मिश्र यसपटक नेपालगन्जमा आफूहरुको जित सुनिश्चत भइसकेको बताउँछन् । एमालेका नेताहरु पनि एमाले आसन्न निर्वाचनमा जित आफूहरुकै हुने दाबी गरिरहेका छन् । मेयर जित्ने दाबीका पछाडि मिश्र चार आधार रहेका बताउँछन् ।
पहिलो, गठबन्धनमा एकता नहुनु, दोस्रो, आफ्नो व्यक्तित्व र विगतको प्रभाव, तेस्रो, विकासको भिजन एवम् अनुभव, र चौथो, एमालेको सांगठनिक सुदृढिकरण ।
नेपालगन्ज ।
उनी नेपालगन्जको राजनीतिका एक चिरपरिचित र सक्रिय पात्र हुन् । नेपालगन्जको राजनीतिमा तरंग ल्याइराख्ने व्यक्तिमा पर्छन् उनी । मधेस आन्दोलनमा एक अगुवाको रुपमा भूमिका निभाएका पशुपतिदयाल मिश्र अहिले नेकपा एमालेमा छन् । नेकपा एमालेको केन्द्रीय सदस्य रहेका मिश्रको परिचय राजनीतिक आन्दोलनकारी नेता, एक सफल व्यवसायी र विकास प्रेमी नेताको रुपमा छ ।
पश्चिम नेपालका अग्रणी व्यावसायिक संस्थाको अगुवाइ गरेका मिश्र अहिले नेपालगन्जमा मेरो प्लानेट नामक फन पार्क सञ्चालन गरिरहेका छन् । उनी कर्णाली विकास बैंकको अध्यक्ष रहेका मिश्र अन्य व्यावसायिक संस्थाको सञ्चालक हुन् ।
नेपालगन्ज र बाँकेका ठूला विकास योजनाहरुमा मिश्रको कही न कही भूमिका छ । राप्तीपारि विद्युत्तीकरणको समस्या उजागर गर्नेदेखि नेपालगन्जमा विश्वविद्यालयको आवश्यकताका विषयमा आवाज उठाउने व्यक्तिमा पर्छन् मिश्र ।
कतिपय आलोचकले उनलाई दल बदलिरहने नेताको रुपमा पनि चित्रित गर्छन् । तर मिश्र ती सबै घटनाक्रम परिस्थिति र समयको मागका कारण भएको बताउँछन् । ‘म कुनैबेला मधेस आन्दोलनको अगुवाइ गरिरहेको थिएँ,’ मिश्र भन्छन्, ‘मधेसका मुद्दाहरुलाई स्थापित गराउन पनि मैले ठूलो भूमिका खेलेको छुँ र म जहिले पनि विकासको पक्षमा छुँ ।
आज मधेसको र समृद्धिको पक्षमा नेकपा एमाले र अध्यक्ष केपी ओली उभिनुभएको छ । त्यसकारण म यहाँ छुँ ।’ २०४४ सालसम्म जिल्ला विकास समिति बाँकेमा जागिरे रहेका मिश्रले जागिर छाडेर राजनीति सुरु गरे । उनले त्यसबेला हिरमिनिया गाउँ पञ्चायतमा प्रधानपञ्चमा उम्मेदवारी दिए । तर पराजित भए ।
त्यसपछि नेपाली कांग्रेसमा संलग्न भएका उनी २०५२ सालमा नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि भए । २०५४ सालमा हिरमिनिया गाविसको अध्यक्ष निर्वाचित भए । २०५५ सालमा उनी कांग्रेस, एमाले, राप्रपालगायतका दलका उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवार बनेर चुनाव लडे तर सफल भएनन् । मिश्रको राजनीति तत्कालीन मधेस आन्दोलनले थप सुधार ग¥यो । उनले उक्त आन्दोलनमा सक्रिय सहभागिता जनाए । पछि उनी राजपामा संलग्न भई उक्त पार्टीको सहमहामन्त्री पनि भए ।
