
भुवन थारु । नेकपा माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार, बाँसगढी नगरपालिका बर्दिया
देशमा लामो समय व्यवस्था परिवर्तनका लागि आन्दोलन भए । जनताले बलिदानी दिए । पछिल्लो ६ दशकमा व्यवस्थामा व्यापक परिवर्तन भयो । जनताको सबैभन्दा उन्नत व्यवस्थाका रुपमा रहेको संघीय शासनमा हामी छौं । सोहीअनुसार स्थानीय सरकार छन् । ती सरकारले पाँच वर्ष शासन गरे । बाँसगढीको हकमा पाँच वर्षमा केही काम भएका छन् । तर जुन हिसाबले हुनुपर्ने हो, त्यो पहिलाका जनप्रतिनिधिले गर्न सकेनन् ।
यसपटकको निर्वाचनमार्फत बाँसगढीलाई सुशासनयुक्त बनाउने, बाँसगढी सरकार र सर्वसाधारण जनतालाई जोड्न सरकार र जनताको सहज पहुँच विस्तार गर्ने र स्थानीय सरकार जनताकै सरकार हो भन्ने आभास दिलाउन काम गर्ने र बाँसगढी र विकासकै लागि मेरो उम्मेदवारी हो । यस्तै स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर हाम्रो पार्टीको तर्फबाट बाँसगढीमा घोषणापत्र सार्वजनिक गरिएको छ । घोषणापत्रमा हामीले शिक्षालाई पहिलो प्राथमिकता दिएका छौं ।
कक्षा १२ सम्म निःशुल्क शिक्षा प्रदान गर्ने मेरो लक्ष्य छ । अनिवार्य आधारभूत शिक्षा घोषणा भइसकेकाले यसको कार्यान्वयनलाई अझ प्रभावकारी बनाएर गुणस्तरीय शिक्षा प्रदान गर्ने मेरो प्राथमिकता छ । शिक्षा क्षेत्रमा व्याप्त शैक्षिक माफियाको जालो तोड्न कार्ययोजनाका साथ अघि बढ्ने छुँ । शिक्षामा गुणस्तर ल्याउने र प्रविधिमैत्री शिक्षा आजको आवश्यकता हो भन्ने मूल नारासहित अघि बढिनेछ । शिक्षालाई रोजगारीसँग जोड्ने कार्यक्रमसमेत छन् । स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच पु¥याउने लक्ष्य राखेको छुँ ।
बृद्धबृद्धा, अपांगता भएका व्यक्ति, सीमान्तकृत, अत्यन्त विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य शिक्षा तथा उपचार प्रदान गर्ने मेरो प्रतिबद्धता छ । कृषि क्षेत्र स्थानीय तह र जनतालाई जोड्ने महŒवपूर्ण माध्यम हो । कृषिलाई समेत हामीले आफ्नो प्राथमिकताको क्षेत्रका रुपमा राखेका छौं ।
कृषिलाई गुणात्मक बनाउने मेरो ध्येय छ । कृषि क्षेत्रमा यान्त्रिकरण र आधुनिकीकरण अहिलेको आवश्यकता हो । यही आवश्यकतालाई मध्यनजर गरेर जनतामैत्री कृषि प्रणाली, कृषिलाई रोजगारसँग जोड्ने तथा कृषिमा युवा वर्गको सहभागितालाई विशेष जोड दिइनेछ । कृषिलाई व्यवसायीकरण गरेर उत्पादन र बजारीकरणलाई सुनिश्चित गराइनेछ । विद्युत् र पूर्वाधार निर्माण विकासको आधार हो ।
जनतालाई अँध्यारोमुक्त गराउनु स्थानीय सरकारको मुख्य दायित्व हो । आगामी पाँच वर्षमा हरेक घरमा विद्युत्को पहुँच विस्तार गरिनेछ । पुराना विद्युत्का पोल निकालेर नयाँ पोल हालिनेछ । पूर्वाधार निर्माणमा हामी विश्वसनीयता कायम हुनेगरी काम गर्नेछौं । विकासमा हुने विसंगतिको अन्त्य गरिनेछ । यसले विकासमा थप टेवा पु¥याउँछ । यस्तै मेरो प्राथमिकता समाजका सीमान्तकृत समुदायलाई मूल प्रवाहमा ल्याउने हुनेछ ।
समाजमा रहेका यस्ता व्यक्ति र समाजलाई स्थानीय सरकारले मुख्य प्राथमिकता दिनेछ । उनीहरुलाई रोजगारी सिर्जना गरिनेछ । यस्ता समुदायलाई शिक्षाको उज्यालोबाट वञ्चित पनि गरिने छैन । सेवामा कसैलाई काखा र कसैलाई पाखा कदापी गरिने छैन । सीमान्तकृत समुदायमाथि हुने गरेको दमन र अत्याचारको अन्त्य गर्न मेरो अगुवाइ गर्नु छुँ । म आफैँ पनि यही समुदायको मानिस हुँ । लामो समय उनीहरुलाई अधिकारका लागि लडेको मानिस हुँ । मलाई उनीहरुका दुःख थाहा छन् ।
हामीले जनताका आवश्यकता र चाहनाका आधारमा योजना छनोट गरेका छौं । योजना छनोट गर्दा वडास्तरमा समिति निर्माण गरिएको थियो । समूहले जनताका घरघरमा गएर सुझाव संकलन गरेका छन् । यस्तै स्थानीय सरकारले योजना निर्माणमा कार्यकर्तालाई प्राथमिकता दिने चलनलाई पूर्णरुपमा तोडिनेछ । योजना छनोटका मुख्य केन्द्रविन्दु कार्यकर्ता र पहुँचवाला होइन जनता हुने छन् ।
मैले लामोसमय जनताको हितका लागि आफ्नो जीवन नै बलिदान गर्न तयार भए, उनीहरुको अधिकारका लागि संघर्ष गरे । शान्ति प्रक्रियामा आइसकेपछि पनि जनताकै बीचमा छुँ । जनताका दुःख मैले बुझेको छुँ । जनताले मलाई देख्नु भोग्नु भएको छ । जनताको भरोसा नै मेरो जित्ने आधार हो ।









प्रतिक्रिया दिनुहोस्