्रभावमा पार्न रातको समयमा रकम बाँड्न र भोजभतेर गराउन आफ्नो सवारी साधन र कार्यकर्ताहरू परिचालन गरी निर्वाचनको आचारसंहिताको धज्जी उडाएको बताए ।

उनले कडा भन्दा कडा कानुनी कारबाही गरी स्वच्छ र भयरहित वातावरणमा निर्वाचन गर्न गराउन स्थानीय प्रशासन र मुख्य निर्वाचन अधिकृतको ध्यानाकर्षण गराएका छन् ।

त्यस्तै नेपाली कांग्रेस गुल्मीदरबार गाउँपालिकाका अध्यक्षका उम्मेदवार सरोज थापा र उपाध्यक्ष पदका तारा थापाले आम मतदाताहरूले स्वच्छ रूपमा आफूले रोजेको जनप्रतिनिधिलाई निर्बाध, शान्तिपूर्ण र भयरहित वातावरणमा मत हाल्न पाउने नैसर्गिक अधिकारलाई हारको मानसिकता बोकी राती राती निर्वाचनको वातावरणलाई असर पर्ने खालका क्रियाकलापलाई तुरुन्त बन्द गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनलाई अनुरोध गरेका छन् ।

यस भन्दा अघि पनि गुल्मीदरबार गाउँपालिका वडा न ३ मा निर्वाचन प्रचार प्रसारको क्रममा उपसभापति कमानसिंह पुवारे माथि हातपात समेत भएको थियो । गुल्मीदरबार गाउँपालिकामा २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले अत्यधिक मतसहित विजय हासिल गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, बैशाख २९, २०७९     9:16:36 AM  |