निरोगी एवम् सुखी नगरवासी हुनलाई स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरणलाई भुषालको घोषणापत्रमा प्राथमिकता दिइएको छ । दिगो विकासका लागि गुणस्तरीय एवम् प्रविधिमैत्री शिक्षा, उत्पादनमा वृद्धि र आत्मनिर्भरताका लागि कृषि तथा सिँचाइ, पर्यावरणका लागि वन संरक्षण, युवा तथा खेलकुदको विकास, युवामैत्री नगर, सामाजिक न्यायको सुनिश्चितता, आत्मनिर्भरता र समृद्धिका लागि सरकारी, रोजगारी र समावेशी विकास, उद्योग, व्यापार तथा पर्यटन, गुणस्तरीय वस्तुको सहज उपलब्धता, समृद्ध संस्कृतिको आधार, सुरक्षित नगरवासी, विपद् पूर्वतयारी तथा व्यवस्थापन, सुशासन, कर तथा राजस्व परिचालन र सूचना तथा सञ्चारका विषयलाई भुषालले घोषणापत्रमा उल्लेख गरेका छन् ।

कोहलपुर ।
राजनीति रहरले होइन, समाजप्रति जिम्मेवार हुँदै परिस्थितिले गरिन्छ । अनि नेताको वरिपरिमात्र घुमेर राजनीतिकर्मी भइँदैन, जनताको सेवा गरेर नेता भइन्छ भन्ने कुराको उदाहरण खिलप्रसाद भुषालले प्रस्तुत गरेका छन् । उनीसँगै पार्टी सदस्यता पाएका धेरै व्यक्ति केन्द्रीय तहमा राम्रो जिम्मेवारी पाएका छन् । खिलप्रसाद भने गाउँकै मुहार परिवतर्नमा अहोरात्र तल्लीन छन् ।
राजनीतिकरुपमा आउने पदीय अवसरभन्दा उनले जनतालाई प्रत्यक्षरुपमा सेवा गर्ने अवसरमा जीवन समर्पित गरेका छन् । २०२५ फागुन २९ गते पर्वतस्थित फलेबासको कर्नासमा जन्मिएका भुषाल २०४९ कात्तिक १३ गते बाँकेस्थित कोहलपुर आएका हुन् । सामान्य व्यापार व्यवसायमा जोडिएका उनी राजनीतिबाट अछुतो हुन सकेनन् । पारिवारिक पृष्ठभूमिनै राजनीति भएकाले उनी यसबाट अलग हुन पनि सकेनन् । उनका बुवा टीका बल्लभ उपप्रधान पञ्च हुँदै प्रधान पञ्चसमेत भएका थिए ।
घरमा सधैं राजनीतिक छलफल हुने । पढ्दै गरेका उनलाई राजनीतिमा ज्ञान थिएन तर चासो थियो । सोहीक्रममा १३ वर्षको उमेरमै उनी निर्दलीय पञ्चायतका पक्षमा सडकमै उत्रिए । थाहा थिएन उनलाई, आन्दोलनले के प्राप्ती गर्छ ? तर राजनीतिक चासो भएकाले उनी सडकमै झरे । अवरोध चेतनामा उनी बहुदलको परिभाषामा लागे । निरंकुशभन्दा बहुदलका पक्षमा लागे ।
त्यसबेलादेखि उनी राजनीतिक गतिविधिमा सामान्यरुपमा सहभागी हुन थाले । सोही क्रममा उनी भारतसम्म पुगे । भारतमा पनि प्रवासी नेपाली संघको नेतृत्वदायी भूमिका रहे । त्यहाँ हुँदा नेपालीका पक्षमा आवाज बुलन्द गरे । जनताको हक अधिकारका लागि जीवन संघर्षमा लगाएका भुषालले २०४६ कात्तिक १७ गते पार्टी सदस्यता प्राप्त गरे । यही दिन हो, भुषाल मूलधारको राजनीतिमा जोडिएको दिन । त्यसपछि उनले राजनीतिबाट पछाडि हट्नु परेन । कोहलपुरमा रहेको कोहलपुर उद्योग बाणिज्य संघमा समेत उनले कोषाध्यक्ष भएर काम गरे ।
