वीरेन्द्र जैसी । नेपालगन्ज ।
नेपालगन्जको आसन्न चुनावी परिदृश्यका सन्दर्भमा राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर भन्छन्, ‘अहिले त्रिपक्षीय देखिए पनि २५, २६ गतेपछि नेपालगन्जको चुनावी प्रतिस्पर्धाको परिदृश्य द्वीपक्षीय हुन्छ ।’ उनले ती दुई पक्ष कुन् हुन् भन्ने खुलाउन चाहेनन् ।
राजनीतिक विश्लेषक प्रा.डा. जनार्दन आचार्य पनि नेपालगन्जका मतदाताको ‘मुड’ चुनावको एकदुई दिनअघि मात्रै प्रष्ट हुने गरेको बताउँछन् । राजनीतिक विश्लेषक एवम् नेपालगन्जका पूर्व मेयर विजय गुप्ता भन्छन्, ‘नेपालगन्जको चुनावी पूर्वानुमान गर्न गाह्रो हुन्छ । एकदुई दिनअघि र रातारात पनि परिवर्तन हुनसक्छ ।’
वरिष्ठ साहित्यकार सनत रेग्मी पनि नेपालगन्जको चुनावी पूर्वानुमान गर्न समय लाग्ने बताउँछन् । तर आफ्ना संगठनलाई उम्मेदवारहरुले फकाउने हो भने चुनावी परिणाम गठबन्धनको पक्षमा जाने र अन्यथा फरक परिणाम आउन सक्ने उनको भनाइ छ ।
राजनीतिक विश्लेषकहरुका यी भनाइले नेपालगन्जको चुनावी परिदृश्यको अनुमान लगाउन त्यति सजिलो छैन भन्ने बुझ्न सकिन्छ । अर्काेतर्फ नेपालगन्जको चुनावका अन्य जटिल पाटातर्फ पनि उनीहरुको संकेतका रुपमा यसलाई बुझ्न सकिन्छ ।
माथि उल्लेखित राजनीतिक विश्लेषकहरु यस कुरामा चाहिँ सहमत छन् कि नेपालगन्जमा यसपटक त्रिपक्षीय प्रतिस्पर्धा हुन्छ । त्यो प्रतिस्पर्धामा सत्ता गठबन्धन, नेकपा एमाले र राप्रपाका उम्मेदवारहरु पहिलो पंक्तिमा आउन सक्छन् । यो आँकलनका पछाडि गएका निर्वाचनमा दलहरुले पाएको मत र उनीहरुको संगठनको मजबुती प्रमुख दुई आधार हुन् भने गठबन्धन अर्काे आधार हो ।
अर्काे प्रवृत्ति चाहिँ यसअघिका निर्वाचनले नै प्रष्ट्याएका छन् कि नेपालगन्जमा पार्टीको संगठनभन्दा व्यक्तिको छबी वा उसको प्रभावले बढी अर्थ राख्दछ । अर्थात् यहाँका मतदाता व्यक्ति हेरेर मत दिन्छन् । गएको निर्वाचनमा मेयरमा धवलशमशेर राणा र उपप्रमुखमा कांग्रेसकी उमा थापा मगरले चुनाव जिते । राणाले १२ हजार पाँच सय १५ मत पाए भने थापा मगरले १० हजार सात सय ३३ मत पाइन् ।
तर कांग्रेसका मेयरका उम्मेदवार सुरेशकुमार कनोडियाले थापामगरको भन्दा झन्डै दुई हजार कमअर्थात् आठ हजार सात सय ३० मत पाए । माओवादी केन्द्रका दामोदर आचार्यले सात हजार एक सय ९८ मत मात्र पाए । चौथो भएको एमालेका शमसुद्दीन सिद्धिकीले ६ हजार नौ सय ६५ मत पाएका थिए । २३ वडा रहेको नेपालगन्जमा आठ वडामा कांग्रेस, ६ वडामा एमाले, राप्रपा, जसपा र माओवादी केन्द्रले तीन-तीन वडा जितेको थियो ।
यसपटक मेयरका उम्मेदवारमध्ये व्यक्तिकै आधारमा कसलाई रोज्ने भन्नेमा पनि मतदातालाई सकस पर्ने देखिएको छ । पिटर भन्छन्, ‘यसपटक पार्टी र व्यक्तिमा फरक छुट्याउन गाह्रो छ । सबैलाई उस्तै फ्रेममा देख्छुँ ।’ पिटरले नेपालगन्जको चुनावी परिणाममा यहाँका सामाजिक र क्षेत्रगत संगठनको झुकाव, धार्मिक र जातीय झुकावले पनि प्रभाव पार्ने गरेको बताए ।
नेपालगन्जमा मुस्लिम समुदायको भोट करिब २५ देखि २७ प्रतिशत, मधेसी भोट ३५ देखि ४० प्रतिशत र पहाडी तथा अन्य भोट ३० देखि ३५ प्रतिशत छ । अहिले मुख्य प्रतिस्पर्धी मानिएका तीनजना मेयरका उम्मेदवार सामाजिक र क्षेत्रगत झुकावलाई एकातिर राख्ने हो एकै तप्काको प्रतिनिधि भएको पिटरको बुझाइ छ ।
पिटर फरक देखिनका लागि उम्मेदवारले एजेण्डा र घोषणामा सिर्जनशीलता देखाउने ठाउँ रहे पनि त्यसलाई पनि प्रयोग गर्न नसकेको बताउँछन् । भन्छन्, ‘उनीहरुका चुनावी एजेण्डाहरुमा नयाँ केही छैन । फरक पनि केही छैन ।’









प्रतिक्रिया दिनुहोस्