अब्बल र बहुमुखी उपमेयरकी उम्मेदवार संगीता



कोहलपुर ।

उनी जन्मलाई विशेष उत्सव मान्छिन् । जन्मदिनलाई अरुको सेवामा समर्पित गर्ने उनीमा सामाजिक र सेवाभाव झल्किन्छ । उक्त अवसरमा उनी हरेक वर्ष अपांगता भएका व्यक्ति, असहाय बालबालिका तथा वृद्धवृद्धा र दृष्टिविहीनलाई सहयोग गर्छिन् । जिल्लामा विपन्न र असहायको सेवामा समर्पित नील सागर आश्रम, चप्परगौडीस्थित संस्कृत विद्यालय र त्रिभुवन माविमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरुसँग उनले सेवासहित जन्मदिनको उत्सव मनाउने स्थल हुन् ।

पछिल्लो समय मौलाउँदै गएको भड्किलो जन्मदिन मनाउने चलनको विपक्षमा छिन् उनी । कोहलपुर क्षेत्रमा अघि सामाजिक कार्य, घरि विपन्नलाई सहायता, सहयोग, शैक्षिक सामग्री वितरण गरेर होस् सामाजिक संस्थाको नेतृत्वमार्फत महिला अधिकारका विषयमा वकालत गरिएको एक नाम हो, संगीता सुवेदी हो । उनै संगीता वैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको उपप्रमुख (उपमेयर) को उम्मेदवार बनेकी छन् ।

संगीता लामो समयदेखि व्यावसायिक क्षेत्रमा सक्रिय अभियान्ताको नाम पनि हो । उनी हाल कोहलपुर उद्योग वाणिज्य संघको वाणिज्य उपाध्यक्ष छिन् । व्यवसायीहरुको चुनावमा प्रतिस्पर्धाबाट संघको नेतृत्वमा पुग्ने उनी पहिलो महिला हुन् ।

व्यवसायीहरुको अग्रणी संस्थाको सहायक नेतृत्वमा पुगेकी उनले विषेश गरी महिलाहरुका मुद्दालाई शसक्तरुपमा उठाउँदै आएकी छिन् । सुवेदी सामाजिक क्षेत्रमा समेत उत्तिकै सक्रिय छिन् । कलाकारिता तथा राजनीतिक परिचयसमेत बोकेकी संगीता बहुमुखी प्रतिभा भएकी एक नारी हस्ताक्षर हुन् । कास्कीमा जन्मिएकी उनी परिवारसँगै बर्दिया हुँदै कोहलपुर–११ मा बसोबास गर्दै आएकी छन् ।

उनी वडा नम्बर ११ की स्थायी बासिन्दा हुन् । हाल व्यावसायिक क्षेत्रमा सक्रिय सुवेदीले लामो समय सामाजिक क्षेत्रमा समेत काम गरिन् । उनी जेसीज र लाइन्स अफ कोहलपुर कस्तुरीको पूर्व अध्यक्ष हुन् । कलाकारिता क्षेत्रमा समेत रुची भएकी संगीता लोक तथा दोहरी प्रतिष्ठान बाँकेको सल्लाहकारसमेत भइन् ।

नेपाली कांग्रेस १४औँ महाधिवेशनबाट महाधिवेशन प्रतिनिधि पदमा लोकप्रिय मतका साथ उनी विजयी भइन् । यसरी सामाजिक, व्यवसाय र राजनीति क्षेत्रमा सक्रिय संगीताको कोहलपुरमा सामाजिक छबी राम्रो छ । उनी नेपाली कांग्रेस कोहलपुरकी उदयीमान महिला नेतृसमेत हुन् । उनले कोहलपुरको मुख्य बजार क्षेत्रमा ‘द पिन्स कलेक्सन फेन्सी स्टोर’ सञ्चालन गर्दै आएकी छिन् ।

यतिमात्रै नभएर उनले कोभिड–१९ (कोरोना भाइरस) को विषम परिस्थितिमा समेत जोखिम मोलेरै समाज सेवा गरिन् । त्यतिबेला उनी आर्थिक विपन्न महिलाका लागि सुत्केरी पौष्टिक आहार तथा खाद्यान्न वितरण कार्यको नेतृत्व गरेकी थिइन् । यस्तै कोभिड–१९ को अक्सिजन अभावमा जीवन र मृत्युसँग संघर्ष गरिरहेका व्यक्तिहरुलाई बचाउन ठूलो भूमिका खेलिन् ।

त्यतिबेला कोहलपुर उद्योग वाणिज्य संघले सुरु गरेको अक्सिजन अभियानमा अध्यक्ष लक्ष्मणराज पौडेल र उपाध्यक्ष सुवेदीलगायतले विभिन्न ठाउँबाट कोहलपुरमा अक्सिजनको अभाव टारिदिएका थिए । पछि उनीहरुले कोभिड अस्पतालका साथै अन्य अस्पतालका बिरामीहरुलाई निःशुल्क अक्सिजन सिलिण्डर सहयोग गरे । त्यतिमात्र होइन त्यतिबेला सुवेदी व्यक्तिगतरुपमा मास्क र स्यानिटाइजरसमेत सहयोग गरेकी थिइन् ।

