27 January 2023  |   शनिबार, माघ १४, २०७९

नमस्कार ‘मलाई भोट दिनूस् ल!’ आतंक

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख २८, २०७९  


                                                                                                                      – अछुत कोपिला

प्रारम्भ मै नमस्कार बारे केही भन्छु 
नमस्कार शब्द र शक्ति दुवै हो । यो सामाजिक व्यवहार पनि हो । यसको आफ्नै मूल्य मान्यता र महत्व छ । यो आदिम कालदेखि नै चलनमा आएको पाइन्छ । नमस्कार मानसिक, भावनात्मक,संवेगात्मक र मनोवैज्ञानिक पक्ष पनि हो । विद्धानहरु भन्छन्,विकास र समृद्धिसँग जोडिएको छ,नमस्कार । नमस्कार संस्कृति पुस्तान्त्रण भएर आएको हो ।

मानिसै पिच्छे नमस्कार स्टाइल समेत भिन्न छ । दुई हात जोडेर,छातीनेर हात राखेर नमस्कार गरिन्छ । निधारमा दुवै बुढी औलाले छुहाएर दुवै हात जोडेर पनि गरिन्छ । भुइँ सोरेर, हावा सोरेर, एक हातले निधारमा हातका औला लगेर ठोकेर नमस्कार गर्ने चलन छ । दुवै हात जोडेर मुखमा लिइ नाकलाई छुवाएर नमस्कार गर्छन्,कतिपयले । कतिपयले हातको गतिविधि वेगर हात नजोडि मुखले मात्र नमस्कार भन्छन् ।

नमस्कार फर्काउने पनि सबैको आ आफ्नै मौलिक स्टाइल हुन्छ । कतिपय जातजाती अनुसार पनि फरक–फरक हुने गर्दछ । जदो, ढोक ग¥या,नमस्कार, टाँसी देले, झोर्ले, जय मिसी,ॐ आदी ।
सामान्यतया नमस्कार दुई तरिकाले व्यक्त गर्ने गरिन्छ । एक,भित्री मनदेखि, दोस्रो बाहिरी रुपमा (देखावटी) मात्र ।

आफूलाई मन परेको,सम्मान गर्न लायकदेखि मन नपरेको, रिसाएको, झगडा भएको व्यक्तिसँग नमस्कार आदान प्रदान हुन्छ । नेपाली समाजमा सानाले आदर भावमा ठूलालाई नमस्कार गर्छन् । नमस्कार,अक्कर पहिलो भेटमा गर्ने गरिन्छ । दिनमा एकपटक मात्र नमस्कार गर्नुपर्छ । एक वा बढी पटक एउटै व्यक्तिलाई कसैले नमस्कार गर्छ भने, कि त्यो देखावटी हो, कि होच्याउन वा गिज्याउन गरिएको हुन्छ । नेपाली समाजमा नमस्कारमा पनि विभेद अहिले पनि विद्यामान छ ।

नमस्कार बहुत शक्तिशाली पनि छ । कसैले कसैलाई भेट्नासाथ नमस्कार भन्यो भने, नमस्कार कर्ताप्रति नरम भाव राख्छ,कृतज्ञ बन्दछ । आभारी हुन्छ । व्यक्तिगत र सार्वजनिक क्षेत्रमा गरिने नमस्कारको भिन्नै महत्व हुन्छ । यदि कसैले कसैलाई नमस्कार गरेन भने त्यो व्यक्ति, घमण्डी, पाखण्डी, सोमत नभएको ज्यार्दो व्यक्तिमा परिणत हुन्छ ।

विद्धान मास्लो भन्छन्, ‘आधारभूत आवश्यकता प्राप्त गरे पश्चात मानिस आत्मसम्मानका लागि कार्य गर्दछ । नमस्कारमा पनि आत्मसम्मान, स्वाभिमान र अस्तित्व जोडिएको छ ।’ हाम्रो समाजले नमस्कारलाई इज्जत प्रतिष्ठासंग जोडेर हेरेको छ । दुई व्यक्ति बीचको प्रेममय मिलन नमस्कारले गराँउछ । नमस्कारले समाजका मानिसहरुका बीचमा एकता र मित्रताको भावना अभिव्यक्त गर्दछ । नमस्कारले मानिस मानिसका बीचमा भावनात्मक एकताका लागि पुलको काम गर्दछ ।

