नेपालगन्जमा धवलले पाएको मत जोगाउलान वैश्यले ?



बाँके ।

२०७४ सालको स्थानीय तहको चुनावमा नेपालगन्जमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले १२ हजार पाँच सय १५ मत ल्याइ विजयी भयो । त्यो मत राप्रपाको मात्र थिएन, मेयर डा. धवलशमशेर राणाको व्यक्तिगत मत पनि थियो । जसले राप्रपालाई नेपालगन्जको नेतृत्वमा पु¥यायो । अब राप्रपाको उक्त मत कायम रहला त ?

पुनः राणा मेयरमा दोहोरिएको भए उक्त मत पुनः दोहोरिने सम्भावना बलियो थियो । मेयर राणाले बदनीयत हुनेगरी नगरको कार्यसम्पादन गरेका छैनन् । राणाको विकल्पमा यहाँ नेकपा माओवादीबाट नवप्रवेशी तथा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष नन्दलाल वैश्य अगाडि बढेका छन् ।

वैश्यले माओवादीको मत थप गर्ने राप्रपाको दाबी छ । तर उनीसँग लामो राजनीतिक पृष्ठभूमि भने छैन । व्यापारीक संस्थामा गरेको कामको भरोसाका कारण उनी चुनावी मैदानमा छन् । उनले प्रतिक्रिया दिँदै भनेका छन्, ‘व्यापारीक संस्था राम्रो गरेकाले अब नगरको नेतृत्व गर्न चाहेको हुँ ।’

अहिले नेपालगन्जमा राप्रपाप्रतिको आकर्षण सुधारोन्मुख छ । तर, निर्णायक भने छैन । निर्णायक मत भनेको लोकप्रियताका हिसाबले आउने व्यक्तिगत मत हो । वैश्यलाई राणा जत्तिकै व्यक्तिगत मत धेरै आउने सम्भावना कम देखिन्छ ।

वैश्य समाजका मत भने उनीतिर आउन सक्छन् । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी नेपाल (जसपा) बीच गठबन्धन छ । गठबन्धन नगरको नेतृत्वका लागि बलियो छ । माओवादी पनि गठबन्धनलाई सघाउने निश्चित देखिन्छ । माओवादीबाट स्वतन्त्र परेको उम्मेदवारी फिर्ता भइसकेको छ ।

गठबन्धनका तर्फबाट मेयरका साझा उम्मेदवार प्रशान्त विष्ट र उपमेयरका उम्मेदवार कमरुद्दीन राईको व्यक्तिगत स्वभावबाट रुष्टबाहेक अरु माओवादीको सबै मत गठबन्धनलाई जान्छ । एमालेको मत एक भएर सञ्चित भएको छ ।

उक्त मत एमालेबाहेक बाहिर जाने सम्भावना कमै देखिन्छ । नेपालगन्जमा राजनीतिक मात्र होइन, केही मत अस्थिर छ । त्यो भनेको बौद्धिक मत हो । राजनीतिक दल होइन व्यक्तिको सक्षमतातिर खस्छ । त्यो मत एक भए निर्णायक पनि हुन सक्छ । २०७४ को चुनावमा मेयर राणाले यही मत प्राप्त गरेका थिए । तर राणाजत्तिकै प्रभाव वैश्यको छैन ।

अहिले नेपालगन्जमा राप्रपाको सक्रिय सदस्यता संख्या चार हजार पुगेको छ । २०७४ सालको चुनावताका त्यो संख्या करिब एक हजार दुई सय मात्र थियो । अहिले राप्रपाको सदस्यता संख्या बढेको र राप्रपाप्रतिको लहर बढ्दै जाँदा वैश्यको जित सुनिश्चित भएको राप्रपाका केन्द्रीय सहायक महामन्त्री ऋषिराज देवकोटाले जनाए । पार्टीको मत, शुभेच्छुकलगायतका राप्रपाले वैश्य समाज नेपालगन्जको मतलाई पनि बलियो आधार मानेको छ । करिब यहाँ निर्णायक मत छ ।

यदी यो मत सबै वैश्यतिर झरे राप्रपाले जित दोहो¥याउने छ । राप्रपाका सहायक महामन्त्री देवकोटाले वैश्य समाजमा करिब १० देखि १२ हजार मत भएको दाबी गर्छन । ‘वैश्यजीका आफ्नै व्यक्तिगत मत पनि छन्,’ उनी भन्छन्, ‘दुई हजारदेखि तीन हजारसम्म व्यक्तिगत मत खस्छन् ।’ पहिलो २०७४ सालको चुनावमा पनि यतिकै संख्यामा व्यक्तिगत मत खसेको र अरु पार्टीका मत भएको उनी बताउँछन् ।

नेपालगन्जमा राप्रपा पहिलादेखि नै बलियो पार्टी भएको भन्दै उनी भन्छन्, ‘यसपालि पनि नेपालगन्जको नेतृत्वमा राप्रपा दोहोरिन्छ ।’ मेयर पदका उम्मेदवार वैश्य सामाजिक कार्यमा कुशल नेतृत्व गरेकाले पनि नेपालगन्जीयाको पहिलो रोजाइ वैश्यनै पर्ने उनको दाबी छ । नेपालगन्जमा २०७४ भन्दा अहिलेको स्थिति भने बदलिँदो छ । राप्रपा नेपालको केन्द्रीय नेतृत्व परिवर्तनसँगै राप्रपाप्रति केही आकर्षण देखिन्छ । यो आकर्षण मतमा परिणत हुने या नहुने अन्योल भने छ ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २७ गते मंगलबार