तर प्रतिनिधिसभाको निर्वाचनको बेला उनी एमालेको समर्थनमा सूर्य चिन्हबाट निर्वाचन लड्न तयार भए र उनलाई माओवादीले पनि साथ दियो । तर उनी तत्कालीन संघीय समाजवादी फोरमका नेता मोहम्मद इस्तियाक राईसँग पराजित भए । केही महिनाअघि केपी ओली स्वयम् नेपालगन्ज आएर मिश्रलाई एमालेमा प्रवेश गराए ।
यद्यपि नेपालगन्जको राजनीतिमा पशुपतिदयालको उपस्थिति आफैँमा अर्थपूर्ण थियो । झन उनले औपचारिकरुपले नेकपा एमाले प्रवेश गरेपछि नेपालगन्जमा तुलनात्मकरुपमा कमजोर नेकपा एमालेमा एक किसिमको उत्साह छायो । एमालेका नेताहरु ‘टावरिङ नेता’को पार्टीमा प्रवेश भएपछि एमालेप्रति उबार (जोगिएर रहेको अंश वा मात्रा, बचत) आएको बताउँछन् ।
एमालेमा उनको प्रवेशले प्रतिस्पर्धी दलहरुलाई पनि चुनौती खडा गरिदियो । अहिले नेकपा एमालेले उनलाई नेपालगन्जको प्रमुख (मेयर) पदको उम्मेदवार बनाएको छ । मिश्रको उम्मेदवारीले नेपागन्जको मेयर प्रतिस्पर्धामा अघिल्लोपटक चौथो स्थानमा रहेको एमालेलाई अहिले प्रमुख दाबेदारमा पु¥याएको विश्लेषण भइरहेको छ ।
त्यो पनि यस्तो बेला जब अघिल्लोपटक मेयर प्रतिस्पर्धामा दोस्रो स्थानमा रहेको नेपाली कांग्रेस, तेस्रोमा रहेको नेकपा माओवादी केन्द्र र चौथोमा रहेको तत्कालीन एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादी जहाँ तत्कालीन उम्मेदवार छन् । यी सबै पार्टी एकै गठबन्धन बनाएर कांग्रेसका मेयर उम्मेदवारलाई जिताउन मैदानमा छन् । जनता समाजवादी पनि गठबन्धनमै छ ।
यो सबै स्थिति हेर्दा एमाले र मिश्रलाई जितको आश नै नहुनुपर्ने हो । तर मिश्र यसपटक नेपालगन्जमा आफूहरुको जित सुनिश्चत भइसकेको बताउँछन् । एमालेका नेताहरु पनि एमाले आसन्न निर्वाचनमा जित आफूहरुकै हुने दाबी गरिरहेका छन् ।
मेयर जित्ने दाबीका पछाडि मिश्र चार आधार रहेका बताउँछन् । पहिलो, गठबन्धनमा एकता नहुनु, दोस्रो, आफ्नो व्यक्तित्व र विगतको प्रभाव, तेस्रो, विकासको भिजन एवम् अनुभव, र चौथो, एमालेको सांगठनिक सुदृढिकरण । मिश्रका नजरमा अहिले बनेको गठबन्धन देखावटी मात्रै हो । उनी भन्छन्, ‘यो गठबन्धनमा आन्तरिक एकता नै छैन । पार्टीका पक्का कार्यकर्ताबाहेक आम मतदाताले गठबन्धनका उम्मेदवारलाई भोट हाल्दैनन् । उनीहरुको भोट मलाई आउँछ । नेपालगन्जमा गठबन्धन सफल भएको इतिहास छैन ।’
