18 April 2024  |   बिहिबार, बैशाख ६, २०८१

कोहलपुरबासी भन्छन्, ‘जनमैत्री नेतृत्व आजको आवश्यकता’

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, बैशाख १९, २०७९  

जिल्लाका आठ पालिकामध्ये एकमात्र नगर हो, कोहलपुर । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार कोहलपुर बाँकेको एक उदाउँदो सहर हो । गर्मीयाम बढेसँगै कोहलपुरमा स्थानीय तह निर्वाचनको सरगर्मी ह्वात्तै बढेको छ । उम्मेदवारहरु चुनाव प्रचारप्रसारमा व्यस्त छन् । जनता भने आफ्नै कर्ममा व्यस्त छन् ।

यस्तै नेताहरुले चुनावी घोषणापत्र र प्रतिबद्धतापत्रमा समृद्ध कोहलपुरका नारा बनाएका छन् । आफूले जितेमा कोहलपुरको विकास गर्नेसम्मका योजना बनाएका छन्, उम्मेदवारहरुले । अब स्थानीय तहको निर्वाचनको मिति आउन धेरै समय बाँकी छैन । कोहलपुरमा अबको नेतृत्व को र कस्तो आउला भन्ने चर्चा र अनुमानको विषय छ । यसै सन्दर्भमा आज हामीले कोहलपुरका विभिन्न क्षेत्रका व्यक्तिका आशा, अपेक्षाका बारेमा सोधेका छौं ।

विनोद थापा
सामाजिक अभियान्ता
यतिबेला नेताहरु चुनावमा व्यस्त देखिन्छन् । तर पहिलाको नेतृत्वले जनताको पक्षमा खास्सै राम्रो काम नगरेकोले जनतामा भने खास्सै उत्साह देखिँदैन । आगामी दिनमा आउने जनप्रतिनिधिले भौतिक विकाससँगै सामाजिक सचेतनामा जोड दिनुपर्छ ।

नगर क्षेत्रमा भएका अपांगता भएका व्यक्तिलाई प्राथमिकतामा राखेर भौतिक संरचना निर्माण गरिनुपर्छ । युवा तथा बालबालिका स्थानीय सरकारको प्राथमिकतामा पर्नुपर्छ । साँझा समस्याको रुपमा रहेको लागू औषध दुव्र्यसन रोक्न स्थानीय सरकारको भूमिका अहम देखिन्छ । घोषणापत्रमा यो कुरा देखिएको छैन । यस्तै चोरीका घटना बढिरहेका छन् ।

सुरुक्षा व्यवस्था चुस्तदुरुस्त बनाउनुपर्छ । यसैगरी मानव बेचबिखन जस्तो गम्भीर समस्यालाई समाधानका लागि समाधान गर्नुपर्ने देखिन्छ । युवा, महिला तथा बालबालिकालाई नेतृत्व विकाससम्बन्धी तालिम दिनुपर्छ । स्वरोजगारमूलक कार्यक्रम ल्याउनुपर्छ । बालश्रम तथा खेलकुदको विकास गर्न आवश्यक छ । बालिकाको सुरक्षा गरिनुपर्छ ।

स्थानीयका समस्या बुझ्ने सामाजिक व्यक्ति कोहलपुरले चाहेको छ । अब आउने नेतृत्व दलको होइन जनताको प्रतिनिधि भएर आउनुपर्छ । प्रतिनिधि भनेको साझा व्यक्ति हो । नेतृत्वले कसैले भेदभाव गर्नु हुँदैन । जनताको विकास नै नेतृत्वको प्रमुख कार्यभार हुनुपर्छ घोषणापत्र मात्रै राम्रो भएर हुँदैन त्यसमा उल्लेख भएका सबै कुरा कार्यान्वयनमा जोड दिनुपर्छ । जनता र जनप्रतिनिधिको सम्बन्ध सुमधुर हुनुपर्छ । स्थानीय विकासमा सबैको हातेमालो हुनुपर्ने मेरो माग छ ।

