17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

६ लाख डलर नगद र सुन घुस लिएको भन्दै आङ सान सुकीलाई सुनाइयो पाँच वर्ष जेल

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बुधबार, बैशाख १४, २०७९  

म्यानमारकी नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ आङ सान सुकीलाई भ्रष्टाचार मुद्दामा एउटा अदालतले पाँच वर्ष जेल सजाय सुनाएको छ।

द न्युयोर्क टाइम्सका अनुसार ७६ वर्षीया सुकीलाई ६ लाख डलर बराबरको नगद र २५ पाउन्ड जति सुन घुसका रूपमा लिएको भन्दै बुधबार पाँच वर्ष जेल सजाय हुने फैसला गरिएको हो।

यसअघि उनलाई गैरकानुनी रूपमा वाकीटकी राखेको भन्दै चार वर्ष जेल सजाय सुनाइएको थियो।

त्यसअघि सेनाविरूद्ध नागरिकलाई भड्काएको, कोभिड-१९ रोकथामका मापदण्ड उल्लंघन गरेको आरोपमा पनि अदालतले उनलाई दोषी ठहर गरेको थियो।

२०२१को फेब्रुअरी १ मा म्यानमारको सेनाले जननिर्वाचित सरकारलाई अपदस्त गरेर सुकीलाई नियन्त्रणमा लिएको थियो। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन् भने उनका मुद्दाको बन्द कोठाभित्र सुनुवाइ भइरहेको छ।

सुकीविरूद्ध सेनाले १७ वटा आपराधिक मुद्दा दायर गरेको छ। अदालतबाट ती सबैमा मुद्दामा दोषी ठहरिन भने सुकीले १६३ वर्षको कैद सजाय पाउन सक्छिन्।

सैनिक कूभन्दा केही महिनाअघि २०२०को नोभेम्बरमा भएको आमचुनावमा सुकीको नेसनल लिग फर डेमोक्रेसी (एनएलडी)ले बहुमत ल्याएको थियो। चुनावमा धाँधली भएको भन्दै सेनाले सत्ता हत्याएको थियो। आफूले निष्पक्ष चुनाव गराउने सेनाको भनाइ थियो।

सेनाले कू गरेपछि नागरिले सैनिक शासनको प्रतिरोध गरिरहेका छन्। प्रदर्शनका क्रममा भएका दमनमा अहिलेसम्म कम्तीमा १८ सय मानिस मारिएका छन्।

प्रकाशित मितिः बुधबार, बैशाख १४, २०७९     11:38:12 AM  |