गठबन्धनको असन्तुष्ट भोट तपाईंलाई आउने आधार के छ ? भन्ने प्रश्नमा मिश्रले भने, ‘नेपालगन्जका जनता व्यक्तित्व हेरेर पनि भोट हाल्छन् । कसले काम गर्न सक्छ ? कसको क्षमता कति छ ? भन्ने पनि त जनताले मूल्यांकन गर्लान् नि । नेपालगन्जका जनताले व्यक्ति हेरेर पनि भोट दिने गरेका छन् ।’ मिश्र अरु उम्मेदवारभन्दा आफूले विभिन्न राजनीतिक नेतृत्व हुँदै एडिबी परियोजना, रिङरोड योजनामा काम गरेको अनुभवका आधारमा जनताले मूल्यांकन गर्ने बताउँछन् ।
यसका साथै एमालेका नेताहरु मिश्रलाई केन्द्रीय नेताहरुसँग सिधा पहुँच भएको, प्रभावशाली व्यक्तित्व भएको र लगानीकर्तालाई आकर्षित गर्नसक्ने खुबी भएको नेताका रुपमा चित्रित गर्छन् । नेकपा एमालेका केन्द्रीय सदस्य मो. हारुन भन्छन्, ‘लगानीकर्ताले त्यसलाई पत्याउँछन्, जसले केही फरक काम गरेर स्थापित गरेर देखाएको होस् । उहाँले आफैले त्यत्रो व्यवसाय सञ्चालन गर्नूभएको छ । पश्चिम नेपालका अग्रणी व्यावसायिक संस्थाको नेतृत्व र सुरुवातकर्ता हो । यस कारण उहाँमा नेपालगन्जको मेयर हुन चाहिने सबै खुबीहरु छन् ।’
यसैगरी विकासका योजनामा अरु उम्मेदवारभन्दा आफ्ना योजनाहरु फरक र दीर्घकालीन रहेका मिश्रले बताए । यसका साथै एमालेको संगठन आफ्नो प्रवेशपछि नेपालगन्जको ग्रामीण, मधेसी र मुस्लिमबाहुल क्षेत्रमा पनि बलियो भएको उनको दाबी छ ।
विकासमा मिश्रको फरक मोडल
मिश्रले सार्वजनिक गरेको १० पन्ने चुनावी प्रतिबद्धतापत्रमा शिक्षालाई गुणस्तरीय र प्रतिस्पर्धी बनाउनेदेखि लिएर राप्ती नदीबाट लिफ्ट गरेर शुद्ध खानेपानी घरघरमा पु¥याइने उल्लेख छ । यसअघि सुरु भएर अलपत्र परेको रिङरोड निर्माणदेखि आकासेपुल र साइकल लेनसम्मका प्रतिबद्धता जनाइएको छ । मिश्रले साइकल र पैदल लेन निर्माणको योजना पनि प्रतिबद्धतापत्रमा उल्लेख गरेका छन् ।
मिश्रले नेपालगन्जको गुरुयोजनासहित आवधिक योजना र दीर्घकालीन योजना बनाउने बताएका छन् । उनले शिक्षामा डिजिटल अध्ययन सामग्री र डिजिटल पाठ्यक्रम विकास गरिने, शिक्षकहरुलाई तालिमको व्यवस्था गरिने, कक्षा कोठाहरुको स्तरोन्नति गरिने, कक्षा कोठाहरुलाई शीत्तल बनाउने प्रविधि प्रयोग गरिने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी, सरसफाइतर्फ ठूला सडक सफा गर्न मेसिनको प्रबन्ध गरिने, ग्रीन सिटी परियोजनाअन्तर्गत सोलार प्यानलको छानासहितको पैदल तथा साइकल लेनको व्यवस्था गरिने, घरका छतहरुमा पनि सोलार प्यानल जडान गरेर नेपाललगन्जको विद्युत् समस्यालाई समाधान गर्ने बताएका छन् । यसैगरी जमिनमूनिको पानी रिचार्ज, जैविक मल उत्पादनका लाथि तालिमलगायतका योजना पनि अघि सारेका छन् ।