रमेश वर
अध्यक्ष, कोहलपुर युवा सञ्जाल

अबको कोहलपुरको नेतृत्वमा सक्षम व्यक्ति आउनुपर्छ । जसले कोहलपुरको विकासमा प्रत्यक्ष प्रभाव पार्न सकोस् । पार्टीगत होइन समग्र कोहलपुरको विकासमा खटिने व्यक्ति चाहिएको छ । स्थानीय तहको विकासका लागि पक्ष र विपक्ष आवश्यक छैन । विकास र समृद्धिमा सबैसँग हातेमालो गर्न सक्ने व्यक्ति आउनुभयो भने कोहलपुरको विकासमा फड्को मार्न सकिन्छ ।

काम गर्ने क्रममा सम्पूर्ण वर्गलाई समेट्नुपर्छ । समाजमा रहेका सीमान्तकृत वर्गलाई माथि उठाउनेखालका कार्यक्रम ल्याउनुर्छ । उनीहरुको संस्कृति संरक्षण रोजगारलाई प्राथमिकता दिइनुपर्छ । उनीहरुलाई समाजको मूलप्रवाहमा ल्याउने गरी काम हुनुपर्छ । युवा र बालबालिकाहरुको शसक्तिकरण नै भोलिको विकास र नेतृत्वको आधार हो ।

विभिन्न गलत क्रियाकलापमा लागिरहेका युवालाई स्वरोजगारमूलक कार्यक्रममार्फत उनीहरुको जीविकोपार्जनको स्रोतको पहिचान हुन जरुरी छ । अर्कोतर्फ दलहरुले घोषणापत्र सार्वजनिक गरेका छन् । ती घोषणापत्र घोषणामै सीमित नहुन् । अक्षरस पालना गर्नुपर्छ । समाजमा रहेको अनुशासनहिनता, भ्रष्टाचार रोक्ने योजना आवश्यक देखिन्छ ।

त्यसैगरी फोहोरमैला व्यवस्थापनमा समेत उनीहरुको ध्यान जानुपर्ने देखिन्छ । जनतामैत्री कार्यक्रम तर्जुमा गरिनुपर्छ । सबैभन्दा ठूलो कुरा अहिले जुन युवाशक्ति उम्मेदवार जिताउन मरिमेटेर लागेको छ । त्यो जनशक्ति उम्मेदवारले चुनाव जितेपछि पासपोर्ट बोकेर विदेश जान नपरोस् । अहिलेको आवश्यकता युवा नेतृत्व नै हो । यसमा सबैको साथ र सहयोग जरुरी हुन्छ ।

उर्मिला पाण्डे
महिला अधिकारकर्मी

राजनीतिमा पनि महिला उपेक्षित छन् । निर्णायक तहमा महिलालाई सधै उपेक्षित गरिएको अवस्था छ । स्थानीय तहका हकमा पनि त्यही कुरा लागू छ । मैले त बारम्बार महिलालाई मात्रै उपप्रमुख किन भनेर आवाज उठाइरहेको छुँ । महिलालाई प्रमुख पद दिनुपर्छ भन्ने मेरो बुझाइ छ । महिलाले पनि देश चलाउन सक्छन् भन्ने उदाहरण धेरै छ । कोहलपुरमा पहिला पनि महिलालाई उपप्रमुखमै सीमित गरियो ।

यसपटक पनि प्रमुख पदमा उम्मेदवार नै बनाइन् । यसमा दुःख लाग्छ । तर अहिलेको आवश्यकता भनेको युवा र महिला नेतृत्व कै हो । म सक्छु भन्ने महिलालाई अवसर दिनुपर्छ । कोहलपुरमा महिला हिंसाका घटना व्याप्त छन् । कोहलपुर भनेको उदाउँदो सहर हो । यहाँ विकास तीव्र गतिमा भइरहेको छ । महिला भने असुरक्षित बन्दै गएका छन् । महिलामैत्री कानुन आवश्यक देखिन्छ ।