उनले आफू सधै विपन्न तथा अधिकारविहीन जनताको बीचमा रहेको बताइन् । आफूले जितेमा कोहलपुरमा सामाजिक कार्यलाई प्राथमिकता दिने उनको प्रमुख योजना छ । उनका अनुसार कोहलपुरमा विपन्न वर्ग, असहाय, एकल महिला, बालबालिका तथा महिलाहरुलाई सहयोग गरिने छ । ‘कोहलपुर विकासको लागि सबल नेतृत्वको खाँचो छ ।

समाज समृद्ध बन्न महिला मूल नेतृत्वमा आउनै पर्छ,’ उनले भनिन् । अब सबै मिलेर समृद्ध कोहलपुर निर्माणमा हातेमालो गरेर अघि बढ्ने समय आएको उनको भनाइ छ । अधिकारबाट वञ्चित महिला तथा सुकुम्बासी महिला तथा पुरुषहरुको उचित व्यवस्थापन र सहयोग गरिने योजना रहेको सुनाउँछिन् । कलाकारिताको क्षेत्रमा आफ्नो योगदान रहने तथा कलाकारिता क्षेत्रको विकास गर्ने लक्ष्य छ । व्यापारी भएको हैसियतले आम व्यापारीका मुद्दामा आफू लागि रहने तथा आम व्यापारीमा भएको दोहोरो करलाई मुक्त गर्ने उनको प्रतिबद्धता छ ।

उनले घोषणापत्रमार्फत बृद्धाभत्ता, एकल महिला भत्ता र एकल महिलालाई विशेष प्राथमिकतामा राखेको उल्लेख गरिएको छ । उनीहरुलाई घरदैलो मै पुगेर सेवा दिने उद्देश्य रहेको उनले बताइन् । वर्षमा तीनपटक त्यो पनि घरमै सामाजिक सुरक्षा भत्ता प्रदान गरिने उनले प्रतिबद्धता जनाइन् ।

यसैगरी महिलामाथि हुने घरेलु हिंसा अन्त्य गर्ने, निकुञ्ज आसपासमा हुनेमा क्षतिलाई प्रभावकारी बनाउने तथा कोहलपुर नगरपालिकाभित्र रहेका फुटपात ठेलागाडामा गरिने व्यापारलाई व्यवस्थित गरिनेछ र व्यवसायमा महिलालाई प्राथमिकता दिइनेछ ।

यस्तै महिला स्वयम्सेविकाहरुको मासिक भत्ता बृद्धि गरिने पनि उनको प्रतिबद्धता छ । चुनावी अभियानका लागि पार्टीले अघि सारेको घोषणापत्रमा उल्लेख गरिएका सम्पूर्ण कुरा कार्यान्वयनमा लैजाने उनको प्रतिबद्धता छ ।

लामो समयदेखि सामाजिक कार्य, व्यावसायिक यात्राका साथै कलाकारिता र राजनीतिमा समेत सक्रिय सुवेदीलाई नेपाली कांग्रेसले कोहलपुर नगरपालिकाको उपप्रमुखको उम्मेदवार बनाएको छ । गत निर्वाचनमा कोहलपुरमा नेपाली कांग्रेसकै सञ्जुकुमारी चौधरीले जितेकी थिइन् । सुवेदी जनप्रतिनिधिका रुपमा पनि सफल भएर जनताको मन जित्ने आँकलन गरिएको छ ।

को हो हुन् संगीता सुवेदी

नेपाली कांग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको उपप्रमुख पदकी उम्मेदवार सुवेदीको २०४१ सालमा कास्की जिल्लाको साविक धिताल गाविस नुवागाउँस्थित पोखरामा भएको थियो । उनका बुबाको नाम लोकनाथ पौडेल तथा आमाको नाम द्रोपति पौडेल हो । सुवेदीका बुबा २०४४ सालमा बर्दिया जिल्लाको बाँसगढीमा बसाइँ सरेर कास्कीबाट आएका थिए ।

बर्दियामा २०४५ सालमा उनीहरु कोहलपुर आए । त्यसपछि उनीहरु यही स्थायीरुपमा बस्दै आएका छन् । सुवेदी हाल नगरपालिका वडा नम्बर ११ की स्थायी बासिन्दा हुन् । उनको बाल्यकाल कोहलपुरमै बित्यो । शिक्षासमेत उनले कोहलपुरमै आर्जन गरिन् । सुवेदीले माध्यमिक तहसम्मको शिक्षा ग्रीनपिस मावि कोहलपुरबाट गरिन् भने प्रमाणपत्र तहको शिक्षा बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरबाट आर्जन गरेकी हुन् ।

सामाजिक सेवामा समेत सक्रिय सुवेदी हाल कोहलपुर उद्योग वाणिज्य संघकी वाणिज्य उपाध्यक्ष छिन् । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधि रहेकी सुवेदी अहिले कोहलपुरको उपप्रमुख पदको लागि चुनावी मैदानमा छिन् ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख २६ गते सोमबार