3 February 2023  |   शुक्रबार, माघ २०, २०७९

नेपालगन्ज विमानस्थल सुरक्षाको लागि खटियो नेपाली सेना

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९  

बाँके ।

नेपाल प्रहरी निर्वाचन सुरक्षामा खटिएपछि नेपालगन्ज विमानस्थलको सुरक्षा जिम्मेवारी नेपाली सेनाले लिएको छ ।

सरकारले विमानस्थल सुरक्षामा खटिएका प्रहरीलाई निर्वाचन सुरक्षामा खटाएर विमानस्थल सुरक्षामा सेना खटाउने निर्णय गरेको थियो । सोहीअनुसार शुक्रबारबाट नेपालगन्ज विमानस्थल सुरक्षाको जिम्मेवारी नेपाली सेनाले लिएको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता मधुसुदन न्यौपानेले नेपालगन्ज विमानस्थलमा सेना पुगेको जानकारी दिए । ‘सरकारको निर्णयअनुसार नै नेपालगन्ज विमानस्थलमा नेपाली सेना पुगेको छ,’ उनले भने, ‘त्यहाँ कार्यरत जनशक्ति अब निर्वाचन सुरक्षामा परिचालन हुन्छन् ।’

नेपालगन्ज विमानस्थलमा खटिएका प्रहरीका प्राविधिक जनशक्तिबाहेक अन्य सबै निर्वाचन सुरक्षामा खटिने डिएसपी न्यौपानेले बताए । ‘नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिए पनि प्राविधिक जनशक्ति हाम्रो नै परिचालन हुन्छ,’ उनले भने, ‘त्योबाहेक अन्य प्रहरी जनशक्तिलाई निर्वाचन सुरक्षामा परिचालन हुन्छन् ।’

नेपाली सेनाले विमानस्थलसहित नेपालगन्ज कारागार, नेपाल आयल निगमको राँझास्थित डिपो र बाल सुधार गृहको सुरक्षा जिम्मेवारी लिनेछ । निर्वाचन सकिएपछि पुनः विमानस्थललगायतको सुरक्षा जिम्मेवारी नेपाल प्रहरीले लिने छ ।

प्रकाशित मितिः शनिबार, बैशाख २४, २०७९     4:40:46 PM  |