यतिमात्रै होइन, पुरुषबाट हुने हिंसा कम हुनुपर्छ । महिलाले कहिले पनि बोक्सीको आरोप खेप्नु परेको छ । शिक्षाको कमी भएका कारण महिला हिंसामा परेको मैले देखेको छुँ । त्यसैले सर्वप्रथम महिलालाई शिक्षित बनाउनुपर्छ । कोहलपुरमा महिला विद्यालय खोलिनुपर्छ । जहाँ उनीहरुले शिक्षा आर्जन गर्न सकुन् । हिंसा रोक्नका लागि सचेतना नै प्रमुख आधार हो । जनप्रतिनिधिले महिला हिंसा र घरेलु हिंसाविरुद्ध सामूहिक प्रतिबद्धता गर्न जरुरी छ ।

लक्ष्मण मानव
युवा

तीन प्रदेशको संगमस्थल कोहलपुरलाई समृद्ध बनाउने भिजन भएको नेतृत्वको आवश्यकता छ । यहाँका प्रमुख समस्या भनेको सुकुम्बासी व्यवस्थापन, गुणस्तरीय विकास र सामाजिक कूरीति तथा अन्धविश्वास हुन् । यसै कुरा पूरा गर्न र सफल नेतृत्व प्रदान गर्न जोसिलो युवाको नेतृत्व खाँचो छ । जनताको सेवामा कटिबद्ध व्यक्तिलाई जनताले छान्नुपर्छ ।

जनताको शासक होइन जनताको सेवक कोहलपुरले चाहेको छ । युवाहरुलाई सहीरुपमा परिचालन गर्न सक्ने र व्यक्तिगत महŒवाकांक्षा नभएको मेयर कोहलपुरले खोजिरहेको जस्तो मलाई लाग्छ । स्थानीय तह भनेको जनताको सरकार हो । जनताले कुन व्यक्ति कोहलपुरको आवश्यकता हो । पहिचान गर्ने बेला भएको छ । एकपटक गरेको भोटले पाँच वर्ष पछुताउनुभन्दा अहिले नै राम्रो उम्मेदवारलाई भोट हालेमा विकासले तिव्रता पाउँछ । कोहलपुरले सही अभिभावक पाउँछ ।

यतिमात्रै होइन पहिला जनप्रतिनिधिले गरेका राम्रा कामको अनुसरण र नराम्रा कामलाई सच्याएर जान जरुरी देखिन्छ । मलाई त लाग्छ, लामो समय विभिन्न संगठनमा नेतृत्वदायी भूमिका खेलेका व्यक्तिलाई कोहलपुरले अवसर दिनुपर्छ । मेरो सम्पूर्णमा आग्रह छ, हाम्रोलाई होइन राम्रोलाई भोट हालौँ । कोहलपुरको समृद्धिको हकदार जनता बन्नुपर्छ । सोहीअनुसार यस स्थानीय तहमा मतदाताले राम्रो मान्छे अवसर छ । म व्यक्तिगतरुपमा भन्दा राम्रोलाई भोट गर्छुं । सबैलाई समेट्न सक्ने नेतालाई अनुमोदन गरिनुपर्छ ।

दिनेश थापा
युवा व्यवसायी

मलाई त युवा नै नेतृत्वमा आउनुपर्छ जस्तो लाग्छ । देशको विकासमा अब वृद्धवृद्धाहरु अभिभावकीय भूमिकामा बस्नुपर्छ । हाम्रो कोहलपुर र राम्रो कोहलपुरको लागि अहिलेको आवश्यकता पनि यही नै हो । अहिलेका उम्मेदवार हेर्दा सबै राम्रा देखिन्छन् । तर उनीहरुको कोहलपुर हाक्न सक्ने क्षमता के हो उनीहरु प्रष्ट छन् । जनताले हिजो पनि भोट हालिरहेका थिए । आज पनि हाल्छन् । भोलि पनि हाल्छन् ।

