बाँके ।
स्थानीय तहको चुनावमा यहाँका जनप्रतिनिधिहरुले पुनः उम्मेदवारी भएपछि दैनिक कार्यसम्पादनका काममा प्रत्यक्ष असर परेको छ । आफ्नो कार्यकाल अगाबै उनीहरुले निर्वाचन आचार संहिताअनुसार राजीनामा दिएका थिए । उनीहरुको राजीनामा पछि जनप्रतिविधिविहीन भएका केही वडाहरुमा दैनिक कार्य सम्पादनमा असर परेको देखिन्छ ।
वडाबाट हुने सिफारिसमा प्रत्येक्ष असर देखिएको छ । जनप्रतिनिधिको हस्ताक्षर हुने नागरिकता, विभिन्नखाले सिफारिस, विवाह दर्ता, जन्मदर्तालगायतका सिफारिसमा समस्या भएका सम्बन्धित वडा कार्यालयहरुले जनाएका छन् ।
नरैनापुर गाउँपालिकामा त गाउँपालिकादेखि वडासम्म जनप्रतिनिधिविहीन भएको छ । वडा नम्बर ३ का एकजना सदस्यबाहेक गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्यहरुले राजीनामा दिइसकेका छन् । राजीनामा पछि सबैभन्दा मुख्य कुरा सिफारिसमा समस्या भएको छ ।
एक-दुई दिनमा बैठक बसेर कर्मचारीलाई जिम्मेवारी दिने निर्णय गरिने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भरत बस्नेतले जनाए । नरैनापुरमा ६ वटा वडा छन् । मनोनयन दर्ता गर्नुभन्दा पहिलानै आफ्नो जिम्मेवारीबाट राजीनामा दिएर यहाँका जनप्रतिनिधिहरु चुनाव प्रचारप्रसारमा लागेका छन् ।
जानकी गाउँपालिकाका ६ वटा वडा जनप्रतिनिधिविहीन छन् । यहाँका वडाध्यक्ष सबैले राजनीतिमा दिएर पुनः निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । केही सदस्यलाई कार्यबहाक दिन खोज्दासमेत उनीहरु राजीनामा दिएर निर्वाचन प्रचारप्रसारमा लागेका जानकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसबहादुर रानाले जनाए ।
‘गाउँपालिका र वडा अहिले जनप्रतिनिधिविहीन भएको छ,’ उनले भने, ‘जनप्रतिनिधि नहुँदा दैनिक कार्यसम्पादनमा समस्या भएको छ ।’ गाउँपालिका अध्यक्ष र वडाध्यक्षको अनिवार्य हस्ताक्षर हुने कामका असहजता देखिएको छ । जानकी गाउँपालिकाले जनप्रतिनिधि रिक्त रहेको अवस्था साधारण सिफारिसहरु अवस्था हेरेर वडा सचिवले नै सिफारिस दिने भनि पत्राचार गरेको छ । जसले गर्दा जतनालाई सामान्य सिफारिसका लागि सहज हुने छ ।
खजुरा गाउँपालिकाका आठवटा वडामध्ये ६ वटा वडाका वडाध्यक्षले राजीनामा दिएका छन् । २ र ३ नम्बर वडाका वडाध्यक्षहरुले स्थानीय तहको चुनावमा उम्मेदवारी नदिएकाले उनीहरु कामकाजमै छन् । खजुरा गाउँपालिकाको कार्यपालिका बैठकले जनप्रतिनिधि रिक्त भएको वडामा वडा सचिवलाई कार्य सम्पादन गर्न अख्तियारी दिएको छ ।
अहिलेसम्म ६ नम्बर वडाका वडासचिवलाई अख्तियारी प्राप्त भएको छ । अन्य वडाले अख्तियारी नमागेकाले अख्तियारी नदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जनाए । ‘स्थानीय सरकार सञ्चालन ऐनमा स्पष्ट कानुनी प्रावधान गरेको छ,’ उनले भने, ‘हामीले सोहीअनुसार गरेका छौं ।’
बैजनाथ गाउँपालिकाका आठवटा वडामध्ये चारजना वडाध्यक्ष र १४ जना वडा सदस्यले राजीनामा दिएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दानबहादुर एडीका अनुसार १, ५, ७ र ८ नम्बरका वडाध्यक्षले राजीनामा बुझाएका छन् ।
८ नम्बरका भने वडाध्यक्षदेखि सबै सदस्यहरुले राजीनामा दिएका उनले बताए । ८ नम्बरमा कार्यपालिकाको निर्णयानुसार वडा सचिवलाई जिम्मा दिइएको छ भने अरु तीनवटा वडामा ज्येष्ठ सदस्यलाई कार्यबहाक दिइएको प्रमुख प्रशासकीय अधिकृत एडीले जनाए ।
कोहलपुर नगरपालिकामा नगर उपप्रमुख सञ्जुकुमारी चौधरीसहित ३२ जनाले जनप्रतिनिधिले राजीनामा दिएका छन् । जसमा सातजना वडाध्यक्ष छन् । २, ३, ४, ६, ७, ९ र १४ का वडाध्यक्ष, तीनजना कार्यपालिका सदस्य र अरु सदस्यहरुले राजीनामा दिएका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले जनाए ।
उनका अनुसार वडासदस्य भएको वडामा सदस्य र सदस्यसमेत नभएका वडामा वडा सचिवलाई जिम्मेवारी दिइएको छ । यता राप्तीसोनारीमा चार वटा वडाका जनप्रतिनिधिले राजीनामा दिएको बुझिएको छ । यस विषयमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगीले सूचना दिन मानेनन् ।
स्रोतका अनुसार राप्तीसोनारीका ४, ५, ६ र ७ नम्बर वडाका जनप्रतिनिधिले राजीनामा दिएका छन् । जसमध्ये ७ नम्बर वडाका सबै जनप्रतिनिधिले राजीनामा दिएका स्रोतले जनायो । यता डुडुवा गाउँपालिकामा गाउँपालिकाकी उपाध्यक्षसहित चारजना वडाध्यक्षले राजीनामा दिएका छन् । डुडुवा गाउँपालिकामा ६ वटा वडा छन् ।









प्रतिक्रिया दिनुहोस्