भर्टिकल पार्किङको व्यवस्था गरिने, ट्राफिक लाइट र आकासे पुल बनाइने र रिङरोड निर्माण गर्ने पनि मिश्रले प्रतिबद्धता जनाएका छन् । मिश्रले मिश्रले अघि सारेका केही योजनाहरु नेपालगन्जको प्रमुख पदमा उम्मेदवारी दिएकाहरुका भन्दा फरक छन् र महŒवाकांक्षी पनि । मिश्र नेपालगन्जलाई ग्रीन सिटीकोरुपमा पनि अघि बढाउन चाहेको बताउँछन् ।
नेपालगन्जमा स्थानीय सरकारको पहिलो कार्यकालमा बनेका कुनै पनि योजना मौलिक नरहेको उनको भनाइ छ । अधिकांश कामहरु एडिबीको योजनाअनुसार भएका र अरु कामहरु नियमित कामअन्तर्गत सम्पन्न भएका उनको बुझाइ छ । तर आफूले नेपालगन्जको आवश्यकताअनुसार मौलिक योजनाहरु ल्याएको उनको दाबी छ ।
‘मेरा सबै प्रतिबद्धताको आधार मसँग छ’
पशुपतिदयाल मिश्र आफूले अघि सारेका सबै प्रतिबद्धताको आधार आफूसँग रहेको बताउँछन् । मिश्रले अघि सारेको विद्यालयलाई शीत्तल बनाउने प्रविधि, सोलार प्यानलको छानासहितको साइकल लेन, रिङरोड र ग्रीन सिटी निर्माणको योजनाबारे आशंका व्यक्त गर्दा उनले ती योजनाहरुका आधार यसरी प्रस्तुत गरे ।
‘विद्यालयलाई शीत्तल बनाउने प्रविधि ‘प्यासिभ कुलिङ टेक्निक’ हो । जुन अहिले विदेशका विभिन्न स्थानहरुमा प्रयोगमा आइसकेको छ । त्यसलाई हामीले यहाँका विद्यालयमा पनि प्रयोग गरेर सम्भव भएसम्म शीत्तल बनाउन सक्छौं । सोलार प्यानलको छानासतिको साइकल लेन अहिलेको सडकपेटीलाई नै व्यवस्थित गरेर बनाउने हो ।
यसका लागि हामीले लगानीकर्तालाई आह्वान गर्छाैं । लगानीकर्ताले सोलारबाट उत्पादित बिजुली बेचेर पैसा कमाउन सक्छ । यसले हाम्रो विद्युत् अभावलाई पनि केही हदसम्म पूर्ति गर्न सक्छ । घरहरुमा सोलार जडान गर्ने काम पनि हामी पब्लिक प्राइभेट पार्टनरशीपमा अघि बढाउन सक्छौं । रिङरोडको योजनाका लागि हामीले ल्याण्ड पुलिङ अवधारणमा अघि बढ्नुपर्छ । यसका लागि जग्गा प्राप्त गर्न जनतालाई यसका फाइदा बुझाउनेदेखि समन्वय गर्न हामी सक्षम छौं ।’
पाँच वर्ष नेपालगन्जको नेतृत्व गर्ने अवसर पाएमा आफूले नेपालगन्जको समानुपातिक विकास, आर्थिकरुपले पछि परेका समुदायको विकास, सीमान्तकृत समुदाय सबैको विकास भएको हुने, ग्रामीण क्षेत्रका पनि सबै सडक कालोपत्रे हुने, भौतिक पूर्वाधारमा नेपालगन्ज देशका विकसित सहरको दाँजोमा पुग्ने र केही मौलिक योजनाहरुले नेपालगन्ज नमुना बन्ने दाबी गर्छन् । मिश्र भन्छन्, ‘साँच्चै नेपालगन्जको विकास भएको हेर्न चाहने हो भने यसपटक मलाई नेपालगन्जवासीले अवसर दिनुपर्छ ।’









प्रतिक्रिया दिनुहोस्