त्यसैले कोहलपुरलाई व्यावसायिक सहर बनाउनुपर्ने मेरो माग छ । त्यो भनेको स्थानीय सरकारले युवालाई व्यवसायसँग जोड्नुपर्छ । जबसम्म युवालाई उत्पादनसँग जोडिँदैन त्यस क्षेत्रको विकास हुँदैन । त्यसैले व्यवसाय पर्वद्धन गर्नुपर्छ र यस्तै पर्यटकीय क्षेत्रको विकासमा जोड दिनुपर्छ । पर्यटकीय नगरपालिकाका थुप्रै आधार छन् । त्यसलाई सही सदुपयोग गर्न सक्ने व्यक्ति हुनुप¥यो ।

यस्तै दलित, महिला, बालबालिकाको विकास र वृद्धि हुन्छ । विकास निर्माणमा समेत जनता अपेक्षानुसार अघि बढ्नुपर्छ । गुणस्तरीय र दिगो विकासको लागि जनता र सरकारको सहयोग आदानप्रदान गरेमा राम्रो हुने देखिन्छ ।

यतिमात्रै होइन, अब त सम्पूर्ण कोहलपुरवासी एकताबद्ध भएर जानुपर्छ । स्थानीय तह निर्वाचन नजिकिँदैछ । यो हाम्रो लागि राम्रो मान्छे छान्ने अवसर हो । यसलाई सही सदुपयोग गरौँ, राम्रो मान्छे चुनाँै ।

ज्योति परियार
महिला

आमनागरिकको समस्या बुझ्ने मान्छे आउनुपर्छ । गरिबी न्यूनीकरणमा स्पष्ट भिजन भएको व्यक्ति स्थानीय सरकारको नेतृत्वमा आउनु पर्ने मेरो बुझाइ छ । यस्तै कोहलपुरको विकासका आधार भनेको औद्योगकीकरण हो ।

कल कारखाना, उद्योग सञ्चालन गरेर रोजगारीको अवस्था सिर्जना हुनेखालको वातावरण सिर्जना गर्न सक्ने सक्षम व्यक्ति हुनुपर्छ । यस्तै विकासको नाममा कार्यकर्ता पोस्याउने र बाटो घाटो निर्माणमा कमिसनको खेल रोकिनुपर्छ ।

सुविधायुक्त र स्वतन्त्र पानीका धाराको व्यवस्था गरिदिनुपर्यो । शिक्षा आँखाको ज्योति हो । शिक्षाबिना मानिस अन्धो हुन्छ । त्यसैले स्थानीय तहका तर्फबाट सम्पूर्ण नागरिकलाई समान शिक्षाको पहुँच विस्तार भयो भने शिक्षाको उज्यालोबाट कोही पनि वञ्चित हुनुपर्दैन । अर्को कुरा भनेको जनतामुखी नेतृत्व हुनुपर्छ । मतदाताले पार्टीका उम्मेदवार होइन, सक्षम उम्मेदवारलाई अनुमोदन गर्नुपर्छ ।

योजना बाड्ने, ठूल्ठूला सपना मात्रै देखाउने होइन । योजना कार्यान्वयन गर्न सक्ने र सबैलाई मिलाएर लैजान सक्ने व्यक्तिको खाँचो हो, कोहलपुरको लागि । अहिले हामीले अवसर गुमायौँ भने फेरि पाँच वर्ष पछुताउनुपर्छ । हामीले पछि पछुताएर हुनेवाला केही छैन । त्यसैले समय मै सोचौँ । राम्रो उम्मेदवारलाई भोट दिऔँ । स्थानीय चुनावमा मतदाता सचेत हुनैपर्छ ।

भीमसेन गिरी
वृद्ध

म कोहलपुरको स्थानीयवासी हुन् । म वडा नम्बर ११ मा बसोबास गर्दै आएको छुँ । उमेरले ६० वर्ष काटिसकेँ । व्यवसाय गर्न थालेको २५ वर्षभन्दा बढी भइसक्यो । आफ्नो जीवनकालमा अहिलेसम्म धेरै निर्वाचनमा भाग लिएको छुँ । तर हाम्रो अवस्था कहिल्यै सुध्रिएन । फेरि पनि निर्वाचन आएको छ । उम्मेदवारहरु झण्डा हल्लाउँदै गइरहेको देखेको छुँ ।