अब मूल विषयमा प्रवेश गरौ, है त

अहिले मेची–कालीका कुनाकन्दरामा निर्वाचनको माहोल छ । सिंगो देश नै चुनावमय भइसकेको छ । फेरि एकपल्ट घुमिफिरी आएको छ, २०७४ असार १४ । देश नयाँ संरचनामा गएसँगै पहिलोपटक भएको स्थानीय तह निर्वाचनको महिमा र महत्व बेग्लै खालको थियो,हरेक नेपाली नागरिकका लागि कौतुहलताको विषय पनि । राजनीतिक रुपमा ऐतिहासिक घटना क्रम थियो, त्यो निर्वाचन । समय कति छिटो बित्छ । ५ वर्ष सकिएर फेरि आएको चुनाव । डेटलाइन छ, बैशाख ३० गते ।

देशभरका ७५३ वटै स्थानीय तहमा नयाँ नेतृत्वको लागि मतदान हुदैँछ । निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष हो । यो राम्रालाई पुरस्कृत गर्ने र नराम्रालाई दण्डित गर्ने अवसर समेत हो । १ मिनेटको मतदानले ५ वर्षको लागि पालिकाको भाग्य रेखा कोर्ने अवसर । त्यसैले हाम्रालाई होइन राम्रालाई भोट गर्ने बेला हो ।

कुनै व्यक्ति,दल, शक्ति र द्रव्यसँग भोेट साट्नु पाप हुनेछ । विगत झैँ यसपटक पनि एजेण्डा विनै दल गाउँ पसेका छन् । गरिबी र अविकासले उजाड बनेका गाउँ पार्टीका झण्डाले रंगिएका छन् । दलहरु आस्वासनको भारी बोकेर गएका छन् । यो आस्वासन दलहरुको पहिले कै पुनरावृत्ति हो । निर्वाचन जितेर गएको पाँच वर्षसम्म कोहीपनि फर्किएनन् । उनीहरु अहिले नमस्कार बाढीसहित आएका छन् ।

उम्मेदवारका लोभी नमस्कार

जबजब चुनाव आउँछ । नेता गाउँ पस्छन् ।उम्मेदवार टोल पस्छन् ।अहिले उम्मेदवारहरुले देशभर घरदैलो गरिरहेका छन् । दलबल, हल्लाखल्लासहित टोलमा छिरेका उनीहरुले आफूले जितेमा स्वर्गकै तारा झारिदिनेसम्मका न आस्वासन बाँडिरहेका छन् । चुनाव जनिकिदैँ जाँदा उनीहरु बेप्रवाह चुनाव प्रसार गरिरहेका छन् । उनीहरुसँग न नीति र न कुनै योजना छ । उनीहरु अन्धाधुन्द चुनावी मैदानमा दौडिरहेका छन् । उनीहरु कहाँसम्म पुग्ने हुन् भन्ने स्वयम उनीहरुलाई थाहा छैन ।

भड्किलो चुनावी प्रचार प्रसारमा उम्मेदवारसँगै गएका कार्यकर्ताहरु त के कुरा । उनीहरुलाई उम्मेदवारहरुले रासन पानी दिएकै छन् । उनीहरुलाई पो हो त चुनाव लाग्ने । साँझ विहान के खालौँ के लाउ भन्ने समस्या भएकाहरुलाई चुनाव हर्ष न विस्मात जस्तै हो । अर्कातिर जसरी कुनै एजेण्डा विना दलहरु चुनावमा होमिएका छन्, चुनावको नाममा प्रचार आतंक गरिरहेका उनीहरुको नमस्कार आंतक देखाइरहेका छन् । अहिले लामो समय जिल्ला वा र राजधानीमा बसेर राजनीति गरिरहेका पनि चुनावमा उम्मेदवार बनेका छन् ।

