21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

स्थानीय तह निर्वाचन २०७९: कोहलपुर– ३ मा दुईभाईको दोस्रो जम्काभेट

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १४, २०७९  

शुभाकर विश्वकर्मा । कोहलपुर ।

कोहलपुर–३ मा रोचक प्रतिस्पर्धा हुने भएको छ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा दुई सहोदर दाजुभाई वडाध्यक्षको दौडमा छन् । उनीहरु हुन्, ‘ताराकेशर रिजाल (दाजु) र माधव रिजाल –भाई) ।’

माधव २०७४ साल असार १४ मा सम्पन्न स्थानीय तह निर्वाचनमा निर्वाचित वडाध्यक्ष भएका थिए । त्यतिबेला नेकपा एमालेबाट कोहलपुर कै कान्छो वडाध्यक्षमा निर्वाचित उनी दोस्रोपटक पनि सोही पार्टीबाट उम्मेदवार बनेका छन् । नेकपा माओवादी केन्द्रका ताराकेशर त्यतिबेलाका उपविजेता हुन् ।

उनलाई माधवले १८७ मतान्तरले पराजित गरेका थिए । यसपटक पनि उनीहरुबीच दोस्रोपटक वडाध्यक्षका लागि प्रतिस्पर्धा हुँदैछ । एमालेबाट माधव दोहोरिएका छन् भने माओवादीले पनि ताराकेशरलाई नै दोहो¥याएको छ । दुवैजनाले मंगलबार फरक पार्टीबाट उम्मेदवारी दर्ता गराए ।

उम्मेदवारी दर्ता गरैसँगै दुई दाजुभाईको चुनावी भिडन्त पक्का भएको छ । दोस्रोपटकको जम्काभेटलाई दुवैजना पारिवारिकभन्दा पनि दलीय प्रतिस्पर्धा भएको बताउँछन् । दोस्रोपटक आफ्नै दाईसँग चुनावी प्रतिस्पर्धाको मैदानमा उत्रिएका माधव भन्छन्, ‘पहिला पनि प्रतिस्पर्धा भएको हो । अहिले पनि हुनेवाला छ । तर यो पार्टीगत लडाइँ हो । व्यक्तिगत होइन ।’

दाजुभाई दोस्रोपटक एउटै पदमा भिड्दै हुनुहुन्छ नी भन्ने प्रश्नमा माधवले यसपटक व्यक्तिगत र पार्टीगत रुपमा दाई र आबद्ध दलसँग मुख्य प्रतिस्पर्धा नरहेको बताए । माधवका अनुसार यसपटकको मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेससँग हो । कुराकानीको क्रममा उनले अन्तरंग कुराकानी पनि गरे । आफूले यसपटक दोहोरिन नचाहे पनि दल र जनताको आग्रह अस्वीकार गर्न नसकेर चुनावी मैदानमा आएको बताए ।

यता ताराकेशर वडा नम्बर ३ मा माओवादी र आफूलाई कमजोर बनाउन आफ्नै भाईलाई अघि सािरएको बताउँछन् । उनका अनुसार दलगतभन्दा पनि पारिवारिक रुपमा दुईजनाबीच अनौपचारिक छलफल भएको बताए ।

‘मेरो पहिलादेखि नै तयारी थियो । दुईजनाबीच छलफलसमेत हुन्थ्यो । उसले वडाध्यक्षभन्दा माथि जान सोचमा छु । तपाईं नै आउनुपर्छ भनेको थियो,’ उनले भने । उनीहरुबीच उक्त कुरा नेकपा हुँदा नै भएको थियो ।

पछि फागुन २३ मा पार्टी फुट्दा ताराकेशर माओवादी र माधव नेकपा एमालेतिर लागे । ताराकेशर राजनीतिक आस्था फरक भएकै कारण आफूहरुमा पारिवारिकरुपमा कुनै पनि नराम्रो नरहेको बताए । दलीय व्यवस्थामा यस्ता कुरा हुने र स्वभाविक प्रक्रियासमेत रहेको उनको भनाइ छ । उनले आफूले पदका लागि मात्रै वडाध्यक्षमा उम्मेदवारी नदिएको र समाज सेवाका लागि अग्रसर भएको बताए ।

ताराकेशर २०५४ सालेदखि नै राजनीतिमा सक्रिय भएका हुन् । त्यतिबेला उनले नेकपा एमालेबाट विद्यार्थी राजनीति गरे । पछि २०६४ बाट नेकपा माओवादी केन्द्रमा प्रवेश गरेर पूर्णकालीन राजनीति गर्दै आएका छन् । ‘लामो समय समाजमा रहेर काम गरे । एकपटक जनप्रतिनिधि भएर जनताको सेवा गर्ने मन छ । समृद्ध वडाको सपना पनि म सँग छ,’ उनी भन्छन् ।

ताराकेशर र माधवबीच १६ वर्षको अन्तर छ । उनीहरु परिवारका दुईजना मात्र दाजुभाई हुन् । उनीहरु २०५४ सालमा बर्दियाबाट कोहलपुरमा बसाइँ सरेका थिए । ताराकेशरका अनुसार माधव भने बर्दियाबाट २०५७ पछि मात्रै आएका हुन् ।

प्रकाशित मितिः बुधबार, बैशाख १४, २०७९     12:04:21 PM  |