निकै तामझामका साथ प्रचारप्रसार गरेको देखिन्छ । मेरो व्यक्तिगत आकांक्षा भनेको हामी जस्ता जनताको समस्या बुझ्ने खालको मान्छे आउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ । मलाई अब मतदाताले पार्टी होइन व्यक्ति हेर्नुपर्छ जस्तो लाग्छ । वडामा पालिकामा जनताको लागि काम गर्ने मान्छे आउनुपर्छ । राम्रोलाई पुरस्कार र नराम्रोलाई दण्ड सजाय दिने यो उपयुक्त समय हो ।

त्यसैले यसको लागि मतदान गर्दा ध्यान दिनुपर्छ । म ठेला चलाएर जीविकोपार्जन गर्दै आइरहेको छुँ । मेरो प्रमुख आम्दानीको स्रोत नै यही हो । तर, पाँच वर्षको अवधिमा हामीलाई नगरपालिकाले दिनुसम्म दुःख दियो । हाम्रा ढक, तराजु खोसिए, फलफूल बाटोमा खन्याइयो । नगर प्रहरीले लौरो लगाएर पिटे । पाँच वर्ष नगरपालिकासँग भागदौड धेरै भयो ।

अब पनि यस्तो नेतृत्व आयो भने हामी दुःख पाउँछौं । हामीलाई अरु केही चाहिँदैन । ठेला व्यवसायलाई जसले व्यवस्थित गर्ने प्रतिबद्धता व्यक्त गर्छ । उसैलाई हामीले भोट हाल्छौं । यस्तै हामी नगरपालिकाको नियममा आउन पनि तयार छौं । कर तिर्न तयार छौं ।

चन्द्रकला ओली
ठेला व्यवसायी

मैले कोहलपुरमा व्यवसाय गर्न थालेको धेरै समय भइसक्यो । पहिला म सडक छेउमा व्यवसाय गर्थेँ । स्थानीय सरकारले डोजर लगाएर भत्काइदियो । अहिले ठेला चलाउँदै आएकी छुँ । पाँच वर्ष बितिसक्यो । यो पाँच वर्षमा हामी ठेलावालाहरुले धेरै दुःख पायौँ । स्थानीय सरकारले व्यवसाय व्यवस्थित गर्न सकेन । उल्टै दिनभरि मजदुरी गरेर खाने हामीलाई दुःख दियो ।

अब आउने नेतृत्व हाम्रो दुःख बुझिदिने व्यक्ति आउनुपर्छ । हामी नगरपालिकाले भनेको सबै कुरा मान्न तयार छौँ । कर तिर्न पनि तयार छौँ । हामीलाई व्यवस्थितरुपमा व्यवसाय गर्न पाउने वातावरणको सिर्जना गरिदिनुपर्छ । नगर प्रहरीको ज्याजती रोक्नुपर्छ । नगरपालिकाले हामीलाई व्यवसाय गर्ने वातावरण बनाउँछ भने हामी भाडा पनि तिर्न तयार छौँ ।

अहिले कोहलपुरमा व्यवसाय गर्न देखिएका समस्या र हाम्रा माग सुनुवाइ गरिदिने मान्छे चाहिएको छ । बिहान पनि खेद्ने, साँझ पनि खेद्ने मान्छे आयो भने फेरि दुःख पाउने त होला । त्यसैले हाम्रो आशा भुइँ मान्छेका समस्या मान्छे आउनुपर्छ भन्ने हो । हामी महिला मान्छेलाई धेरै कुरामा समस्या छ । हाम्रो सुरक्षाको व्यवस्था मिलाई दिनुप¥यो ।

ठेला नचले लाउन खान पाइँदैन । त्यसैले व्यवसाय गर्ने वातावरण हुनुप¥यो । हामी स्थानीय सरकारलाई सहयोग गर्न तयार छौँ । स्थानीय सरकार हामीलाई सुविधा दिन तयार हुनुपर्छ । अहिलेको आवश्यकता भनेको यही हो । अहिले चुनावले गर्दा होकी हामीलाई धमाउन आएका छैनन् ।