त्यहाँ हुँदा उनी सफल कोषाध्यक्षको रुपमा चिनिन्छन् । उनको परिवार व्यवसायमा जोडिएको छ । उनलाई दिनदुखी गरिब व्यक्तिलाई सहयोग गर्नलाई खासै समस्या छैन । व्यवसायलाई उनले सहयोगीको माध्यम बनाए । दुखी गरिबलाई यही व्यवसायबाट कयौंपटक सहयोग गरेका छन्, तर प्रचारबाजी भने गरेनन् । उक्त सहयोगलाई कर्तव्यका रुपमा उनले सम्झेका छन् ।
राजनीतिमार्फत समाज सेवा गरेका यिनै भुषाल वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा कोहलपुर नगरपालिकाको मेयरमा उठेका छन् । उनले घोषणापत्रसमेत सार्वजनिक गरेका छन् । उनका धेरै ठूलो योजना छैनन् । तर सानै योजना भए पनि कोहलपुरको समृद्धि र जनताको जीवनस्तर बदल्ने विषय जोडिएको छ । अहिले कोहलपुरको ठेला व्यवस्थापन, नाला र फोहोर व्यवस्थापन प्रमुख समस्या हो ।
यो सँगै अव्यवस्थित बसोबास पनि कोहलपुरको अर्काे समस्या हो । भूमिगत पानी सुक्दै जानु र यहाँको जनसंख्या बढ्दै जानुले पनि कोहलपुरलाई अर्काे चुनौती दिएको छ । भित्री सडकहरु साँघुरा तथा अव्यवस्थित छन् । यि यस्ता यावत समस्यालाई उनले आफ्नो घोषणापत्रमा उल्लेख गरेका छन् । उनी भन्छन्, ‘मलाई जनतासँग सपना बाँड्नु छैन । कोहलपुरको समृद्धि कसरी हुन्छ र जनताको जीवनस्तर कसरी बदलिन्छ त्यतिमात्रै गर्छुँ र भन्छुँ ।’
कोहलपुरका दुर्गम बस्तीहरुलाई सहरसँग जोड्ने र यी बस्तीलाई विकासोन्मुखतिर लिन कोहलपुरको नेतृत्व आफूले गर्ने उनको दाबी छ । अहिले जनताले स्थानीय सरकारसँग सहज ढंगले सेवा पाउन सकेको छैन । अनेक बहानामा ढिलासुस्ती र झन्झटिलो कामले गर्दा जनताले स्थानीय सरकारबाट सन्तोषजनक काम पाउन सकेका छैनन् ।
उनले यसलाई डिजिटलरुपमा अगाडि बढाउने भनेका छन् । यसले गर्दा जनताको काम छिटो हुने र अभिलेखिकरण पनि दुरुस्त हुने उनको बुझाइ छ । ‘मलाई पैसा कमाउनु थियो भने व्यवसाय थियो,’ उनी भन्छन्, ‘जीवनमा पैसा नै ठूलो कुरो होइन । जनताको सेवा गर्नु र आफ्नो गाउँ ठाउँ परिवर्तन गर्नु महŒवपूर्ण कुरा हो ।’
उनले कोभिड–१९ (कोरोना भाइरस) संक्रमणका बेला स्वास्थ्यकर्मी र गरिब तथा विपन्न नागरिकलाई गरेको सहयोग सम्झँदै भन्छन्, ‘सेवाकै लागि राजनीतिमा लागेको हुँ । राजनीतिलाई फोहोरी हुन दिन्न । राजनीतिलाई सेवासँग बचाईराख्न प्रयत्न गरिरहन्छुँ ।’ पछिल्लो समय राजनीतिमा विकृतिसमेत बढेको भन्दै उनले यस्तोबेलामा सच्चा राजनितिज्ञलाई जनताले मूल्यांकन गर्नुपर्ने उनी बताउँछन् । नेकपा एमालेका तर्फबाट कोहलपुरको मेयरमा उम्मेदवारी दिएका उनी कोहलपुरलाई व्यवस्थित औद्योगिक क्षेत्र र उपमहानगरपालिका उन्मुख सहर बनाउन अगाडि बढ्ने बताउँछन् ।