गत निर्वाचनमा जितेर माखो मार्न नसकेका समेत फेरि नमस्कार आतंक मच्चाइरहेका छन् । उनीहरुको लोभी नमस्कारमा अबका मतदाता फसे भने फेरि अर्को पाँच वर्ष हामी पछुताउनुपर्ने अवस्था आउन सक्छ । त्यसैले यसपटक हाम्रो होइन राम्रो व्यक्ति छनौट गर्नुपर्छ । नराम्रालाई दण्ड दिने उपयुक्त अवसर यही हो । यस्तो अवस्था पाँच वर्षमा एकपटक मात्रै आउँछ । उम्मेदवारका लोभी नमस्कारको ललीपप अस्वीकार गर्नुपर्छ ।

स्वतन्त्र उम्मेदवारी : दलप्रतिको वितृष्णा

यो निर्वाचनमा स्वतन्त्र उम्मेदवारीको उछाल नै आएको छ । यसका दुईटा पाटा छन्, एक हो, मतदातामा आएको नयाँ चेत हो, दोस्रो, परम्परागत राजनीतिक दलप्रतिहरुको वितृष्णा । महानगरको मेयरदेखि वडा सदस्यमा स्वतन्त्र उम्मेदवार खडा भएका छन् । कुनै दलको विचार र सिद्धान्तमा नबाँधिएका ती व्यक्तिहरु राजनीतिक, व्यापारिक, सांगीतिक, साहित्य, इन्जिनियरिङ लगायतका क्षेत्रबाट स्वतन्त्र उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिनेमा बहुसंख्यक आलोचनात्मक चेत भएका युवा छन् । उनीहरुको उम्मेदवारीको अर्थ, दलीय व्यवस्थाले विकृति निम्त्यायो । अब जनताले अटेरी गर्नुपर्छ भन्ने हो । लोकतन्त्रमा हरेक नागरिकले लोकतान्त्रिक प्रक्रिया प्रयोग गर्न पाउनु उनको संविधानतः मौलिक हक समेत हो । अघिल्लो निर्वाचनमा बैकल्पिक शक्तिले देशभर सम्मानजनक पद पाएको थियो । अहिलेसम्मको अवस्थामा आइपुग्दा बैकल्पिक शक्ति फुट र राप्रपाकरणको अवस्थामा पुगेको छ ।

एक भोट, राम्रालाई पुररस्कार नराम्रालाई चोट

निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । निर्वाचन असर जनप्रतिनिधि चुन्ने अवसर पनि हो । लोकतन्त्रमा नैसर्गिक अधिकारका रुपमा रहेको मतदानको महत्व रहेको छ । एक भोट राम्रलाई परस्कृत गर्ने, निर्वाचित गर्ने, अनुमोदित गर्ने र काम गर्नको लागि अवसर दिने हो ।

यतिमात्रै होइन नराम्रालाई दण्डित गर्ने समेत मौका हो । त्यसैले मतदान गर्ने विषयमा एक आम मतदानले सयौपटक सोच्नुपर्छ । आफूले हाल्ने भोट र जित्ने उम्मेदवारले आफ्नो पक्षमा काम गर्छ की गर्दैन भन्ने विषयमा सोच्नुपर्छ । विगतका निर्वाचनमा मतदाता प्रलोभनमा पर्ने, मासु भातमा किनिने र पैसामा बिक्ने गरेका उदाहरण छन् । यसपटक पनि विभिन्न प्रलोभनमा परेर नराम्रालाई मतदान गरियो भने अझै पाँच वर्ष पछुताउनुको विकल्प हुने छैन ।

त्यसैले निर्वाचनमा आफ्नो विवेक प्रयोग गर्नुपर्छ । स्वच्छ र निष्पक्ष रुपमा नयाँ जनप्रतिनिधि आउनुपर्छ । निर्वाचनलाई सधै उम्मेदवारलाई छनौट गर्ने अवसरको रुपमा प्रयोग गर्नुपर्छ । तपाईंको एक भोटले पाँच वर्षसम्म पछुताउनु नपरोस् । चेतना भया ।

 

प्रकाशित मितिः बुधबार, बैशाख २८, २०७९     4:13:36 PM  |