तेजबहादुर ओली
अटो चालक

कोहलपुरमा अटो चलाउन थालेको पाँच वर्ष भयो । हिजो पनि यहाँको अवस्था यस्तै थियो । अहिले पनि उस्तै छ । नेताहरु खुबै विकास गरेको भन्छन् । तर मैले विकास भएको पाएको छैन । स्थानीय सरकारले पाँच वर्षसम्म ठेला र अटो व्यवसायसमेत व्यवस्थापन गर्न सकेन । अहिले पनि कोहलपुरमा अटो राख्ने राम्रो ठाउँ छैन । जथाभावी चलाइरहेको छ ।

बरु स्थानीय सरकारले हामीलाई पाँच वर्षमा दुःख मात्रै दियो । सुविधा केही पनि दिएन । अहिले स्थानीय तहको निर्वाचन आएको छ । अहिले जताजतै म यसो गर्छुं, उसो गर्छुं भनेको सुनिन्छ । मेरो घरमा पनि धेरै मान्छे आउँछन् । उनीहरुलाई मेरो एउटै माग छ, हामी जस्ता दुःख गरेर खाने मान्छेलाई दुःख गर्न पनि सहज वातावरण बनाइदिनु प¥यो । अटो राख्ने व्यवस्थित पार्किङस्थल बनाउनुप¥यो । ठूल्ठूला भवनभन्दा पनि अब कोहलपुरमा हामी जस्ता मान्छेहरुको आवश्यकता पूरा गर्नुपर्ने देखिन्छ ।

यसको लागि अब आउने नेतृत्वले काम गर्नुपर्छ । होइन भने जति जोगी आए पनि कानै चिरिएका भन्ने त होला । अहिले सबै हामी राम्रो काम गर्छौं भन्छन् । अब कस्तो काम गर्ने हुन् । त्यो हेर्न बाँकी नै छ । अब भोट त हाल्नुप¥यो । अब जितेर आए पनि के के काम गर्ने हुन् । गरिबको पक्षमा काम गर्ने मान्छे चाहिएको छ ।

ललिता नेपाली
स्थानीय महिला

मेरो घर नयाँ बस्तीमा हो । म त्यहाँ लामो समयदेखि बस्दै आएको छँु । मेरो घरमा कमाउने मान्छे कोही पनि छैन । त्यसैले म लामो समयदेखि चौराहमा पानी बेच्दै आएकी छुँ । दिनभरि भएको कमाइको पैसाले छाक टार्छुं । अनि मेरो आम्दानीको स्रोत यही हो । कहिले कमाइ हुन्छ, कहिले हुँदैन । मलाई बस्नेभन्दा पनि खाने कुराको समस्या छ ।

कमाउने मान्छे नभएका कारण धेरै समस्या भइरहेको छ । अरु कमाउने मान्छे छैन । बुढी मान्छे कोही पनि हेरिदिँदैनन् । दिनभर दुःख गर्छुं । साँझ घरमा उम्मेदवार आउँछन् । हामीलाई भोट हाल्नु भन्छन् । मलाई खाने कुराको ग्यारेन्टी चाहियो भन्छुँ । बाँचे पो भोट हाल्ने । भोकै भोट होलेर के गर्ने भोलि हामीलाई कसैले हेर्ने होइन ।

घामघाममा पानी बेच्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्छ । कहिले एक किलो नुन र चामल आउँछ त्यही खान्छुँ । स्थानीय सरकारले हामी जस्ता गरिब मान्छेलाई सुविधा दिनुपर्छ । अब आउने मान्छेले हामी हेरोस् । हामीलाई बस्ने बाँस र खाने गाँस भए पुग्छ । अरु केही पनि चाहिँदैन । म मात्रै होइन म जस्ता धेरै मान्छे छन् । उनीहरुको अवस्था परिवर्तन गर्न सक्ने मान्छे आएको भए हुने थियो ।

प्रकाशित मितिः सोमवार, बैशाख १९, २०७९     12:31:41 PM  |