‘यतिबेला चुनावी प्रतिस्पर्धा छ । यो वा त्यो दलबाट चुनाव लड्नुपर्छ,’ उनले भने, ‘तर चुनाव जितिसकेपछि म यो वा त्यो दल भन्दैन । मेयर भए भने म साझा व्यक्ति हुन्छ । मैले मेरा मात्र घोषणापत्र होइन, मसँग प्रतिस्पर्धा गर्नहरुका राम्रा योजनालाई समेत कार्यान्वयन गर्छु । समृद्ध कोहलपुर र विकसित सहर बनाउन अन्य राजनीतिक दलदेखि नागरिकलाई सँगसँगै समेटेर लिन्छुँ ।’
‘जनताले अहिले जनता खोजी रहेका छन् । जनता र नेता सँगसँगै हुनुपर्छ । नागरिकलाई सामान्य सिफारिस लिन पनि झन्झटिलो छ । एकै दिनमा हुने काम दुई-तीन दिन लाग्ने परम्परा छ । म जनतासँगै जान्छु र काम गर्दिँदा उहाँहरु कति खुसी हुनुहुन्छ । उहाँको खुसी देख्दा मलाई आनन्द महसुस हुन्छ,’ उनी भन्छन्, ‘जनताको उज्जवल भविष्यका लागि । परिवर्तनका लागि । समाज रुपान्तरणका लागि लागेको छुँ । मलाई कुर्सी चाहिएर होइन ।’
राजनीति भनेको बलेको मैनबत्ती सहर भएको भन्दै उनले भने, ‘मैनबत्ती पग्लिएर सकियो भने अँध्यारो हुन्छ । त्यसै गरी म मेरो जीवन रहँदासम्म मैनबत्तीले उज्यालो छरे जसरी सेवा गर्छुँ ।’ मान्छे भएर जन्मेपछि मान्छेको सेवा गर्नु धर्म भएको उनको भनाइ छ । लक्षित समुदायलाई माथि ल्याउन, संविधानले दिएका अधिकार र आवश्यकतासँगै जनताको मागअनुसार काम गर्नु उनी बताउँछन् । ‘जस्तो अहिले छोरीको पैतृक सम्पत्तिका हक लाग्ने संविधानले व्यवस्था गरेको छ । तर कति छोरीले सम्पत्ति पाए त ?
व्यवहारमा आउँदा त छोरीको पैतृक सम्पत्तिमा हक त लागू भएको छैन ।’ उनी भन्छन्, ‘अर्काे दलितको श्रम र सीप चल्छ । उनीहरु श्रीम र सीपका खानी हुन । पुँजा गर्ने मन्दिर दलितले बनाउँछन् । उनीहरुले पुज्न पाउँदैनन् र मन्दिरभित्र पस्न पाउँदैनन् । सुरक्षित आवास दलित समुदायले बनाउँछ तर कामी दाई त्यही घरभित्र पस्न पाउँदैन । कस्तो बिडम्बना ।’
नगरलाई समृद्ध बनाउन भौतिक पूर्वाधार तथा यातायाको विकासलाई उनले जोड दिएका छन् । त्यसैगरी निरोगी एवम् सुखी नगरवासी हुनलाई स्वास्थ्य, खानेपानी, सरसफाइ तथा वातावरणलाई प्राथमिकता दिइएको छ । दिगो विकासका लागि गुणस्तरीय एवम् प्रविधिमैत्री शिक्षा, उत्पादनमा वृद्धि र आत्मनिर्भरताका लागि कृषि तथा सिँचाइ, पर्यावरणका लागि वन संरक्षण, युवा तथा खेलकुदको विकास, युवामैत्री नगर, सामाजिक न्यायको सुनिश्चितता, आत्मनिर्भरता र समृद्धिका लागि सरकारी, रोजगारी र समावेशी विकास, उद्योग, व्यापार तथा पर्यटन, गुणस्तरीय वस्तुको सहज उपलब्धता, समृद्ध संस्कृतिको आधार, सुरक्षित नगरवासी, विपद् पूर्वतयारी तथा व्यवस्थापन, सुशासन, कर तथा राजस्व परिचालन र सूचना तथा सञ्चारका विषयलाई भुषालले घोषणापत्रमा उल्लेख गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्